एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

डिसी नेपाल
२२ जेठ २०८२ १६:०६
236
Shares

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन्।

नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले एमालेले गलत काम काम गरेको कारण आक्रमण भएको वा राम्रो काम गरेको कारण आक्रमण भइरहेको छ भन्ने बारेमा पहिला एमालेका नेता कार्यकर्ता स्पष्ट हुनुपर्ने बताए।

एमाले माथिको आक्रमण गलत काम गरेको कारण नभई राम्रो काम गरेका कारण भएको उनको दाबी छ।

पोखरेलले एमालेमाथि चार खालका शक्तिले आक्रमण गरिरहेका बताए। एमालेमाथि राजवादी, पूर्वपञ्च र मण्डलेहरू, माओवादी र एकीकृत समाजवादी लगायत आफूलाई कम्युनिष्ट भन्ने कम्युनिष्ट विरोधी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन जस्ता लोकप्रियतावादमा विश्वास गर्ने र अन्तर्राष्ट्रिय भूमण्डलीकरणको अवस्थाको कारण नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने शक्तिले सामूहिक रूपमा एमाले माथि आक्रमण गरिरहेको पोखरेलले बताए।

‘एमालेमाथि उनीहरूले सामूहिक रूपमा आक्रमण गरिरहेका छन् किनभने उनीहरूले एमालेलाई आफ्नो शत्रु ठानेका छन्,’ उनले भने।

पोखरेलले नेपालका राजनीतिक दलले देशमा विकासको काम गर्ने पर्याप्त समय नै नपाएका बताए। काम गर्न पाएको छोटा समयमा नै नेपालका राजनीतिक दलले देशका विकासको लागि ठुलो काम गरेको उनको भनाइ छ।

त्यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टीको कामको महत्त्व नबुझ्ने समस्या पार्टीभित्र बढ्दै गएको बताए।

भट्टराईले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बेलामा पनि पार्टीको कामलाई महत्त्व नदिने व्यवहारले पार्टीको काम नचल्ने बताए।

‘जिम्मेवारी लिने, काम नगर्ने प्रवृत्ति अब चल्दैन, विगतमा के थियो त्यता गइँदैन, जिम्मेवारी पुरा गर्नेले जिम्मेवारी छाड्नुपर्छ,’ उनले भने।

पार्टीको प्रचारमा एमालेका कार्यकर्ता कमजोर भएको भन्दै उनले पार्टीको सिङ्गो नेतृत्व यस बारेमा गम्भीर भए पनि कार्यकर्ता पङ्क्ति जिम्मेवार नदेखिएको बताए।

उनले भने,‘समस्या कहाँ हो, समाधान त्यहीबाटै खोजिनु पर्छ, सबैभन्दा पहिलो समस्या पार्टीभित्रै छ, समाधान पनि पार्टीभित्रै खोजिनु पर्छ, बाहिरबाट भएको आक्रमणका विरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टीपङ्क्ति जिम्मेवार भएर लाग्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.