तातोपानी नाका र सडकको स्तरोन्नतिमा सरकारले पहल गर्छः परराष्ट्रमन्त्री

डिसी नेपाल
५ वैशाख २०८२ १८:४५
192
Shares

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका वडा नम्बर–२ स्थित तातोपानी धारामा निर्मित स्नानगृहको उद्घाटन गरेकी छन्। नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाको लगानीमा स्नानगृह निर्माण गरिएको हो।

तातोपानीमा हाल पुराना सात वटा धारा छन् भने नवनिर्मित भवनमा ४७ बाथटव निर्माण गरिएको छ। यहाँ प्रायः कात्तिक महिनादेखि चैतसम्म दैनिक एक हजारसम्म पर्यटक तातोपानी धारामा स्नान गर्न आउने गरेका छन्।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले सीमानाका र सडकको स्तरोन्नति तथा विकासका लागि आवश्यक पहल गर्ने जानकारी पनि दिएकी थिइन्। उनले पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीयस्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री डा राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताइन्। मन्त्री डा राणाले यस विषयमा सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.