हिमपहिरोमा बेपत्ता दुईजना शेर्पा भेटिएनन्

डिसी नेपाल
२६ चैत २०८१ २२:३२
316
Shares

म्याग्दी। यहाँको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुई दिनदेखि दुईजना शेर्पा बेपत्ता छन्।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा गत सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता भएका हुन्।

सेभेन समिट ट्रेकबाट आरोहीको सहयोगी (शेर्पा) का रूपमा हिमालमा गएका उनीहरुको आज बिहानैदेखि हेलिकप्टरमार्फत खोजी गरे पनि फेला पार्न नसकिएको उद्धारमा खटिएका अन्नपूर्ण गाउँपालिका–३ दानाका इन्द्रसिंह शेरचनले बताए।

‘मङ्गलबार दिउँसो कैलाश र प्रभुको हेलिकप्टरबाट सेभेन समिटका शेर्पासहितको टोलीले खोजी गर्‍यौँ तर फेला पार्न सकिएन’, उनले भने, ‘क्याम्प दुई र तीनको बीचमा निरन्तर हिमपहिरो खसेको छ।’

खोजी कार्यमा ड्रोन क्यामेराको पनि प्रयोग गरिएको छ। अपराह्नदेखि मौसम खराब भएपछि आधार शिविर फर्किएको उद्धार टोली बुधबार बिहान पुनः त्यसतर्फ जाने भएको छ। टोलीले आरोहणका लागि तेस्रो शिविरमा पुगेका चार जना आरोहीहरूलाई हेलिकप्टरमार्फत आधार शिविर झारेको छ।

हिमपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो र ठाउँठाउँमा राखिएका भर्‍याङ भत्किएको शेरचनले जानकारी दिए। सोमबार बिहान ८ देखि ११ बजेको बीचमा ३२ जनाले अन्नपूर्ण आरोहण गरेका थिए। चालु वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.