विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले प्राधिकरणको वित्तीय अवस्थामाबारेमा अन्यौल भइरहेको अवस्थामा विद्युत् प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन्।
उनले श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको उल्लेख गरे। मन्त्री खड्काले अब प्राधिकरणको चाँडै अडिट हुने जानकारी दिए।
महालेखाले प्राधिकरण घाटामा रहेको तथ्यांक दिने र तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले दुविधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनले बताए। मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरे।
बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमानलाई देउता बनाउने पक्षमा आफूहरू नरहेको तर कुनै पनि राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन नहुने बताए।
सरकारलाई मन नपरेको कर्मचारीलाई निकाल्ने प्रचलन उचित नभएको उनको भनाइ छ। त्यस्तै सांसद सापकोटाले नेपालको विद्युत् क्षेत्रमा धेरै योगदान गरेको कुलमानलाई केहि गरेको छैन भन्ने तर्क गर्नु जायज नभएको धारणा राखे। उनले प्राधिकरणको अहिलेका प्रमुख र आवश्यक परे महालेखाका साथै कुलमानलाई समेत बोलाएर यथार्थ कुरा बुझ्न समितिसमक्ष माग गरे।
सांसद सापकोटाले प्रतिपक्षीले कुलमानको रक्षा गर्ने र सत्तापक्षले कुलमानलाई खेदो खन्ने परिपाटीलाई बन्द गर्नुपर्ने उल्लेख गरे।







डिसी नेपाल








Facebook Comment