भिजिट भिषा प्रकरण

सचिवालयमा विवादित व्यक्ति राखेर गृहमन्त्रीको मौन स्वीकृति

डिसी नेपाल
१२ जेठ २०८२ ७:३१
516
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिषा मार्फत सेटिङमा मानव तस्करी नियमित भइरहेको बेला गृहमन्त्री रमेश लेखकले आफू त्यसमा संलग्न नभएको जनाएका छन्।

भिजिट भिषा मार्फत हुने मानव तस्करीमा उनको प्रत्यक्ष संलग्नता नदेखिएपनि उनको सचिवालयमा रहेका सदस्यहरु भने विवादित बनेका छन्।

उनको सचिवालय विवादित रहेको समाचारहरु प्रकाशित भइरहँदा मन्त्री लेखक मौन रहेका छन्। विवादित पृष्ठभूमि रहेका कर्मचारीलाई लिएर उनले सचिवालय मात्र होइन मन्त्रालय समेत हाकिरहेका छन्।

उनको सचिवालयमा रहेका बद्री तिवारी, गणेश ओझा र विमल पौडेल मात्र होइन, राजनीतिक नियुक्ति लिएका जनक भट्टसम्म विवादित पात्र हुन्। भट्टको अझ अश्लिल भिडियो समेत बाहिर आएको छ। तिनै व्यक्ति सचिवालय सम्हालेर बसेका छन्।

मन्त्री लेखक श्रममन्त्री हुँदा देखिनै साथमा रहेका तिवारी गृहमा पनि पुगेका हुन्। भिजिट भिषाको सेटिङमा श्रमका कर्मचारीहरुको पनि मिलेमतो हुने गरेको छ।

ओझा भने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको सिफारिसमा त्यहाँ आएका हुन्। उनी कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि भ्रष्टाचार मुद्दा लागेको अख्तियारको ‘रेकर्ड’मा देखिन्छ।

अख्तियारले २०७४-७५ मा ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीको ठेक्कामा कार्यपालिकाबाट निर्णय गराएर राजस्व छुट दिएको आरोपमा गाउँपालिकाका अध्यक्ष, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।

५४ लाख १८ हजार रुपैयाँ कार्यपालिकाबाट निर्णय गराएर गैरकानुनी रूपमा छुट दिइएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको थियो।

तत्कालीन प्रमुख प्रशाकीय अधिकृत ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम ठेकेदारबाट सर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको अख्तियारको आरोपमा उल्लेख थियो। तिनै व्यक्ति अहिले मन्त्री लेखकको सचिवालयमा हर्ताकर्ताका रूपमा छन्। उनको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ गरेको आरोपी गृहमन्त्री लेखकको सचिवालयमा छन्। तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट हुने भिजिट भिसा सेटिङमा अप्रेसन चलाउँदा त्यसमा संलग्न देखिएका अधिकृत विमल पौडेल अर्का हर्ताकर्ता हुन्। उनलाई आइतबार मात्रै विपद प्राधिकरणमा सरुवा गरिएको छ। उनलाई अध्यागमनको सेटिङ मास्टरको रुपमा चिनिन्छ।

उनीहरु मात्र होइन, मन्त्री लेखकले मन्त्रालयका महत्वपूर्ण विभागमा र महाशाखा पनि विवादित सहसचिवले भरेका छन्। यातायात क्षेत्रका चर्चित र विवादित ‘खेलाडी’ डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराईदेखि उपसचिव हुँदा यातायातमा रहेका विवादित सहसचिव बसन्त अधिकारीसम्म गृह मन्त्री लेखकको संरक्षणमा रहेका छन्।

रवि लामिछाने गृहमन्त्री भएपछि गोगनबहादुर हमालले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पाएका थिए। यातायातदेखि एयरपोर्ट काण्डसम्ममा विवादमा तानिएका हमाललाई रविले महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए।

उनलाई गृहमन्त्री रमेश लेखकले पनि निरन्तरता दिएका छन्। हमाल अहिले कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारी छन्। साथै अधिकारी बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी छन्। भट्टराई अहिले कारागार व्यवस्थापन विभागको प्रमुख छन्।

सिडिओको अनुभव नै नभएका पाण्डेलाई नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा हुँदै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ। अर्का विवादित पृष्ठ भूमिका सहसचिव तीर्थराज भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिँदा भिजिट भिषाको सेटिङमा लागेको खुलेको छ।

त्रिपाल खरिद घोटालामा मुद्दा खेपेका सहसचिव भट्टराईलाई गृहमन्त्री लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले ‘विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका थिए। उनी अहिले अध्यागमनबाट सरुवा भएर अख्तियारको निगरानीमा रहेका छन्। उनलाई गत बुधबार अख्तियारले नियन्त्रणमा लिएर हाजिर जमानीमा छाडेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.