सेवाभावले समर्पित व्यक्तिको मूल्यांकन गरौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको बाटोमा लैजानका लागि दिइने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन्।
नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताए।
समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्रमले सहयोग पुग्ने पनि सिंहले विश्वास व्यक्त गरे।
‘एउटा कानले सुन्ने अर्कोले उडाउने गर्छौं। त्यसो हुनुभएन। समाजलाई सत्यको बाटोमा लैजानका लागि धार्मिक कार्यक्रममा हुने प्रवचनका कुरालाई आत्मसाथ गरौं,’ उनले भने,‘जसले मेहनत गर्छ। मेहनतको फलको आनन्दप्राप्ति नै बेग्लै किसिमको हुन्छ।’
समाजलाई सत्य र पवित्रताको बाटोमा अगाडी बढाउन सेवाभावले समर्पित व्यक्तिहरूको समाजले मूल्यांकन गर्नसक्नुपर्ने पनि उनले बताए। ‘तर, अहिले जुन प्राप्त गरेका अधिकार छन्। ती अधिकारको मूल्य र मान्यतालाई राम्रोसँग बुझ्नुपर्छ। अधिकारको मात्र कुरा गरेर हुँदैन, पूरा गर्नुपर्ने दायित्वमा पनि सोच्नुपर्छ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले बद्रीनारायण धामको पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। बद्रीनारायण धामको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि पनि सहयोग गरेको भन्दै त्यसको निरन्तरतामा ध्यान दिने सिंहको भनाई छ । धाम निर्माणको कामलाई पूर्णता दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नसमेत उनले आग्रह गरे।
धाम निर्माण समितिका अध्यक्ष दीनबन्धु पोखरेलले धामलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।







डिसी नेपाल








Facebook Comment