वीरगञ्जको अवस्था सामान्य बन्दै, कर्फ्यु मध्यरातसम्म जारी रहने
वीरगञ्ज। वीरगञ्जमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राति १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेको हो।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकिय अधिकृत दीपक पटेलले बताए। बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सद्भाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको बताइएको छ।
वीरगञ्जमा आइतबार विहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्वन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आइरहेका भिडियोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताए। आइतबार विहान देखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको प्रहरी नायव उपरिक्षक लम्सालले बताए। कर्फ्यु लगाइएको क्षेत्रमा सुरक्षा निकाय तैनाथ गरिएको छ।







डिसी नेपाल








Facebook Comment