डोनाल्ड ट्रम्पलाई झट्कामाथि झट्का, चौतर्फी घेराबन्दीबाट कसरी निस्किएलान् ?

डिसी नेपाल
१५ जेठ २०८२ १६:३५
1.9k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पलाई लगातार ठूला झट्का लागिरहेका छन् । उनको प्रशासनले मुख्य हतियार बनाएको करसम्बन्धी नीतिलाई लगातार धाक्का लागेको हो । पछिल्लो समय ट्रम्पले आफूले घोषणा गरेका करलाई लागू गराउन पनि सक्छन् कि सक्दैनन् भन्ने निश्चित छैन ।

बुधबार मात्रै अमेरिकाको एक संघिय अदालतले अन्य देशहरूमा कर लगाउनेबारे निर्णय गर्ने अधिकार राष्ट्रपतिको मात्रै नभएको ठहर गर्दै उनका निर्णयमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले राष्ट्रपतिलाई लगभग सबै देशमा कर लगाउने एकतर्फी शक्ति नदिने फैसला गरेको छ।

म्यानहट्टनस्थित अदालतले अमेरिकी संविधानले कांग्रेसलाई अन्य देशहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार दिएको र अर्थतन्त्र सुरक्षित गर्ने राष्ट्रपतिको जिम्मेवारीले यसलाई ओझेलमा पार्न नसकिने बताएको छ।

ट्रम्प प्रशासन ह्वाइट हाउस फर्किएपछि अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएको छुट्टाछुट्टै करलाई पनि रोक लगाएको छ। केही मिनेटमै ट्रम्प प्रशासनले यस अदालतको निर्णय विरुद्ध पुनरावेदन दायर गरेको छ।

अर्कोतर्फ अमेरिकाका धेरै राज्यले ट्रम्पको यो निर्णयविरुद्ध मुद्दा हालेका छन् । अमेरिकाको ओरेगन राज्य पनि करविरुद्ध मुद्दा दायर गर्ने राज्यहरू मध्ये एक हो। ओरेगनका महान्यायाधिवक्ता डान रेफिल्डले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा बोल्दै ट्रम्पको कर नीतिको कडा विरोध गरेका छन् ।

उनले भने ‘अदालतको निर्णयको आधार यो थियो कि “राष्ट्रपति (डोनाल्ड ट्रम्प) ले आपतकालीन शक्तिको दुरुपयोग गरे। अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले आपतकालीन अधिकारलाई कर लगाउन प्रयोग गरेका छैनन्।”

उनले भने ‘यो निर्णय “धेरै महत्त्वपूर्ण” थियो किनभने तीन न्यायाधीशहरूले सर्वसम्मतिले सरकारको विरुद्धमा फैसला सुनाए।’ अर्को चरणमा यो मुद्दा वाशिंगटन डीसीको संघीय सर्किट अदालतमा लगिनेछ। रेफिल्डले भने ‘राज्य सरकारले आवश्यक परेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्नेछ।’ उनले “यसले सबैलाई असर गर्नेछ” भनेर मुद्दा दायर गर्न बाध्य महसुस गरेको बताउँछन्।

करको मुद्दामा ट्रम्पका निकट सहयोगीले पनि उनको विरोध गरिरहेका छन् । ट्रम्पका एक पूर्व वरिष्ठ आर्थिक सल्लाहकारले कुनै पनि राष्ट्रपतिलाई कंग्रेसको स्वीकृति बिना करका दरहरू निर्धारण गर्ने अधिकार हुनु नहुने बताएका छन् ।

“कांग्रेस भनेको कानून बनाउने र कर नीतिहरू परिवर्तन गर्ने संस्था हो,” ट्रम्पको पहिलो कार्यकालमा उनका आर्थिक सल्लाहकार रहेका स्टीफन मूरले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भने।

ट्रम्पको यो निर्णय युरोपेली संघसँगको व्यापार वार्तामा अमेरिकाको लागि हानिकारक हुन सक्ने उनले स्वीकार गरे ।

उनले भने आफू ट्रम्पको ठूलो समर्थक भएको बताउँदै भने ‘तर मलाई लाग्छ कि कुनै पनि राष्ट्रपतिले अमेरिकी नागरिकहरूलाई कर लगाउने अधिकार दाबी गर्नु देशको लागि खतरनाक छ। राष्ट्रपतिसँग यस प्रकारको एकतर्फी शक्ति हुनु राम्रो कुरा होइन।’

बेलायत-अमेरिका व्यापार सम्झौताको बारेमा सोध्दा, मूरले भने ‘मलाई आशा छ कि केयर स्टारमरले “सहमति भएको सम्झौतालाई अगाडि बढाउनेछन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.