नेपालको राजनीति : आफ्नैबाट सकस
नेपालको इतिहासका विभिन्न कालखण्डमा विभिन्न वंशको राज चल्यो, गयो। एकको पतन र अर्कोको उदय भयो। यसरी राजकाज एकबाट अर्कोमा सर्नु वा शासनसत्तामा परिवर्तन हुनुमा धेरै कारणहरू छन्। तीमध्ये प्रमुख कारक आफ्नै स्वजनको महत्त्वकांक्षा, इर्ष्या वा सत्तामोह नै देखिन्छ।
यसरी हेर्दा शासकहरूलाई आफ्नैबाट खतरा भएको तथा आफन्तहरूकै षड्यन्त्रका कारण पीडित, दण्डित, देशनिकाला वा अकालमै मृत्युवरण गर्नुपरेको साथै राजवंशकै पतन भएका उदाहरण संसारका अधिकांश मुलुकको इतिहासमा पाइन्छ।
तर, कतिपय मुलुकले भने इतिहासबाट शिक्षा लिई अपेक्षित रणनीति लिँदा यो रोगले त्यति गाँजेको देखिँदैन। नेपालको राजनीति हेर्दा सबै राजा, शासक, श्री ५, श्री ३ र श्री ३ हुन खोज्ने तथा राजनीतिक पार्टीहरूका सबैलाई आफ्नैबाट खतरा भएको देखिन्छ।
उनीहरू आफ्नालाई व्यवस्थापन गर्न नसकेर किन चाउरिस मरिच आफ्नै रागले भएका छन्। नेपालको इतिहासमा हिजो आफ्नैबाट दण्डित, निर्वासित, पराजित भई राज्यसत्ता गुमाउन पुगेका केही प्रसङ्गको चर्चा यस लेखमा गर्न खोजिएको छ।
अंशुवर्माको समयको सूचनालाई हेर्दा शिवदेवले राजपाठ सजिलै त्यागेको हुनै सक्दैन। उसै पनि स्वेच्छाले राजपाठ त्यागेका घटना विश्वमा विरलै पाइन्छन्। यसैगरी उदयदेव आफ्नै स्वजन गुप्तहरूबाट राजपाठ गुमाई भोट निर्वासित हुन पुगेका थिए।
लिच्छविकालमा राजपरिवारकै व्यक्ति, नातेदार वा आफन्तलाई सामन्त नियुक्त गरी मोफसलमा पठाउने गरिन्थ्यो। यिनै स्थानीय शासकहरू केन्द्र कमजोर भएको मौकामा चौका हानी स्वतन्त्र शासक हुन पुगे।
लिच्छवि वंशको अवसानपछि प्राचीन नेपाल नेपाल मण्डल, खस साम्राज्य र डोय गरी तीन राज्यमा विभक्त भयो। यसमध्ये खस साम्राज्य सबल र समृद्ध हुन पुगेकाले नेपाल खाल्डोमा नै आक्रमण गरी उसले आफ्नो शक्ति र वैभव प्रदर्शन गरेको थियो।
पश्चिम कर्णालीको खस राज्य विखण्डन हुनुमा आफन्तहरूकै हात रहेको थियो। सभ्यता संस्कृति र सम्पन्नताको शिखरमा पुगेको नेपाल मण्डल राज्य पनि आफन्तकै कारण कमजोर हुँदै गयो। पहिले सबल रहेको राज्य यक्ष मल्लको शासनकालपछि पहिले चार र पछि तीन राज्यमा विभक्त हुन गए।
यी तीनै राज्यमा कहिल्यै पनि मेलमिलाप भएन भने आन्तरिक पारिवारिक कलहमा पनि तिनै राज्य रुमलिए। प्रताप मल्लले आफ्नै बाबु लक्ष्मीनरसिंह मल्ललाई नजरबन्द गरी आफै राजा भए। आफ्नै वंशज भीम मल्ललाई मृत्युदण्ड दिए। आफ्नै रानीको कारण जयप्रकाश मल्लको पदच्युत हुन पुगेको थियो, यद्यपि पुनः सत्ताकब्जा गर्न सफल पनि भए।
यस्तै अवस्था ललितपुर र भक्तपुरमा पनि रह्यो। मल्ल राजाहरूको आपसी अन्तःकलहकै कारण गोरखा राज्यले सहजै नेपाल खाल्डोमाथि कब्जा गर्न सक्यो। बाइसी र चौबीसी राज्यहरूमा पनि पारिवारिक बेमेल हुने रोग सल्केको अनेकौँ उदाहरण पाइन्छ।
मल्लहरूको पारिवारिक अन्तःकलह र बेमेलकै कारण सानो टाकुरे राज्य गोर्खाले सहजै काठमाडौँ उपत्यकाका तीनै मल्ल राजाहरूलाई परास्त गरेको हो। पृथ्वीनारायण शाहको विजय अभियानमा उनका भाइहरूले यथेष्ट सहयोग गरेका थिए। सुरप्रताप शाहले त कीर्तिपुरको लडाइँमा आँखा नै गुमाउनुपरेको थियो।
तर, तिनै भाइहरू विजित प्रदेशको केही भागको राजा हुने चाहना पूरा नभएका कारण पृथ्वीनारायणसँग चिढिएका थिए। उनीहरूको आक्रोशले तत्कालै कुनै असर नगरे तापनि पारिवारिक षड्यन्त्रकारी राजनीतिको विजारोपण भने गरायो।
पृथ्वीनारायण शाहको मृत्युपछि राजा भएका प्रतापसिंहले आफ्नै भाइ बहादुर शाहबाट खतरा ठानी वक्रदृष्टि लिए, जसबाट बहादुर शाहले पलायन नै हुनुपर्यो। प्रतापसिंह शाहको मृत्युपछि बालक राजा रणबहादुर शाहको नायबी हुन पुगेका राजेन्द्रलक्ष्मी र बहादुर शाहले पनि एकले अर्कालाई सिध्याउने अनेक चाल चले। रणबहादुर शाहको उमेर पुगेपछि उनले आफ्नै काकाबाट खतरा महसुस गरे र बहादुर शाहलाई आत्महत्या गर्न बाध्य बनाए।
रणबहादुर शाह पनि आफ्नै रानी राजेश्वरी तथा सुवर्णप्रभाबाट पीडित भए, उनकै कारणबाट। राजपरिवारबाटै साथ र सहयोग नपाउँदा स्वामी महाराज (रणबहादुर शाह)ले कान्तिवतीका छोरा गीर्वाणलाई आफू जीवित हुँदा नै राजा घोषणा गरी स्वामी भएको नाटक गरेका थिए।
उनले बनारस पलायन हुनुप¥यो। भीमसेन थापाको सुझबुझ, कूटनीति तथा रणनीतिकै कारण नेपाल आई पुनः शासनसत्ता हत्याउन उनी सफल भए। तर, रणबहादुर शाह आफ्नै भाइ शेरबहादुर शाहद्वारा काटिए।
रणबहादुर शाहको हत्यापछि लामो कालसम्म रजगज गर्ने भीमसेन थापा पनि आफन्तकै कोपभाजनको सिकार भई सेरिनुप¥यो। माथवरसिंह थापा आफ्नै भानिज जंगबहादुरद्वारा मारिए। गगनसिंहले आफ्नै विश्वास पात्र जंगबहादुरकै षड्यन्त्रमा परी ज्यान गुमाए।
कोतपर्वबाट भारदार, भण्डारखाल पर्वबाट रानी र अलौपर्वबाट राजेन्द्रलाई शक्तिहीन बनाई सर्वेसर्वा हुन पुगेका जंगबहादुरलाई पनि अरू कसैको डर थिएन, परिवारकै डर थियो। यसैकारण उनका भाइ बमबहादुरको तानाबाना गयो। रणोद्दीपसिंह आफ्नै कान्छा भाइ धीरशमशेरका छोराहरूद्वारा हत्या गरिए।
यस हत्याकाण्डमा जंगबहादुरकै छोरा जगतजंग र नाति युद्धप्रसादजंग पनि मरे। जंगबहादुरले धेरैको रगतको होली खेली हत्याएको राजपाठ उनका छोरानातिले रगत बगाएर नै त्याग्नुपर्यो। राणाकालमा पनि शासकलाई आफ्नैको डर थियो। अरू जनताबाट उनीहरू निर्भय नै थिए।
वीरशमशेरले आफ्नै भाइ खड्गशमशेरलाई डाँडो कटाए भने देवशमशेरले आफ्नै भाइ चन्द्रशमशेरको कूटिल षड्यन्त्रमा परी सत्ताच्युत हुनुपर्यो। राणा श्री ३ हरू काठमाडौँबाट बाहिर जाँदा आफूपछि श्री ३ हुने रोलमा रहेकाका परिवारलाई साथै लिएर जाने गर्दथे। कारण जेसुकै देखाए पनि यसको अन्तर्यमा आफ्नो अनुपस्थितिमा रोलक्रममा रहेका भाइभारदारले सत्ता पल्टाउने कुनै खेल खेल्न नपाउन् भन्ने नै थियो।
श्री ३ चन्द्रशमशेरले आफ्ना राणा परिवारको ए, बी, सी गरी तीन भागमा वर्गीकरण गरे। जहानिया राणा शासनको पतनका लागि यो प्रमुख कारण बन्न पुग्यो, कालन्तरमा। जुद्धशमशेरले आफ्नै परिवारबाट खतरा देखी १९९७ सालको काण्ड रचे।
जसबाट बी र सी क्लासमा रहेका राणाहरूको रोलक्रम काटी मोफसलमा उनीहरूलाई निर्वासित गरियो। उनै जुद्धशमशेरले आफ्नै परिवारको कूटिल चालमा परी राज्य त्याग्नुपर्यो भने पद्मशमशेरले आफ्नै परिवारबाट आफ्नो ज्यान नै खतरामा पर्ने बुझेपछि हिन्दुस्तान पलायन हुनुपर्यो। बी र सी क्लासका राणाहरूकै प्रमुख भूमिकामा राणा शासन पतन भयो नत्र २००७ साल त्यति चाँडो आउने थिएन।
वि.सं. २००७ सालपछि पनि शासनसत्तामा पुगेकाहरूलाई अरूको डर थिएन। आफ्नै परिवारबाट उनीहरू त्रसित थिए। नेपाली कांग्रेसका मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला बीचको द्वन्द्वको कारण नेपालीको राजनीतिले नै अर्कै मोड लियो।
मातृकाले आफ्ना भाइ विश्वेश्वरको नेपाली कांग्रेसमा बर्चस्व देखेपछि अर्कै पार्टी खोली राजाहरूका प्रिय पात्र हुने नीति अख्तियार गरे। मातृकाकै कारणबाट विश्वेश्वर त्रिभुवन र महेन्द्रसँग नजिक हुन पाएनन्। संवत् २०१७ साल पौष १ गते ल्याउन पनि विश्वेश्वरका प्रिय पात्रहरू विश्वबन्धु थापा र तुलसी गिरी जस्ताको भूमिका रह्यो।
राणा शासन पतन गराउन तथा संसदीय व्यवस्था ढाल्ने कार्यमा आफ्नैको प्रमुख भूमिका थियो भने पञ्चायती व्यवस्थालाई समाप्त गर्न भने पञ्चहरूको भन्दा अरूकै कारण प्रमुख थिए। संवत् २०४६ सालको आन्दोलनमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भई नेपाली राजनीतिमा पार्टीहरू भाले हुन गए। यी सबै पार्टीमा पनि आफ्नैबाट पीडित हुने ऐतिहासिक रोग देखापर्यो।
संवत् २०४७ को निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याई प्रतिनिधि सभामा आफ्नो बर्चस्व कायम गरी सरकार बनाउन सफल भयो। यो निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद कोइरालालाई हराउने कार्यमा तिनै कांग्रेसीहरू लागे। संसद्मा बहुमत हुँदाहुँदै सरकारको कार्यनीति पारित भएन।
तिनै कांग्रेसी ३६ सांसदहरू अनुपस्थित भएको झोकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन गराए। यसमा कांग्रेस दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। यसरी आफ्नै कारण कांग्र्रेसले उठ्नै नसक्ने गरी मुक्का खायो। कांग्रेसीजनमा आएको तिक्तता र अन्तरविरोधका कारण पार्टी नै विभक्त भयो। पटकपटक कांग्रेस सत्तामा पुगे पनि अन्तर्घातको रोगबाट सताइयो।
यसै चपेटामा कृष्णप्रसाद भट्टराई र स्वयं गिरिजाप्रसाद कोइराला नै परे। कांग्रेसलाई एक सशक्त पार्टी एवं स्थायी सरकार बनाउने प्रशस्त अवसर भए तापनि आन्तरिक कलहबाट सबै मौका गुमाउँदै गयो। यो रोगबाट हाल पनि पार्टीहरू ग्रसित छन्। मुलुक संवेदनशील एवं गम्भीर संकटमा पर्न जाने लक्षण देखा पर्दा पनि यी कांग्रेसीजनमा एकताको भावना सर्वथा अभाव छ।
नेपाली कांग्रेस पार्टीमा मात्रै पारिवारिक कलह सीमित भएन। संवत् २०४६ पश्चात् एक सशक्त पार्टीका रूपमा उदाएको एमालेमा पनि पारिवारिक विवादले पार्टी नै विभाजित हुन पुग्यो। पारिवारिक कलहबाट अर्कोले फाइदा पाउने बुझ्दाबुझ्दै पनि बुझ पचाउने यी पार्टीका नेतालाई जनताले किन बारम्बार विश्वास गरिरहे भन्ने प्रश्नको उत्तर खोज्ने वेला भएको छ।
ठूला पार्टीहरूको रोग साना पार्टीमा पनि लाग्यो। वि.सं.२०४६ सालपश्चात् पूर्वपञ्चहरूको बाहुल्यता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सद्भावना पार्टी पनि विभक्त हुँदै गए। वि.सं.२०५१ सालको निर्वाचनमा आफ्नो शक्ति सञ्चय गर्ने यी दुवै पार्टीले अवसर पाउँदा पनि आन्तरिक कलहकै कारण आफ्नो पूर्ववत् स्थान गुमाउन बाध्य भए।
संवत् २०६२-०६३ मा मधेसी अधिकार फोरम एक सशक्त वैकल्पिक राष्ट्रिय शक्तिका रूपमा देखापर्यो। तर, यसमा पनि पारिवारिक रोगले सतायो। एकबाटै तीन चार पार्टीहरू बन्न गए।
कांग्र्रेस र एमालेहरू फुटेको केही समयपछि एकीकरण भई एउटै पार्टी पनि बने तर यो रोगले उनीहरूलाई छाडेन। अचम्मको कुरा के छ भने पार्टी विखण्डन गराउनमा विपक्षीको भूमिका रहेको भनेर उनीहरू कुर्लिरहन्छन्, आफ्नो कमजोरीको मूल्यांकन गर्दैनन्। तर, सबैलाई आफ्नैबाट खतरा भएको छ अरूबाट होइन।
यस रोगले पार्टीलाई त सतायो सतायो तर उनीहरूकै कारणबाट नेपाली जनताकै आशा अपेक्षामा तुसारापात भयो। साँढेको जुधाइ बाच्छाको मिचाइ भयो। आजको दिनसम्म पनि यी सबै राजनैतिक पार्टीहरूले आन्तरिक कलहले गर्दा सशक्त उपस्थिति देखाउन सकेका छैनन्।
यी सबै पार्टीमा आन्तरिक कलहको रोगले प्रश्रय पायो। यसमा कसको दोष हो ? सबै पार्टीका मठाधीशहरूले यस रोगको निदान गर्न किन खोजेनन् ? यस्ता नेता किन पुरस्कृत भइ नै रहे भन्ने अहम् सवालको जवाफ खोज्ने बेला आएको छ। सबैलाई चेतना भया।
















Facebook Comment