हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो : पूर्वअध्यक्ष रेग्मी

डिसी नेपाल
२० जेठ २०८२ १६:५०
16
Shares

काठमाडौं । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्डरुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पूँजीका रूपमा रहेको बताउनुभएको छ।

अठारौं गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उनले हाम्रा हिमशृङ्खला नेपालको मात्र नभई दक्षिण एसिया र यस क्षेत्रका सभ्यताको जीवन रेखासमेत रहेको बताए।

पूर्वअध्यक्ष रेग्मीले भने, ‘विद्युत् उत्पादन, सिँचाइ तथा पिउने पानीलगायतको प्रमुख स्रोत हिमाल नै हो, यो हाम्रा लागि गौरवको विषय हो । मानव जातिको संरक्षण र सम्वर्द्धनका लागि हिमालको भूमिका महत्त्वपूर्ण छ।’

मानव सभ्यताका लागि हिमाली क्षेत्रको संरक्षण र सम्बर्द्धन आवश्यक भएकामा जोड दिँदै उनले यसको संरक्षणका लागि विश्वलाई ध्यानाकर्षण गराउनुपर्ने बताए।

‘प्रदर्शनीले जलवायु परिवर्तनका कारण हाम्रा सम्पदा र राष्ट्रिय विकासमा परेको प्रभाव, यी सम्पदालाई विश्वमाझ पुर्‍याएर कति लाभ लियौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने सन्देश दिएको छ’, उनले भने, ‘नयाँ योजना निर्माण गर्न र जलवायु परिवर्तनबाट पहिले र अहिलेको हिमालको स्थिति तुलना गरेर यसलाई संरक्षण गर्न विश्वसमुदायलाई झक्झक्याउन सकिन्छ।’

सरोकारवाला निकायलाई हेर्न, बुझ्न र आगामी योजना बनाउन यस्ता प्रदर्शनीले सहयोगसिद्ध हुने उनको भनाइ छ। प्रदर्शनीले विभिन्न पर्यटकीय स्थलको परिचयसँगै नेपालका हिमाली र पहाडी सौन्दर्यलाई उजागार गरेको उनले बताए।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उनलाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.