भोजपुर गोल्डकपः चर्च ब्वाइज सेमिफाइनलमा

डिसी नेपाल
१७ वैशाख २०८२ २१:५८
84
Shares

टक्सार (भोजपुर)। आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ।

चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवैतर्फबाट बराबर तीन/तीन गोल भएपछि खेल ‘सडनडेथ’मा धकेलियो। चर्च ब्वाइजका तर्फबाट एकराज बुढाथोकी, सामुएल सुनुवार, सुजन बलमपाकीले गोल गरे भने मोरङकातर्फबाट अभिषेक ठकुरी, छिरिङ तामाङ र नवयुग श्रेष्ठले गोल गरे।

सडनडेथमा चर्च ब्वाइजका लाक्पा पाख्रिनले गरेको गोल नै निर्णायक बन्यो। प्रतियोगिताको म्यान अफ दी म्याच चर्च ब्वाइजका गोलरक्षक विवश चौधरी बने। प्रतियोगिताअन्तर्गत बिहीबारदेखि सेमिफाइनलका खेल हुनेछन्। पहिलो खेल सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र जर्जियन फुटबल क्लब भारतबीच हुनेछ भने शुक्रबारको खेल भगवती स्पोर्टस् क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ।

रु ४९ लाख लागतमा भोजपुर नगरपालिका–७ स्थित रंगशालामा वैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस् क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौं र एलएक्स सिटी मोरङगरी आठ टिमले सहभागिता जनाएका थिए।

जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र रु तीन लाख पाउनेछन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए। प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ।

गत वर्षको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.