छोराले मनपरी खर्च गरेपछि प्रधानमन्त्रीको पद खुस्कियो

डिसी नेपाल
२० जेठ २०८२ १४:३८
2.6k
Shares

काठमाडौं । लोकतन्त्र स्थापनाको बाटोमा रहेको मंगोलिया अहिले राजनीतिक उथलपुथलमा छ। यहाँका प्रधानमन्त्री ओयुन-एर्डेन लुभ्सानामसराईले आफ्ना छोराले राज्यकोषको पैसा अत्याधिक खर्च गरेका कारण विरोधको सामना गरिरहेका छन् । विरोधका बीच उनले संसदमा विश्वासको मत पाउन सकेनन्। विश्वासको मत गुमाएका प्रधानमन्त्रीले मंगलबार बिहान राजीनामा दिए।

मिडिया रिपोर्टहरूका अनुसार प्रधानमन्त्री ओयुन-एर्डेन लुभ्सन्नमस्राईले ४४ मत पाएका छन् । संसदमा बहुमत कायम राख्न उनलाई ६४ मत आवश्यक थियो ।

वास्तवमा, प्रधानमन्त्रीको छोराको खर्चलाई लिएर धेरै हप्तादेखि विरोध प्रदर्शनहरू चलिरहेका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्ने माग गरेका थिए। प्रदर्शनकारीहरूले देशको खनिज सम्पत्तिले व्यावसायिक हित र धनी मानिसहरूलाई फाइदा पुर्‍याएको तर धेरै मङ्गोलियनहरू अझै पनि गरिबीमा बाँचिरहेको बताएका थिए ।

यसपछि संसदमा विश्वासको मतका लागि मतदान भयो। मतदान हुनुभन्दा अघि ओयुन-एर्डेनले यसले अस्थिरता निम्त्याउन सक्ने र मंगोलियाको नयाँ लोकतन्त्र डगमगाउन सक्ने चेतावनी दिएका थिए । उनले भनेका थिए ‘यदि शासन अस्थिर भयो भने आर्थिक अवस्था बिग्रन्छ। राजनीतिक दलहरू सहमतिमा पुग्न असमर्थ छन्। यसले संसदीय शासनमा जनताको विश्वास समाप्त हुन सक्छ र हाम्रो लोकतान्त्रिक संसदीय प्रणाली पतनको खतरा हुन सक्छ।’

आफ्नो गल्ती स्वीकार गर्दै उनले भने ‘मैले ठूला परियोजनाहरूमा धेरै समय समर्पित गरें, जबकि सामाजिक र आन्तरिक राजनीतिक मामिलाहरूमा पर्याप्त ध्यान दिन सकिएन।’ ओयुन-एर्डेन चार वर्षदेखि यस पदमा थिए र यसभन्दा पहिले पनि उनलाई पद त्याग गर्न भनिएको थियो।

गत वर्ष चुनावी सुधारपछि मंगोलियाको संसदीय सिट ७६ बाट बढाएर १२६ पुर्‍याइएको थियो। यसपछि गठबन्धन सरकार गठन भयो। रूस र चीनले घेरिएको मंगोलिया लोकतान्त्रिक देश बन्न संघर्ष गरिरहेको छ। शीतयुद्धको समयमा सोभियत संघको पतन पछि यो लोकतन्त्रमा रूपान्तरण हुँदै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.