मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

रासस
१९ जेठ २०८२ १०:४१
36
Shares

म्याग्दी । आजभन्दा ७५ वर्षअघि फ्रान्सका मौरिस हर्जोगको नेतृत्वमा भएको अन्नपूर्ण हिमालको ऐतिहासिक आरोहणले नेपालको पर्वतारोहण सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको थियो।

सन् १९५० जुन ३ मा मौरिस हर्जोग र लुईस लचेनलको टोलीले ८ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएको थियो। यसैले अन्नपूर्णलाई ‘जेठो हिमाल’ पनि भनिन्छ। उनीहरूको सफलतामा फ्रान्सले तीन दिनसम्म राष्ट्रिय उत्सव मनाएको थियो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले मौरिस हर्जोगले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामक पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

यो पुस्तक २० करोड प्रतिभन्दा बढी बिक्री भएको पर्यटन व्यवसायीहरूको भनाइ छ, जुन विश्वमा सर्वाधिक बिक्री हुने पुस्तकहरूमध्ये पर्छ। टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले यस पुस्तकले संसारभरका मानिसको आँखा खोलेको र नेपालमा पर्वतारोहणका लागि आकर्षण बढाएको बताए।

३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा मौरिस हर्जोगको दुवै हात र दुवै खुट्टा हिउँले खाएपछि शेर्पाहरूले उनलाई बोकेर आधार शिविरसम्म झारेका थिए। भारतमा सामान्य उपचारपछि फ्रान्स फर्किएका हर्जोगले अमेरिका पुगेर कृत्रिम हातखुट्टा राखेका थिए।

तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए र तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरी हर्जोगलाई ‘गोरखा क्रस’ पदक प्रदान गरी सम्मान गरेको थियो। यो सम्मान नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झण्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो।

सन् २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य र पदमार्ग पहिचान भएको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा ‘मौरिस हर्जोग’ पदमार्ग नामकरण गरेको छ। गुरुङका अनुसार, यो पदमार्ग पहिचान र पूर्वाधार निर्माणपछि पछिल्ला दुई वर्षयता अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग निकै गुल्जार बनेको छ।

नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो।

अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा पहिलो पटक सम्बन्धित भूगोलमै विविध कार्यक्रमका साथ हीरक महोत्सव मनाइँदैछ। अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार, यसअघि काठमाडौँ र पोखरामा मात्र कार्यक्रम गरिन्थ्यो।

अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव आयोजना गरिएको हो। हीरक जयन्तीको अवसरमा आइतबारदेखि नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पदयात्रा सुरु भएको छ। पदयात्रा टोलीमा प्रथम आरोही मौरिसका छोरा माथिएस, नाति इथेन हर्जोग लगायत फ्रान्स, बेलायत, भारत र इटालीका पाहुनाहरू सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार हुने कार्यक्रमको तयारी पूरा भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवा तिलिजा पुनले बताइन्। यस अवसरमा पहिलो आरोही हर्जोग, लुईस लचेनल र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुला सङ्ग्रहालय र मौरिस हर्जोग पदमार्गको उद्घाटन गरिनेछ।

यसैगरी, मंगलबारदेखि नारच्याङ बेसीमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्खौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता सुरु हुँदैछ। बुधबार पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ।

जेठ २२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरणहरू उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिनेछ। सोही दिन हर्जोगले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम पनि तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.