जीवनदर्शन : अहिंसाको अर्थ
सबैलाई आफ्ना देख्नु अहिंसा
पातञ्जल योगदर्शनमा भनिएको छ,‘मन, वचन र कर्मले कुनै पनि प्राणीलाई दुःख नपुर्याउनु अहिंसा। अहिंसाको पूर्णस्थितिमा त्यसका सान्निध्यमा सबै प्राणी वैरभावदेखि मुक्त हुन्छन्।’ सामान्यतया हामीले कसैलाई मार्नु, काट्न वा कुटपिट गर्नुलाई हिंसा भनेर मान्ने गरेका छौँ।
तर, हिंसा त्यतिमात्र होइन रहेछ। यदि हामीले बोलेका शब्दहरुका कारण मानिसको मन टुक्रिने अवस्था आयो भने हामीले बालेको त्यो बोली हिंसाको उदाहरण हुन पुग्दछ। हामीले हिंसा गर्न हतियार उठाउनै पर्छ भन्ने हुँदैन।
मनभित्र कसैका प्रति खेल्ने आपराधिक विचार र चिन्तन पनि हिंसाकै रुप हुन्। त्यस्तै, हामीले गर्ने अनेक कर्महरुका कारण पनि यदि जगत्ले पीडाको अनुभूति गर्नुपर्ने अवस्था सिर्जना भयो भने त्यो पनि एकप्रकारको हिंसा नै हुन पुग्दछ।
पातञ्जल योग सूत्रले यसैले हिंसाका अनेकन आयामहरुबारे यसरी चर्चा गरेको हो। जसरी भएका भए पनि हिंसाको परिणाम भनेको क्षति हो, विनाश र अभाव हो। हिंसाले विनाश निम्त्याउँदछ। हामीभित्र खेल्ने अनेकन दुर्विचारहरुले मानिसहरुसँगको हाम्रो सम्बन्धमा पनि असर पुर्याउने गर्दछन्। हिंसाले पीडा ल्याउने गर्दछ, दुःख निम्त्याउने गर्दछ र हिंसाले अशान्ति निम्त्याउने गर्दछ।
त्यसैले, यदि हाम्रा कारणले मानिसहरु दुःखी भएका छन् भने त्यहाँ हिंसा भएको हुन सक्दछ। शरीरमा परेको घाउ त सजिलै देख्न सकिन्छ, तर मनको घाउ सजिलै देख्न सकिन्नँ। मानिसले भनेका भनाइले यदि त्यसरी व्यक्तिको अन्तस्करणमा गहिरो असर पुर्याएका छन् भने त्यहाँ हिंसा भएको छ भनेर सजिलै भन्न सकिन्छ। त्यसैले, अहिंसा भनेको मन, वचन र कर्मकै कारणले मानिसलाई दुःखी नबनाउनुको नाम हो।
जहाँ अहिंसा हुन्छ, त्यहाँ शान्ति हुन्छ। गौतम बुद्ध अहिंसाका साक्षात् प्रतिमूर्ति हुनुहुन्थ्यो। त्यसैले उहाँलाई शान्तिका अग्रदूत पनि भनेर भनिन्छ। जब व्यक्तिले हिंसा त्याग्दछ, तब ऊसँग केवल, दया, करुणा र प्रेम मात्र बाँकी रहन्छन्। आपसी वैमनस्य र शत्रुता पनि समाप्त भएर जान्छ। कसैप्रति पनि अनावश्यक आग्रह र दुर्भावना बाँकी रहँदैन। आफूप्रति अन्यथा सोच्ने र अन्यथा गर्नेहरुप्रति पनि अहिंसावादीहरु प्रेम गर्दछन्।
गौतम बुद्ध भन्नुहुन्छ, ‘सबैसँग मैत्री गर। यसो गर्दा प्राणी हत्या गर्नुपर्ने आवश्यकता नै पर्दैन। यही नै अहिंसाको सिद्धान्त हो, अहिंसा नै दया हो।’ अहिंसा विशाल र उदार दर्शन हो। अहिंसाको दर्शनमा कोही पनि पराइ हुँदैन।
सबै आफ्ना हुन्, कोही पनि पराइ छैनन् भन्ने मूल्यमा अहिंसा विकसित भएको हुन्छ। हिंसा प्रतिशोध र ईष्र्याको जगमा जन्मिने गर्दछ। हामीले यदि सबैलाई आफ्ना ठान्न थाल्यौँ भने त्यतिबेला प्रेम पैदा हुन्छ, अनुराग पैदा हुन्छ। जहाँ प्रेम हुन्छ, त्यहाँ कसरी हिंसा हुन्छ र ?
सबै हाम्रा दाजुभाइ
हाम्रो मान्यता पनि छ : ‘वसुधैव कुटुम्बकम्’। यो सारा पृथ्वीमा बसोबास गर्ने मानिस हाम्रा दाजुभाइ हुन्। यी कोही पनि पराइ छैनन्। हामी सबैले सबैलाई मित्रवत् स्नेह गर्ने हो भने साँच्चै नै गौतम बुद्धले भनेजस्तै कोही पनि हिंसाको सिकार हुनुपर्दैन।
मानिसले मानिसलाई स्नेह गर्ने कुरा त समान्य हो। मानिसले पशुप्राणी र बोटवनस्पतिप्रति पनि प्रेम गर्न सक्नुपर्दछ। मानिसको जीवन सहज बनाउने क्रममा हाम्रा वरपर रहेका बोटबिरुवा र पशुप्राणीको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण हुने गर्दछ।
त्यसैले, तिनको सुरक्षा हाम्रो पनि दायित्व हो। जब पशुपक्षी र बोटबिरुवालाई पनि हामीले आफूलाई जत्तिकै मूल्य दिन सुरु गर्नेछौँ, त्यतिखेर हामीले तिनको हत्या गर्नुपर्दछ भन्ने मान्यतामा पनि परिवर्तन आउन थाल्दछ। हामीभित्र उनीहरुप्रतिको प्रेम विकसित भएर जान्छ।
भगवत्गीतामा भनिएको छ, ‘अहिंसा नै परम धर्म हो। अहिंसा नै परम तपस्या हो। अहिंसा नै परम ज्ञान हो र अहिंसा नै मूल बाटो हो।’ गीताको यो निर्देशन नै वास्तवमा मनुष्यताको खास दर्शन हो। हिंसा अपराध हो, पाप हो। हामीले जतिपनि धार्मिक क्रियाकलापहरु गर्ने गर्दछौँ, ती सबैको उद्देश्य धर्म हो, पुण्य कमाउनु हो। यी धार्मिक क्रियाकलापहरुले हामी शुद्ध र निर्मल बन्न सहयोग पु¥याउँछन्। तर, कसैलाई पनि मन, वचन र कर्मले दुःख नदिने जुन अहिंसाको मान्यता छ, त्यसले सोभैm धर्म हुन्छ, केही गर्नुपर्दैन।
धार्मिक क्रियाकलापको अर्थ धर्म गर्ने हो। अहिंसाबाट पनि हामीले परम धर्म प्राप्त गर्न सक्दछौँ। त्यसैले, परम धर्म र पुण्य प्राप्त गर्न सकिन्छ भने किन अहिंसालाई जीवनमा नअपनाउने ? धेरै धार्मिक कामहरु गरेर पनि व्यक्तिबाट मन, वचन र कर्मका माध्यमले अपराधहरु हुने गरेका छन् भने त्यसको कुनै अर्थ हुँदैन।
कुनै धार्मिक क्रियाकलाप नगरेर पनि हामीले मन, वचन र कर्मका कारण कसैलाई दुःख दिइरहेका छैनौँ र सबैप्रति प्रेमभाव प्रकट गरिरहेका छौँ भने त्योभन्दा ठूलो धर्म अर्को के हुन सक्दछ ?
अरुलाई मूल्य दिने कुरा त्यति सजिलो कहाँ छ र ? हामीभित्र अहंकारका अनेक टाकुरीहरु चुलिएर बसेका छन्। ईष्र्या र घमण्डको शिर लिएर आज मान्छे बाँचेको अवस्था छ। यस्तो अवस्थामा अहिंसालाई जीवन व्यवहारमा अनुवाद गर्ने कुरा सजिलो भने छैन। अहिंसालाई गीतामा त्यसैले त परम तपस्या भनिएको छ।
लामो समयको अभ्यास र लगातारको चिन्तनपछि मात्रै हामीले अहिंसा धारण गर्न सक्दछौँ। जब हामीले अहिंसालाई जीवनको आदर्श बनाउन थाल्नेछौँ, त्यसपछि हामी पक्का तपस्वीको स्थानमा पुग्दछौँ। अहिंसालाई परम तपस्या भनेर भनिएको छ। यो सानोतिनो संकल्प र प्रयत्नले सम्भव हुने कुरा होइन।
अहिंसा जीवनको मूलबाटो
अहिंसा ज्ञानहरुको पनि ज्ञान हो। पशुलाई मारेर मासु खानुपर्दछ भन्ने मान्छेहरु कति छन् कति। ती निरीह पशुपक्षी पनि हामीजस्तै पृथ्वी, जल, तेज, वायु र आकाशबाट बनेका हुन् भन्ने ज्ञान नभई तिनलाई बचाउन सकिँदैन।
त्यसैले, अहिंसा भनेको परम ज्ञान हो भनेर भनिएको छ। प्रेम जहिले पनि उच्च चेतनाको प्राप्ति हो। त्यही चेतनालाई नै परम ज्ञान भनेर भनिएको हो। अहिंसा अर्थात् प्रेम भन्नु नै परम ज्ञान हो।
प्रेमविना मनुष्य सभ्यता विकसित हुन सक्दैन। मानिस आपसम मिलेर सामाजिक प्राणीका रुपमा बस्नुका पछाडि यही प्रेमको हात छ। जो अहिंस्रक छ, कसैलाई पनि मन, वचन र कर्मले दुःखी तुल्याउँदैन, त्योभन्दा विशिष्ट कोही हुन सक्दैन।
त्यस्तै अहिंस्रक व्यक्तिको हृदय प्रेमले भरिएको हुन्छ, शान्तिले भरिएको हुन्छ। यही अहिंसाले नै मनुष्यको अस्तित्वलाई जीवित राखेको हुन्छ। त्यसैले, यसलाई जीवनको मूलबाटो भनिएको हो। अहिंसाको बाटो नहिँडी मनुष्य आनन्द, शान्ति र समृद्धिको गन्तव्यमा पुग्न कहिल्यै सक्दैन।
हाम्रो शरीर पुण्यका लागि हो। हामीले यो जीवन पाएका छौँ, केही न केही गर्नका लागि। यही शरीरको प्रयोग गरेर हामीले जीवनको अस्तित्व सुरक्षित गर्न सक्दछौँ। मानिसहरु मरेर गएका छन् र पनि उनीहरु आजसम्म हाम्रालागि स्मरणीय छन्।
आजसम्म त्यसरी सबैको स्मरणका केन्द्र बनेका मानिस त्यही शरीरको सदुपयोगका कारण चर्चित र स्मरणीय बनेका हुन्। यो शरीर त्यसैले पुण्यका लागि हो। यजुर्वेदमा भनिएको छ : ‘तिमी आफ्नो शरीरबाट कसैलाई पीडित नगर।’
शरीर छ भन्दैमा जथाभावी गर्नु कुनै पुरुषार्थ होइन। शरीर र उन्नति, आर्जन र कल्याणका लागि हो। हाम्रो शरीरका कारण यदि कसैले दुःख पाएको छ भने त्यो अपराध हो। त्यो हिंसा हो। मनुष्य हिंसा होइन, प्रेमको पुञ्ज हो। हामी कसैलाई पनि दुःखी बनाउन जन्मिएका होइनौँ, बरु दुःखीलाई प्रसन्न र सुखी बनाउन जन्मिएका हौँ।
अन्धानुकरण हाम्रो समस्या
जहाँ सामाजिक एवम् वातावरणीय असन्तुलन पैदा हुन्छ, त्यहाँ शान्ति र आनन्द पनि प्राप्त गर्न सकिँदैन। हामीले त्यस्तो किसिमको सामाजिक एवम् वातावरणीय सन्तुलन कायम राख्ने विधि भनको नै अहिंसा हो।
अहिंसाबाहेक संसारमा सिद्धि र शान्तिको अर्को कुनै उपाय छैन। हामी विभिन्न किसिमका दुःख र अप्ठ्याराहरुबाट गुज्रिइरहेका छौँ। हामीभित्रको अज्ञान, अकर्मण्यता र अन्धाधुन्ध अनुकरणको जीवनपद्धतिका कारण हामी चौतर्फी समस्याहरुबाट घेरिइरहेका छौँ।
लियो टल्सटायले भनेका छन्, ‘जनसाधारणलाई दुःखबाट मुक्त गर्ने एउटै मात्र तत्त्व अहिंसा हो।’ टल्सटायको भनाइमा ठूलो अर्थ लुकेको छ। उनका अनुसार हिंसाकै कारण हामी दुःखको जीवन जिउन विवश छौँ। हिंसाकै कारण हामीले अनेकन समस्या लिएर बाँच्नुपरेको छ। यी तमाम दुःख र समस्याहरुबाट मुक्तिका लागि पनि अहिंसाको जीवन आवश्यक छ।
हिंसा विष हो भने, अहिंसा ओखती। हिंसाले जहिले पनि हामीलाई खाइरहेको हुन्छ। हिंसा गर्ने पशुप्राणीलाई हेर्दा पनि हामी थाहा पाउन सक्दछौँ कि अहिंसाले कहिल्यै सन्तोष, निर्भयता र सन्तुष्टि दिँदैन। जङ्गलको मृग मारेर हिँडिरहेको सिंहले जहिले पनि पछाडि फर्कँदै हेर्दै गर्दछ। सिंहले यसो गर्नुको अर्थ उसलाई मार्न भनी पछाडि कोही आइरहेको पो छ कि भन्ने हो। यसप्रकार हिंसा कहिल्यै पनि निर्भय हुन सक्दैन भन्ने सत्य स्पष्ट हुन्छ।
जीवनका लागि किन अहिंसा आवश्यक छ ? भन्ने प्रश्नका धेरै उत्तर छन्। जीवनका पलपलमा अहिंसा आवश्यक छ। शान्ति र सन्तुष्टि हिंसाबाट कहिल्यै प्राप्त गर्न सकिँदैन। हिंसाले परस्परको विश्वास, एकता र सहयोग कायम राख्न सक्दैन।
निर्धक्क बाँच्नका लागि हिंसाले कहिल्यै पनि सहयोग पु¥याउँदैन। मानवीय मूल्य र मान्यताको संरक्षण हिंसाबाट कहिल्यै पनि सम्भव हुँदैन। हिंसा भनेकै एकलकाँटे प्रवृत्ति हो। हिंसाले केवल आफ्ना लागि सोच्दछ, अर्काका लागि होइन।
त्यसैले, सामाजिक सद्भाव, एकता र परस्परको विश्वास विकास गर्न अहिंसाजस्तो उत्तम औषधी अर्को छैन भन्ने कुरा प्रस्ट हुन्छ। आजको समाज हिंसाले ग्रस्त छ। मानिसले मन, वचन र कर्मले पशुप्राणी, बोटवनस्पति र मानिसमाथि नै हिंसा गरिरहेको अवस्था छ। यसबाट मुक्त हुनका लागि अहिंसाको आवश्यकता आज हरेक मानिसले बोध गर्नुपर्ने भएको छ।
मानिसभित्र पत्रपत्र जमेर बसेको हिंसाको फोहोर फाल्नका लागि पनि अहिंसा सर्वोत्तम ओखती बन्न सक्दछ। प्रेम नै शान्तिको कारण हो। मनुष्यताको पहिचान पनि प्रेम र अहिंसा नै भएकाले हामीभित्रको हिंसावृत्ति परित्याग गरी अहिंसात्मक जीवनपद्धति अपनाउनेतिर सचेत बन्नु आज हरेक मनुष्य मात्रको धर्म हो।
हामीले गरेका पापका अनेक दाग पखाल्नका लागि पनि हिंसामुक्त जीवन आवश्यक छ। यसैले, अहिंसा नै जीवन र जगत्को मूल हो भन्ने सत्यलाई बुझौँ र यसलाई जीवनमा व्यवहार गर्नेतिर समेत सक्रिय बनौँ।
















Facebook Comment