‘मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ’

डिसी नेपाल
२३ जेठ २०८२ २३:१०
28
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको बताएका छन्।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट विमर्श–२०८२’ कार्यक्रममा उनले निजी क्षेत्र चलायमान देखिएकोले अर्थतन्त्र लयमा फर्कन थालेको बताए। उनले बजेटका माध्यमबाट निजी क्षेत्रका माग सम्बोधन गर्ने प्रयास गरिएको बताए।

महासचिव पोखरेलले तरलता नियन्त्रण गर्ने नाममा साधारण खर्च बढिरहेकाले राज्यको पैसा अनुत्पादक काममा खर्च भइरहेको बताए। ‘मौद्रिक सन्तुलनका लागि हामीले पैसा खर्च गरिरहेका छौँ। एकातिर हामीसँग पैसा छैन। अर्कातिर बैंकमा थुप्रिएका पैसालाई व्यवस्थापन गर्ने नाममा पैसा खर्च गरिरहेका छौँ’, उनले भने, ‘राज्यको पैसा तरलता नियन्त्रण गर्ने नाममा खर्च भइरहेको छ।’

राष्ट्र बैंकले तरलता खिच्नुपर्ने बाध्यताको अन्त्य गर्न सके बैंकमा व्यवसायीहरु लगानीका प्रस्ताव लिएर आउने बताए। ‘अर्थतन्त्र लयमा फर्कनका लागि निजी क्षेत्र चलायमान हुनुपर्‍यो। अहिले बाहिरबाट सामान ल्याएर व्यापार गर्ने सक्रिय छन्। राजस्व बढेको छ। आयात वृद्धि भएको छ। आर्थिक क्रियाकलाप बढेर आयात बढेको हो’, उनले भने।

एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले बजेटले अर्थतन्त्र चलायमान गराउने कार्यक्रम समेटिएको बताए। कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले मुलुकको आर्थिक संकट समाधान गर्न वर्तमान सरकार सफल भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.