प्रतिपक्षीले ससंदमा राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा

डिसी नेपाल
२० जेठ २०८२ १६:२१
304
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताए।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारको कमजोरी उठान गर्नु प्रतिपक्षी दलको कर्तव्य भएकाले उनीहरूले राखेको विषयलाई प्रधानमन्त्रीले गम्भीर भएर सम्वाद गर्नुपर्ने बताएका हुन्।

भिजिट भिसा प्रकरणमा गहिरोसंग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सवैमाथि छानविन हुनुपर्ने उनले बताए। शर्माले यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वभाविक रुपमा पद त्याग गर्नुपर्ने भएपनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको उल्लेख गरे।

कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ। उनले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई गाँसेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताए।

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठेरोमा परेको बताए।

मंगलबार दलहरुबीचको छलफलमा प्रतिपक्षी दलले राजीनामा भन्दा पनि छानविन समिति गठन गर्नुपर्नेमा जोड दिएको उनले बताए। उनले छानविन समिति गठन गरे पनि त्यसको प्रतिवेदन अख्तियारलाई नै दिनुपर्ने र अहिले अख्तियारले नै सोहि मुद्दामा अनुसन्धान गरिरहेकाले पहिला अख्तियारको अनुसन्धान प्रतिवेदनलाई पर्खनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे।

उनले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.