चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

डिसी नेपाल
२४ जेठ २०८२ १०:३३
16
Shares

काठमाडौं । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन्।

काठमाडौँको पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष तिम्लसेनाले संस्थाका योजनालाई कार्यान्वयन गर्ने र चलचित्र समीक्षालाई बढाउने बताएका छन्।

उनले भने, ‘हामी संस्थाका योजनालाई प्रभावकारी रूपमा अगाडि बढाउनेछौँ र रोकिएको ‘फिक्सन अवार्ड’ लाई निरन्तरता दिनेछौँ।’

नेपाल पत्रकार महासङ्घसँग आबद्ध एसोसियट संस्था ‘फिक्सन’को खुला उपाध्यक्षमा भेषराज कार्की र अनिल यादव, समावेशी उपाध्यक्षमा रीना मोक्तान, महासचिवमा प्रभाकर गौतम, खुला सचिवमा नरेश फुयाँल, समावेशी सचिवमा लक्ष्मी बलायर र कोषाध्यक्षमा समर्पण श्री सर्वसम्मत चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यमा सुशीला तामाङ, सङ्गीता गिरी, अभिमन्यु दीक्षित, प्रशुन सङ्ग्रौला र श्रीजु सरल चयन भए।

नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले ‘फिक्सन’ लामो समयदेखि सक्रिय संस्था भएको उल्लेख गर्दै महासङ्घ सधैँ सहकार्य गर्न तत्पर रहेको बताए।

उनले भने,‘फिल्म हेर्ने संस्कृति बढिरहेको सन्दर्भमा समीक्षा अपरिहार्य छ। यहाँका सदस्यले इमानदारीपूर्वक चलचित्रको निष्पक्ष समीक्षा गरी पाठकलाई सुसूचित गर्नुहुनेछ भन्ने विश्वास छ।’

साधारणसभामा निवर्तमान अध्यक्ष दीपेन्द्र लामा, पूर्वअध्यक्ष यज्ञशर पण्डित, पूर्वमहासचिव नारायण अमृत, निवर्तमान उपाध्यक्ष स्मृति ढुङ्गाना लगायत सहभागी थिए। नयाँ कार्यसमितिले दुई वर्षसम्म ‘फिक्सन’को नेतृत्व गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.