झोले : अर्थ र यसको दुरुपयोग
“झोले” भन्ने व्यङ्ग्यात्मक शब्द अहिले नेपाली समाजमा प्रचलित भाषाजस्तो भएको छ। परस्पर चिया गफदेखि लिएर विषय संवाद आदानप्रदानमा झोले शब्द खुबै चलेको छ। यसमाथि भर्खरैमात्र चर्चित गायकले गीत पनि निकालिसक्नुभयो ।
सामान्यतः “झोले” भनेको-
१) झोला बोकेर हिँड्ने नागरिक सर्वसाधारण पनि पर्छन्,
२) झोल भएको खानेकुरा खाने पनि झोले कहलाउन सक्छन् र
३) पछिल्लो समय राजनीतिक दलसम्बद्ध कार्यकर्ता पनि झोले कहलाउने गरेका छन्।
विभिन्न घटनाक्रम र सन्दर्भमा प्रयोग हुन सक्छ झोले शब्द। यसको अर्थ घटनाक्रम र सन्दर्भअनुसार फरक पर्न सक्छ। झट्ट हेर्दा सुन्दा बुझिदैन-कसलाई, केलाई र कहाँ प्रसङ्गमा भनिएको छ।
म चाहिँ तेस्रो नम्बरको झोलेमा पर्छु। राजनीतिलाई सेवाको माध्यम बुझ्ने गरेको झोले। राजनीतिकर्मीका ठाउँबाट एकलयमा हिँड्न सक्ने झोले हुन्। राजनीतिमा चाहिने विषयगत अध्ययन, चिन्तनमनन, आचरण, इमान, निष्ठासाथ झोला बोक्ने गरेको छु। बिचारले परिस्कृत र व्यवहार निर्देशित राजनीतिक अभियानको झोले हुँ।
आज हलक्क भएको बखतमात्र होइन, म संलग्न/सम्बद्ध राजनीतिक दल कमजोर हुँदा पनि यसको झोले हुँ। मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा विश्वास गर्ने झोले हुँ। जात, लिंग, वर्ग, धर्म, क्षेत्र आदिका आधारमा भेदभाव नचाहने समानताको पक्षपाती झोले हुँ।
सबै मानवलाई समान अधिकार र अवसरको दृष्टिकोणले हेर्नुपर्छ भन्ने अर्थमा श्रमिकवर्गको शोषणको विरुद्ध हुन्छ र श्रमिक अधिकार, न्याय र उचित पारिश्रमिकका लागि संघर्ष गर्न उत्प्रेरित भएको झोले हुँ। व्यक्तिगत फाइदाभन्दा समाजको सामूहिक हितको पक्षमा दृढ़ मतका साथ उभिने झोले हुँ।
आफ्नो ग्रहण गरेको विचारमा अडिग र संगठनात्मक अनुशासन पालनाको पक्षमा कटिबद्ध झोले हुँ। आचरणमा सरल र निष्ठा विकासका दृष्टिकोणले विलासिताबाट टाढा रहन चाहने र व्यक्ति व्यवहारमा इमानदार र पारदर्शी हुनुपर्छ भन्ने झोले हुँ। नेतृत्वले जनमतसँग मिल्दोजुल्दो व्यवहार गर्नुपर्छ भन्ने झोले हुँ।
जनमतसँग नजिकै रहनुपर्छ, जनमतको दुःख, पीडा, अपेक्षा आदि बुझ्न सक्ने जनप्रतिनिधि हुनुपर्छ भन्ने झोले हुँ। व्यक्ति स्वयंको व्यवहारमा पनि स्वार्थ र विभेदरहित व्यक्तित्व विकासको पक्ष हुनुपर्छ र सामाजिक न्याय, समानता र बहुसंख्यक जनमतको भलोको पक्षमा काम गर्नुपर्छ भन्ने झोले हुँ।
















Facebook Comment