मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गरौं: मीना पौडेल

नेपालमा अब केवल पुरुष ग्राहक मात्र छैनन्, महिलाहरू पनि यौन सेवाको ग्राहक बन्न थालेका छन् । तर समाजले अझै पनि यौन श्रमलाई लज्जास्पद तथा अवैधानिक दृष्टिले हेर्ने गर्छ ।

424
Shares

काठमाडौं । समाजशास्त्री तथा विश्लेषक मीना पौडेलले आफ्नो हालै प्रकाशित पुस्तक ‘साहस’मार्फत मानव बेचबिखनसम्बन्धी नेपाली समाजको धारणा र व्यवहारप्रति गहिरो प्रश्न उठाएको दाबी गरेकी छिन् । पुस्तक ‘साहस’बारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले मानव बेचबिखन यौन शोषणसँग मात्र तुलना गर्न नहुने पनि बताइन् ।

उनले भनिन्, ‘नेपालमा मानव बेचबिखन भन्नासाथ यौन शोषणसँग मात्र जोडिन्छ, तर बेचबिखनका रुपहरू यौन श्रम, श्रम शोषण, अंग बेचबिखनदेखि कोख विक्रीको अवस्थासम्म पुगेका छन् ।’

पुस्तकले मानव बेचबिखनको परिभाषालाई पुनरावलोकन गर्नुपर्ने र वर्तमान कानुनी तथा सामाजिक संरचना त्यसका लागि पर्याप्त नभएको तर्क प्रस्तुत गरेको छ । पौडेलका अनुसार, ‘हामीले ‘बाँच्नका लागि बेचिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा लिनुपर्छ ।’

पौडेलले नेपाली समाजमा अझै महिलामाथि गहिरो सांस्कृतिक तथा धार्मिक पूर्वाग्रह विद्यमान रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘नेपाल धर्मनिरपेक्ष भएको घोषणा गरिए पनि महिलामाथि संस्कृतिबाट निर्देशित विभेद कायमै छ ।’

पुस्तकले संविधान, मौलिक अधिकार, श्रम ऐन, र राज्य संयन्त्रका अन्य कानुनी आधारहरू भएको समाजमा पनि महिलाले यौनिकताका आधारमा अपमानजनक व्यवहार भोग्नुपर्ने अवस्थालाई गम्भीर समस्या मानेको छ ।

पौडेलले महिलालाई स्वतन्त्र बनाउने हो भने संविधानमै दुई कुरा सच्याउनुपर्ने बताइन् । पहिलो, नागरिकताको लागि पुरुषको आश्रय नचाहिने व्यवस्था र दोस्रो, आर्थिक परनिर्भरताको अन्त्य हो,’उनले भनिन्, ‘नारी स्वतन्त्रताको आधार केवल अधिकार होइन, नागरिकताको स्वतन्त्र पहुँच र आर्थिक साधनमा समान पहुँच पनि हो ।’

यसैगरी पुस्तकमा नेपाली समाजमा किशोर तथा युवा पुरुष यौन श्रमिकहरूको संख्या बढ्दै गएको उल्लेख गरिएको छ । अनुसन्धानको आधारमा पौडेलले भनिन्, ‘नेपालमा अब केवल पुरुष ग्राहक मात्र छैनन्, महिलाहरू पनि यौन सेवाको ग्राहक बन्न थालेका छन् तर समाजले अझै पनि यौन श्रमलाई लज्जास्पद तथा अवैधानिक दृष्टिले हेर्ने गर्छ ।’

उनको भनाइमा, ‘यौन श्रम भनेको बाध्यात्मक श्रम हो । यदि समाजले वैकल्पिक रोजगारको अवसर दिन सकेन भने मानिस आफ्नो शरीर बेचेर बाँच्न बाध्य हुन्छ । यस्तो अवस्थामा उनिहरूप्रति गरिने विभेद पूर्वाग्रही हो ।’

पुस्तकमा समेटिएको अनुसन्धान अनुसार, बेचिएर फर्किएकी महिलाहरू जात, धर्म, उमेर र भौगोलिक पृष्ठभूमिका आधारमा विभेदित व्यवहार भोगिरहेका छन् पौडेल भन्छिन्, ‘बेचिएर फर्किएकी ब्राह्मण र दलित महिलामाथि समाजको दृष्टिकोणमा स्पष्ट अन्तर देखिन्छ । यो सामाजिक न्यायको मूल मुद्दा हो ।’

पौडेलले वर्तमान ३३ प्रतिशत महिला सहभागिताको नीति केवल ‘टाउको गन्ने’शैली भएको उल्लेख गरिन् । उनले भनिन्, ‘एक महिलालाई राख्नु मात्रै होइन, उसको विचार पनि सुन्ने अभ्यास हुनुपर्छ । नत्र प्रतिनिधित्वको अर्थ रहँदैन ।’

यसैगरी मानव बेचबिखनबारे अनुसन्धान गर्नेहरूको संख्या निकै कम रहेको उल्लेख गर्दै पौडेलले नयाँ पुस्तालाई यस विषयमा गम्भीर अनुसन्धान गर्न आग्रह गरिन् । उनले यो  अनुसन्धानको लागि आफ्नो पुस्तक महत्वपूर्ण हुने बताइन् ।

उनले भनिन्, ‘विषय निकै जटिल छ, चुनौति छन्, तर नेपाली समाजलाई बुझ्न अनुसन्धान अपरिहार्य छ । मानव बेचबिखनबारे अनुसन्धान गर्न मेरो  पुस्तक साहसले महत्वपूर्ण भूमिका खेल्ने छ यस्तो पुस्तक अहिलेसम्म बजारमा पहिलो चोटि आएको  हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.