राजावादी आन्दोलनमा सहभागीहरु भन्छन्ः गणतान्त्रिक व्यवस्थाले सडकमा आउन बाध्य गरायो

डिसी नेपाल
१५ जेठ २०८२ १९:५०
248
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुले बिहीबार काठमाडौंमा आयोजना गरेको आन्दोलन गणतन्त्र व्यवस्थाप्रतिको वितृष्णा भएको सहभागीहरुले बताएका छन्।

बिहीबार काठमाडौँको विभिन्न स्थानबाट र्यालीसहित आन्दोलनमा सहभागी भएकाहरुले सरकारका कारण बाध्य भएर सडकमा आउनुपरेको बताए। उनीहरुले गणतन्त्र फाल्नका लागि सडकमा आएको प्रतिक्रिया दिए।

आन्दोलनमा सहभागी रामकुमार रिजालले आन्दोलन राज्यले नै उत्पादन गरेको बताए। उनले देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएको बताए।

उनले ‘राज्यले नै उत्पादन गरेको आन्दोलन हो यो। हामी सडकमा आउने चाहना थिएन्। तर वर्तमान सरकारले बाध्य बनाएर सडकमा आएका हौं। देशमा अत्याचार बढेकाले नेपाली जनता सडकमा आएका हुन्।’

त्यस्तै जनकपुरका विक्रम झाले राजतन्त्र हुँदा नेपालमा स्वाधिनता भएको उल्लेख गर्दै गणतन्त्रले देश बिगारेको बताए। उनले कृषिदेखि भौतिक तथा जिविकोर्पाजनमा समेत जनतासँग सरकार नभएकाले गणतन्त्र नचाहिने बताए।

उनले भने, ‘राजतन्त्र हुँदा नेपाल थियो, नेपालको स्वाधिनता थियो। अहिले नेपाली विदेशिनु परेको छ। अहिले गणतन्त्रले देश बिगारेको छ। गासवास कपासको लागि गाह्रो भएको छ। विद्यार्थीहरु १२ सक्किने वित्तिकै विदेशिन बाध्य छन्। त्यसैले गणतन्त्र फाल्नुपर्छ। राजा ल्याउन शुभ मुर्हत आइसकेको छ। नेपाली जनताले देखेका सपना पूरा हुनेछ।’

त्यस्तै भक्तपुरका नानिराम लामिछानेले गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म साँस्कृति सबै नाश गरेको आरोप लगाए। यी सबै कुरा जिवित गर्न सडकमा आएको बताए।

उनले भने,‘गणतन्त्रले नेपालको धन सम्पत्ति, मान मर्यादा, धर्म संस्कृति सबै नाश भइसकेको छ। यी कुरा जिवित गर्नका लागि आन्दोलनमा आएका हौं। राजाका पालामा यस्तो थिएन। अहिले अन्याय, अत्याचारले सीमा नाघिसकेको छ। यही आन्दोलनले राजतन्त्र पूर्नस्थापना हुन्छ।’

बानेश्वरबाट सहभागी भएकी सस्मिता सुवेदीले हिन्दु धर्मको लागि एजेन्डा बोकेर सडकमा आएको सुनाइन्। उनले गणतन्त्रवादीहरुले दिएको दुःख, गरेको भ्रष्टचारका कारण नै सडकमा आउनुपर्ने बाध्यता रहेको बताइन्।

अर्का सहभागी सोमराज सिंहले गणतन्त्रको नाममा भ्रष्टतन्त्र मौलाएको बताए। अहिलेको गणतन्त्रले देशलाई बेचिसकेको आरोप लगाए।
झापा विर्तामोडबाट आएका देवी काफ्लेले गणतन्त्रवादीहरुले जनतालाई सहि गणतन्त्रको परिभाषा दिएको भए नेपाली जनता सडकमा आउने अवस्था नहुने बताए। उनले विकासका नाममा लुटतन्त्र फैलिएको बताए।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरुको संयुक्त प्रयास भएको आन्दोलनकारीको भनाइ थियो। प्रदर्शनमा सहभागीहरुले हिन्दु ‘राष्ट्र कायम गर, राजसंस्था कायम गर, भ्रष्ट व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.