बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृत्यु, तीनजना घाइते

डिसी नेपाल
१३ जेठ २०८२ ६:०९
17.2k
Shares

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का गम्भिर घाइते कमलेश कुमार साहको समेत ट्रमा सेन्टर मा उपचार जारी छ।

त्रिभुवन राजपथ अन्तर्गत गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल भई दुर्घटना भएको थियो। सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै बस थाहा नगरपालिकाका उप-मेयर भरत गोपालीको घरभित्र पसेको थियो।

दुर्घटनामा लेखापढी व्यवसायी थाहा–९ निवासी कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भई हाल झम्केश्वरी माविमा कार्यरत शिक्षक लोकेन्द्र कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।

बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको उपचार पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ।

बसका चालक थाहा नगरपालिका–५ का अन्दाजी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.