कृषि क्षेत्रको विकासका लागि निजी क्षेत्रको साथ चाहिन्छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकको कृषि क्षेत्रमा कोही एक्लैले केही गर्न नसक्ने भन्दै समग्र निजी क्षेत्रको साथ अपरीहार्य रहेको बताएका छन्।
कर्पोरेट मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहलाई सम्बोधन गर्दै उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको साथ खोजेका हुन्।
‘सरकार वा निजी क्षेत्र एक्लैले कृषि क्षेत्रमा लगानी गरेर अपेक्षित प्रतिफल पाउन सकिँदैन। यसमा निजी क्षेत्रको सहयोग जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘निजी क्षेत्र, व्यक्तिगत लगनशीलता, सहकारी तथा बैंक/वित्तहरू र सबै खाले सामाजिक संस्थाको लगानी कृषिमा जरुरी छ।’
सबै तह र तप्का एकैठाउँ रहँदा मात्रै कृषिमा सफलता हासिल गर्न सकिने चर्चा गर्दै उनले त्यसैका लागि सरकारले लगानी दशक घोषणा गरेको स्पष्ट गरे। मन्त्री अधिकारीले भने, ‘सबै जना एक ठाउँमा बसौं, कसैको भर नपरौं। हाम्रो दायित्व हामी सबैको साझा हो भन्ने ढंगबाट सोच बनाएको खण्डमा सिंगो नेपाली आत्मनिर्भरतामा रम्न सक्छ। आयातको भरले मात्रै हामी टिक्न हुँदैन। निर्यात गर्न सक्ने क्षमता हामीसँग भन्ने कुरा विस्तारै देखिँदै आएको छ। यसतर्फ सबैको सक्रिय सहयोगका लागि आग्रह गछु र कर्पोरेट मिडिया पनि यस सन्दर्भमा नजिकको सहयोगी संस्था बन्न सकोस्। यसमा हामी सबैले सघाउ पुर्याउन सकौं।’
नेपाल र नेपालीको पहिलो पहिचान नै कृषिप्रधान देशको नागरिक भएको भन्दै उनले आफ्नो पहिचानलाई कायम राख्दै गरिमा बढाउनसमेत सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड् दिएका छन्।
यस्तै, उनले उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नेगरी सरकारले कानुन निर्माण गरेको बताएका छन्। ‘पछिल्लो चरण नेपाल सरकारको तर्फबाट जुन कानुन निर्माण भएका छन्। त्यसले आम उद्योगी व्यवसायी, निजी क्षेत्रका सम्पूर्ण संस्था र व्यक्ति कम्तिमा खुसी हुनुभएको छ। आगामी दिनमा विगतको जस्तो कठिन परिस्थिति सृजना नहोस् भनेर सरकारले त्यो व्यवस्था गरेको हो,’ उनले भने।
बजारलाई स्वच्छ र स्वस्थ बनाउनका लागि उद्योगी व्यवसायीले पछिल्लो चरणमा देखाएको उदारताको मुक्तकण्ठले प्रशंसा गर्दै मन्त्री अधिकारीले उद्योगी–व्यवसायीले व्यावसायिक धर्म निर्वाह गरेको कारणले बजार मात्र होइन देश र जनतालाई नै ठूलो सहयोग पुगिरहेको चर्चा गरे। सरकारले खुकुलो ऐन ल्याएर लगानीको विश्वास बढाएका कारण निजी क्षेत्रमा नयाँ रक्तसञ्चार भएको उनको भनाइ थियो।
कर्पोरेट मिडियाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उद्योगी–व्यवसायीलाई ऊर्जा प्रदान गर्न वर्षेनि आयोजना गर्दै आएको ‘कर्पोरेट बिजनेश अवार्ड’ले पनि उद्योग व्यवसायको क्षेत्रमा स्वच्छ र स्वस्थ वातावरण निर्माणका महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्री अधिकारीले व्यक्त गरे। अवार्डले उद्योगी–व्यवसायी मात्र नभइ समाज र देशलाई नै राम्रो दिशातर्फ डोर्याइरहेको भनाइ उनको थियो।
कर्पोरेट मिडिया ग्रुपले बिहीबार १७औं संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ। यो संस्करणमा ११ वटा विधामा २४ वटा अवार्ड र एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।







डिसी नेपाल







Facebook Comment