राप्रपाले सभाका लागि बल्खु रोज्यो, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

डिसी नेपाल
२५ चैत २०८१ १०:५२
492
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा सभा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई अनुमति दिएकोमा पार्टीले बल्खु खोजेको हो।

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो। तर, जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको जानकारी राप्रपालाई गराएको थियो।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकको आन्दोलन जारी रहेकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भृकुटीमण्डप सभाका लागि उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको हो।

प्रशासनको निर्णय अनुरुप सभा बल्खुमा हुने अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेतृत्वले सम्बोधन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि राष्ट्रिय झण्डासहित एकजुट हुन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले प्रशासनले आन्दोलनको अनुमति नदिए पनि राप्रपाको कार्यक्रम नरोकिने बताएका हुन्।

उनले लेखेका छन्, ‘यी भ्रष्टहरूको देशप्रेम र राष्ट्रियता हराएको। लुटतन्त्रका सरदार नाइकेहरू कति डराएको। जाबो एउटा कार्यक्रमको डरले थुरथुर कापेर अनुमति नै दिएका छैनन् तर पनि राप्रपाको कार्यक्रम रोकिँदैन। २६ गते राष्ट्रिय झण्डासहित एकजुट बन्ने हो युवा बेच्ने, देश बेच्ने, सानादेखि ठूलासम्म भ्रष्टाचारका काण्ड मच्चाउने भ्रष्टाचारीका देशद्रोहीका विरुद्ध बिगुल फुक्ने हो।’

यहीबीच राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। राप्रपाले मंगलबार गर्ने सभाको तयारीका विषयमा छलफल गर्न आज अपराह्न चार बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.