डा. सन्दुक रूईतको अभियानलाई समर्पित कविता

दृष्टिको अन्तर्दृष्टि सन्दुक

कवीन्द्र सिटौला
२८ वैशाख २०८२ ६:४१
188
Shares

हे सन्दुक!
नौ महिना प्रकृतिले
हिमसिरक ओडाउने तिम्रो त्यो न्यानो र प्यारो गाउँ ओलाङ्चुङ्गोला
न बिजुली, न बाटो, न विद्यालय, न स्वास्थ्य, न संचार
तिम्रा माता पिताले
कसरी तिमीहरुलाई पढाए?
कसरी हुर्काए, बढाए?
कतिलाई गुमाए?
कतिलाई बचाए!
परिवारमा उपचार खर्च नभई,
गाउँमा स्वास्थ्य सेवा नहुँदाको पीडाले
बाल्यकालको प्रिय साथी र बहिनी
याङ्लाको असामयिक निधनको
पीडादायक वियोगसँगै
तिमीले चिकित्सक बन्ने संकल्प जगायौ
गरिबहरूलाई सेवा गर्ने भावना जन्मायौ

पुन जन्मियौ त्यही
यस धर्तीमा कर्मवीर भएर
त्यही सृष्टि भित्र दृष्टि लिएर
सेवा र कल्याणको अन्तर्दृष्टि लिएर
त्यसैको शाश्वत अविनाशी ज्योतिलिएर
लामो संघर्षको कथालाई चिर्दै
आफैंलाई नेत्रको चिकित्सक बनायौ!

इन्स्टाकुलर लेन्सको आविष्कारले विज्ञानलाई सजायौ
समयसँग एक क्रान्तिकारी अभियानको उद्घोष गरायौ

विश्वलाई नै एक नयाँ दृष्टि दियौ
हजारौँ अस्थायी शिविरहरूको माध्यमले घरघरमा सेवा पुर्‍यायौ

जीवनभित्रको अन्तर्जीवनमा आत्मसम्मान जगायौ
लाखौं, करोडौं मानिसको जीवन र सोचमा नयाँ चेतना जन्मायौ
परिवर्तनको लागि अभियान चलायौ
सबैमा प्रेरणा जगायौ
देश र समाजलाई
दाता नखोज
आफै स्वावलम्बी बन भन्ने सन्देश दिलायौ
दुर्गम ठाउँ स्वयंमा बाधा बन्दैन
गरीब भनिएको मान्छे गरिब हुँदैन
ऊ! त्यो मान्छे!
अठोटको संघर्षशील, सिर्जनशील मान्छे
सोच र सिर्जनामा सधैँ धनी हुन्छ भनेर
तिमीले विश्वलाई देखायौ
अथक परिश्रम, प्रयास र
एक उद्देश्यको लागि एकोहारो समर्पणले
असम्भव पनि सम्भव हुन्छ भनेर देखायौ

रामोन म्याग्सेसे, ईसा, पद्मश्री, एशिया गेम चेन्जर,
द अर्डर अफ अस्ट्रेलिया
लगायत
धेरै धेरै सम्मानित पुरस्कारहरूबाट सम्मानित भई
नेपाल अनि नेपालीको पहिचान,गौरव र गरिमा उठाउने
तिमी
विश्व मानवताको उच्चाइको प्रतीक र उदाहरण तिमी
नन्दारुईतको साथले
हजारौं लाखौंको हराएको हाँसो ल्याइदिने
जीवनको खुशी तिमी
निराशामा बसेका लागि आशा र विश्वास दिने तिमी
गरिबीले छटपटाइरहनेहरूका लागि सहारा र भरोसा तिमी
अन्योलमामा अल्झिरहेकाहरूका लागि
सम्भावनाको बाटो देखाउने, पथ प्रदर्शक तिमी
हार्दिकता, मानवता र करुणाको परिभाषा र परिचय
तिमी
अँध्यारोमा हराइरहेकाहरूका लागि
दियो
प्रकाश
बत्ती
अनि
ज्योतिर्मय ज्योति हौ तिमी
एक नवअवतार हौ !
एक परिचय नव महामानवताको
मानिसलाई सुन्दर संसार देखाइदिने
तिमी दृष्टि देवता मात्र होइन
तिमी देवदूत हौ
तिमी स्वयं देवता हौ
स्वयं देवता हौ !
स्वयं देवता हौ तिमी
तिमीलाई हार्दिक हार्दिक अभिवादन !
तिमीलाई लाखौं लाख बन्दना !
लाखौं लाख बन्दना !!

( डा. सन्दुक रूईतलाई मे १७ २०२५ भर्जिनियामा भेटेर आभार व्यक्त गरौं , अभियानमा सहभागी बनौँ !)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.