नेता नेपालको पशुपतिमा अन्त्येष्टि

डिसी नेपाल
२३ वैशाख २०८२ २२:०४
460
Shares

काठमाडौं। नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो।

त्यसअघि उनीप्रति नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजन ठूलो सङ्ख्यामा पशुपति पुगेका थिए।

लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आएका उनी केही दिनअघि निमोनिया भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए।

नेता नेपालको उपचारका क्रममा आज अपराह्न त्यही निधन भएको हो। विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मेका नेपाल राजनीतिज्ञ र साहित्यकार मात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित थिए। उनले छलफल, दृष्टि, प्रकाश साप्ताहिको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकार समेत थिए।

उनका कथाभित्रका ‘नारी अनुहार’, ‘परोपकार यात्रा’, ‘बेचिएका चेलीहरू’ र ‘सूर्यमान’ शीर्षका कथा सङ्ग्रहका अतिरिक्त ‘खुइते कडेरिया’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘देउमाइकको किनार मुक्ति’, ‘एक्काइसौँ शताब्दीको सुम्निमा’, ‘नन्दीताल’गायतका उपन्यास प्रकाशित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.