आफ्नो पार्टीले देशव्यापी सार्वजनिक विरोध प्रदर्शन गर्ने इमरान खानको घोषणा, जेलबाटै नेतृत्व गर्ने

डिसी नेपाल
१९ जेठ २०८२ १२:१५
664
Shares

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले आफ्नो पार्टीलाई देशव्यापी सार्वजनिक विरोध प्रदर्शन गर्न आदेश दिएको बताएका छन्, जसको नेतृत्व उनले जेलबाट गर्नेछन्। इमरान खान पाकिस्तानको अदियाला जेलमा छन्।

बीबीसी उर्दू सेवाका अनुसार इमरान खानको सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टबाट आइतबार जारी गरिएको सन्देशमा भनिएको छ, “सबै पार्टी पदाधिकारीहरूका लागि मेरो सन्देश छ कि जोसँग दबाब सहन सक्ने शक्ति छैन उसले पदबाट राजीनामा दिनुपर्छ र दबाब सहन सक्ने साहस भएकाहरूलाई मौका दिनुपर्छ।”

उनले भने, “पाकिस्तानको इतिहासमा कुनै पनि राजनीतिक दलले पाकिस्तान तहरीक-ए-इन्साफले जत्तिको क्रूरताको सामना गरेको छैन। यस्तो अवस्थामा हामीसँग देशव्यापी विरोध प्रदर्शन गर्नु बाहेक अर्को विकल्प छैन।”

इमरान खानले आफ्नो पार्टीलाई राष्ट्रव्यापी जनविरोधको तयारी गर्न सन्देश पठाएको र पार्टी प्रमुखको रूपमा जेलबाटै यसको नेतृत्व आफूले गर्ने बताएका छन्।

भ्रष्टाचार मुद्दामा अदालतले इमरान खानलाई दोषी ठहर गरेपछि उनी जेल सजाय भोगिरहेका छन्। यद्यपि, इमरान खानले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.