धार्मिक पर्यटकीयस्थल राजदेवी मन्दिर जाने सडक स्तरोन्नति गरिने

डिसी नेपाल
१० जेठ २०८२ २३:२९
228
Shares

सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।

आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल्लेख गरे। उनले भने, ‘राजदेवी मन्दिर यहाँको धार्मिक आस्थाको केन्द्र हो। पछिल्लो समय टाढाटाढाबाट भक्तजन उल्लेख्य मात्रामा आउने गर्दछन्। पक्की सडक निर्माणले यहाँको धार्मिक पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास लिएका छौँ।’

लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म १० किलोमिटर दूरी रहेको छ। जसमध्ये लहान–१० स्थित ग्रामीण चौकबाट उत्तरतर्फ आठ सय मिटर सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न रु ७२ लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। बाँकी खण्डमा यसअघि सहरी विकास तथा भवन कार्यालय सप्तरीले कालोपत्र गरिसकेको छ।

उक्त सडक स्तरोन्नतिले लहानको उत्तरी भेगमा पर्ने वडा नं १०, १४, १५, १८ र २४ कोे आवागमनमा सहजता ल्याउने लहान–१० का वडाध्यक्ष मन्टीकुमार मण्डलले बताए। मधेश प्रदेशको गढीमाई मेलापछि दोस्रो बढी बलि दिने राजदेवी मन्दिरमा वैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ। सुरुमा शनिबार मात्रै बढी पर्यटक आउने यस मन्दिरमा सडक सुविधासँगै दिनहुँ धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको स्थानीय बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.