बागमती प्रदेश मुख्यमन्त्री कपको उपाधि एपिएफलाई

डिसी नेपाल
२० वैशाख २०८२ २२:००
288
Shares

त्रिशूली (नुवाकोट)। ‘बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ। खेलको दोस्रो हाफको अतिरिक्त ६ मिनेटमा एपिएफका अनिता केसीले लागि निर्णायक गोल गरेपछि एपिएफ विजयी भएको हो।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा आज आयोजित फाइनलमा नेपाल पुलिस क्लब (एनपिसी) लाई १-० गोलले हराउँदै एपिएफले ‘प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप’को उपाधि जितेको आयोजकले जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतियोगिताको विजेतालाई नगद रु पाँच लाखसहित सिल्ड, मेडल र ट्रफी तथा उपविजेता एनपिसीलाई नगद रु दुई लाख ५० हजारसहित सिल्ड, मेडल र ट्रफी प्रदान गरे। उनले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा समेत टेवा पुग्ने भन्दै आयोजकको प्रशंसा गरे।

प्रवक्ता महतले प्रदेश सरकारको आर्थिक लगानीमा स्थानीय सरकारमार्फत पूर्वाधार विस्तार गरी सञ्चालन गरिएका प्रतियोगिताले खेल क्षेत्रको विकास हुनुका साथै र खेलाडीलाई प्रोत्साहन गरेको बताए।

नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा यही वैशाख १३ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका आठवटा क्लबले सहभागिता जनाएका थिए। प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोगसहित बागमती प्रदेश खेलकुद परिषद् र विदुर नगरपालिका संरक्षक रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.