छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

डिसी नेपाल
१ जेठ २०८२ १५:१६
6.3k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।

कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ८६३० नम्बरको हाईस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा हाईसमा सवार ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने ५१ वर्षीया झाङमाया गुरुङ, धादिङ ज्वालामूखी गाउँपालिका-५ खरी घर भएकी ४५ वर्षीया तिल कुमारी आचार्य र धादिङ निलकण्ठ नगरपालिका-२ भुलभुले बस्ने १५ वर्षीय आगम गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

चितवनको भरतपुर महानगरपालिका-२ लायन्सचोकस्थित सडकमा बा.प्र.०६-०१ प ११७३ नम्बरको स्कुटरलाई बा.१५ च १७३७ नम्बरको स्कार्पियोले गए राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-१५ मंगलपुर बस्ने ५३ वर्षीय दिपक ढुङ्गानाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-२ भेल्ही फुलजोरस्थित सडकमा बीआर ३० डब्लु ३२५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने ५० वर्षीय राम प्रताप पण्डितको मृत्यु भएको छ। मोटरसाइकलले गए राति ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रहमदेवस्थित सडकमा म.१ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका-८ तिलाचौर बस्ने ४२ वर्षीय नकुल रानाको बुधबार दिउँसो मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहाको धनगढीमाई नगरपालिका-९ मिलन चोकस्थित सडकमा प्र.३-०२-००६ प ४११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ गुठी बस्ने २७ वर्षीय नागेश्वर यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा थप उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.