म्याडिसनको नेपाली समाज: अमेरिकी नेपालीहरूको संगम

प्राडा तीर्थप्रसाद मिश्र
३० जेठ २०८२ ११:२२
208
Shares

नेपालीहरू जहाँ गए पनि जहाँ भए पनि उनीहरूले आफ्नो संस्कृति, भाषा र जन्मस्थानप्रति गहिरो अनुराग राखेका छन्। प्रवासमा बस्ने नेपालीहरूको यही विशिष्ट परम्पराबाट संसारभर नेपाली जातिले आफ्नो पृथक् पहिचान कायम गर्न सक्षम भएका हुन्।

इतिहासकालदेखि नै नेपालीहरू रोजगार अवसर र सहज जीवनयापन गर्न जन्मथलोबाट हिन्दुस्थानका विभिन्न भाग तथा बर्मा, श्रीलंका, भोट, चीनलगायतका विभिन्न एसियाली मुलुकमा बसोबास गर्न थालेका थिए।

भोट तथा चीनमा त नेपालीले विशिष्ट मानसम्मान र प्रतिष्ठासमेत पाएका थिए। आसाम र बर्मा (म्यानमार) प्रवासमा जाँदा नेपालीहरूले आफ्नो भाषा र संस्कृतिलाई सँगै लिएर गए। बर्मा गए कर्मसँगै भन्ने भनाइबाट संस्कृति र पहिचान पनि लिएर गएकाे तथ्य पुष्टि हुन जान्छ।

सन् १८१६ को सुगौली सन्धिपश्चात् नेपालले नचाहँदा नचाहँदै पनि अंग्रेजसँग सम्बन्ध राख्नै पर्ने बाध्यता भयो। बाध्यताबाट प्रारम्भ भएको यो सम्बन्धमा कालन्तरमा आवश्यकता बन्न पुग्यो। यही सम्बन्धको कारण नेपालीहरु बेलायतलगायत युरोपका विभिन्न मुलुकमा पुगे।

कोही फर्के, कसैले उतै घरजम गरे। सन् १९४८ मा नेपाल-अमेरिका दौत्य सम्बन्ध कायम भएपछि नेपालीहरूका लागि संयुक्त राज्य अमेरिका आकर्षक गन्तव्य स्थल बन्न पुग्यो। हुन त प्रथम र दोस्रो युद्धताकादेखि नै नेपालीहरूमा अमेरिकी मोह प्रारम्भ भएको र त्यस देशको वैभवबाट प्रभावित भएका थिए।

अमेरिका पुग्ने पहिलो नेपाली को होला यकिन गर्न मुस्किल छ तर सन् १९४८ पश्चात् अमेरिका जाने बाटो नेपालीहरूका लागि खुल्यो। सन् १९५१ पश्चात् नेपालमा अमेरिकी सहयोगबाट विभिन्न परियोजनाहरु सञ्चालन हुन थाले। नेपालमा अमेरिकी दूतावास नै खुल्यो।

नेपालीहरूका लागि छात्रवृत्तिको व्यवस्था भयो। अमेरिकी पिसकाेर छात्रवृत्ति कार्यक्रम नेपालका कुनाकाप्चासम्म पुग्न सक्यो। यी सबै गतिविधिबाट नेपालीहरूमा अमेरिका मोह जाग्यो, सपनाको मुलुक पुग्ने युवापुस्तामा अभूतपूर्व उत्साह पलायो।

उल्लिखित सन्दर्भबाट अमेरिका अध्ययन गर्न पुगेकाहरू उतै बस्न थाले। यी नेपालीहरुले आफन्तलाई पनि उतै बोलाए। अमेरिका पुग्ने नेपालीहरुको सङ्ख्यामा अझै बढोत्तरी हुन पुग्यो।

अझै नेपाली मूलका भुटानी शरणार्थीहरूको लागि अमेरिका पुनर्वास गर्ने कार्यबाट नेपालीहरूको सङ्ख्या बढ्न पुगेको देखिन्छ। अमेरिकी नागरिक भइसकेका नेपालीहरूले आफ्ना मातापितालाई पनि अमेरिकातिरै स्थायी बसोबासको प्रबन्ध मिलाउँदा त अब उमेर पुगेका पाका पुस्ताका नेपालीहरूको संख्या पनि उल्लेख्य हुन पुगेको छ।

यसै पृष्ठभूमिमा अमेरिकाको बिसकन्सिन राज्यको राजधानी म्याडिसन सहरमा गठन भएको नेपाली समाजले नेपाली संस्कृति र भाषासाहित्यको उत्थानका लागि गरेको उत्साहजनक र प्रशंसनीय कार्य पाठकलाई जानकारी गराउने कौतुहल जाग्दा यो लेख सृजना हुन गयो।

अमेरिकाको मध्यभागमा अवस्थित बिसकन्सिन राज्य संयुक्त राज्य अमेरिकाको दुग्ध व्यवसायका लागि ख्याति कमाएकै कारण यसले अमेरिकाे डेरील्यान्ड भन्ने उपनाम पाएको छ।

यस राज्यको राजधानी अमेरिकाका चौथो राष्ट्रपति जेम्स म्याडिसनलाई सम्मान गर्दै म्याडिसन नामकरण भएको थियो। दुई मनोरम मेनलोटा र मोनोना तालको मध्य भागमा अवस्थित अमेरिकाकै एक शिक्षित व्यक्तिहरूले बसोबास गरेको स्थानका रुपमा यो सहर गनिन्छ।

यहाँको बिसकिन्सन विश्वविद्यालय अमेरिकाकै नामुद विश्वविद्यालयका रूपमा गणना हुन्छ। यस विश्वविद्यालयबाट नेपालका धेरै व्यक्तिहरूले उच्च शिक्षा हासिल गरेका छन्। सन् १९५० कै दशकदेखि नेपालीहरूको पहुँच यस विश्वविद्यालयमा पुग्न थालेको हो।

प्रारम्भमा अमेरिकन पिसरलाई नेपाली भाषा पढाउन आएका कृष्ण प्रधान कालन्तरमा यही बसोबास गर्न थाले। सायद यो सहरमा स्थायी रुपमा बसोबास गर्ने उनै पहिलो नेपाली हुन्। उनले सन् १९५८ मा नै नेपाली रेस्टुराँ खोलेका थिए, उक्त रेस्टुरा यस सहरको पहिलो नेपाली चमेनागृह बन्न पुगेको थियो।

यसले नेपाली परिकारको परिचय र स्वाद सहरका स्थानीय र पर्यटकलाई समेत गरायो। हाल यहाँ करिब ६५ घरपरिवारमा लगभग २९० जना नेपालीले बसोबास गर्दै आएका छन्। यसका अतिरिक्त करिब करिब १५० को सङ्ख्यामा नेपाली मूलका भुटानी शरणार्थी पनि यसै सहरमा आजीविका गर्दै छन्।

म्याडिसिनमा नेपालीहरूको बसोबास बढ्दै जाँदा आपसी मेलमिलाप, भेटघाट र सामूहिक रूपमा रचनात्मक कार्य गर्न सघाउ पुगोस् भन्ने हेतुले सन् २००५ मा नेपाल अमेरिका फ्रेन्डसिप एसाेसियसन (नाफा)को स्थापना भयो।

यस संस्थाको उद्देश्य त्यहाँ बसोबास गर्ने नेपालीहरूबीच आपसी सम्बन्ध बढाई सुखदुःखमा साथ दिने, नेपालका उत्सव चाडपर्व र विशेष दिवस सामूहिक रुपमा मनाउने, नेपाली बालबालिकाहरूलाइ नेपाली भाषा सिकाउने तथा नृत्यसम्बन्धी तालिम दिनेलगायत रहेको देखिन्छ।

अमेरिकी कानुन र स्थापित मान्यतालाई सम्मान गर्दै म्याडिसिनवासीलाई नेपाली संस्कृतिका बारेमा परिचय गराई नेपाललाई पर्यटकीय गन्तव्य बनाउने समेत उक्त संस्थाले लक्ष्य राखेको छ।

नेपालमा दैवी विपत्ति पर्दा वा अन्य सामाजिक कार्यमा सहयोग जुटाउन पहल गर्ने, स्थानीय नेपालीहरूमा मातृभूमिप्रतिको प्रेम र सद्भाव जगाउने तथा मुलुकको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने सोच समेत उक्त संस्थाको रहेको देखिन्छ।

संस्थामा आपसी सहमतिमा कार्यकारी समितिको चयन हुने गरेकाे छ तर हालसम्म पनि यस प्रक्रियामा निर्वाचनसम्बन्धी प्रश्न उठेको छैन। यस संस्थाको आफ्नै अलिखित विधान छ भने स्थानीय सरकारमा दर्ता पनि भइसकेको छ।

यसका संस्थापक सभापति, उपसभापति, सचिव र कोषाध्यक्षका रुपमा क्रमश: कृष्ण सिजापति, भरतराज आचार्य, प्रतिमा शर्मा र श्रीधर रानाभाट रहेका थिए भने अर्चना धाख्वा, विमलराज भण्डारी, धन मल्ल श्रेष्ठ, गौतम वज्राचार्य, किरण श्रेष्ठ, लक्ष्मी गुरुङ, मनोज कंसाकार, राधा सिजापति, शिशिर खनाल सदस्य थिए। हाल यस संस्थाको सभापति रवीन्द्र उप्रेती हुनुहुन्छ भने निवर्तमान अध्यक्षमा नेपाली भाषा र साहित्यका अन्वेषक सर्जक आविष्कार भारती रहनुभएको जानकारी पाइएको छ।

बिस्किन्सन विश्वविद्यालयमा तारानाथ शर्मा, गौतमव्रज्र वज्राचार्य, कालीप्रसाद रिजाल जस्ता व्यक्तिहरू सरिक भएका थिए। तारानाथ शर्माले पाताल प्रवास नियात्रा कृति यसै म्याडिसनको सेरोफेरोमा रचना गरेका हुन्। हनुमानढोका दरबारका लेखक गौतमवज्र वज्राचार्य यसै विश्वविद्यालयमा प्राध्यापक भएको प्रसंग उल्लेखनीय छ।

यो संस्थाको अग्रसरतामा दशैं, तिहार, तीज, होली जस्ता पर्व सामूहिक रूपमा मनाउने गरिएको छ। तिहारमा देउसी खेल्दै, मादल बजाउँदै, नाचगान गर्दै, नेपालीको घरआँगनमा पुगी रमाइलो गर्दा नेपाली संस्कृतिबाट स्थानीयसमेत आकर्षित भएको पाइन्छ। नेपालका र अमेरिकी राष्ट्रिय दिवसहरू उल्लासमय वातावरणमा मनाउने गरिएको छ।

साहित्यिक कार्यक्रम समाजकाे एउटा नियमित कार्यक्रम भएको छ। समयसमयमा अालाेपालाे नेपालीको घरमा कोठेगोष्ठी हुनुको साथै विशेष अवसरमा सामूहिक साहित्य अर्चना गोष्ठी पनि हुने गरेकाे छ।

यस्ता साहित्यिक गोष्ठीमा तीन पुस्ताका सर्जकहरूले एकैसाथ रचनावाचन गरेका दृष्टान्त देख्न पाइन्छ। विशेष साहित्यिक कार्यक्रम आयोजना गरी नेपालका सिद्धहस्त स्रष्टा साहित्यकारलाई आमन्त्रण गरी विशेष सम्मान गर्नु यस संस्थाको एक सराहनीय कार्य भएको छ।

यस्ता विशेष कार्यक्रममा हिरण्य भोजपुरी, कृष्ण धरावासी, नीलम निहारिका कार्की, गोविन्द गिरी प्रेरणा, भारती पोखरेल गौतम, न्हु वज्राचार्य, वसन्त श्रेष्ठ, कृष्ण बजगाई, गोविन्द रावत जस्ता साहित्यकारहरूको उपस्थिति भइसकेको संस्थाले जनाएको छ।

समाजकै सक्रियतामा नेपाली साहित्य, संस्कृति, इतिहास जस्ता विषयका पुस्तकहरू सङ्ग्रह गरी एक पुस्तकालय पनि स्थापना गरिएको र हाल समाजकै कुनै एक सदस्यको निवासमा उक्त पुस्तकालय कक्षको व्यवस्थापन भएको छ।

समाजले प्रत्येक आइतबार नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ। यस कक्षाबाट धेरै नेपाली बालबालिकाले नेपाली भाषा सिकेका छन् र साहित्य पनि पढ्न थालेका छन्। कतिपय त कविगोष्ठीमा आफ्ना कविता वाचन गर्न सक्षम पनि भएका छन्।

नेपालमा भएका हजुरबा हजुरआमालगायत अभिभावकहरु आफ्ना नातिनातिनासँग नेपालीमा कुरा गर्न पाउँदा प्रसन्न भएका छन्। यी विद्यार्थीहरूले नेपालीमा नाटक मञ्चन गरेको देख्दा उनीहरूका विदेशी साथी पनि मोहित भएका छन्।

वनभोज आयोजना, रक्तदान, स्वयंसेवक तालिम जस्ता कार्यक्रमहरू पनि संस्थाको प्राथमिकतामा परेका छन्। विसं २०७२ सालमा भूकम्प पीडितहरूका लागि यस संस्थाले करिब ५० लाख रुपैयाँ सङ्कलन गरी नेपाल पठाएको थियो।

संस्थाका सदस्य, दाता तथा स्थानीय निकायबाट प्राप्त हुने चन्दा नै संस्थाको कोष रहेको छ। परिआएको बेलामा चन्दा सङ्कलन गर्ने गरिन्छ। संस्थाले आयको स्थायी स्रोत भने हालसम्म पहिल्याउन सकेको छैन।

संस्थाका लागि कक्षा सञ्चालन, पुस्तकालय स्थापना र संस्थाको कार्यालय स्थापना निकै चुनौतीपूर्ण रहेको छ। यी सबैको चाजोपाजो मिलाउन संस्था अग्रसर देखिन्छ।

संस्थाले स्थानीय सरकारबाट नियमित अनुदान प्राप्त गर्न पहल गर्दै गरेको भए पनि हालसम्म कुनै उल्लेख्य प्रगति हुन सकेको छैन। निकट भविष्यमा नेपालमा पनि संस्थाको सम्पर्क कार्यालय खोल्ने जानकारी प्राप्त भएको छ।

अमेरिकाका प्रायः सबै राज्यमा नेपालीहरूको बसोबास रहेको छ। र, सबै स्थानमा नेपालीहरूले आफ्नो संस्कृतिलाई निरन्तरता दिइरहेकै छन् र दिँदै जाने अपेक्षा समेत गर्न सकिन्छ। यससम्बन्धी सोधखोज हुँदै गर्ला।

म्याडिसनमा नेपालीहरूले गरेका कार्य सराहनीय मात्र होइन प्रशंसनीय र अनुकरणीय पनि छन्। नेपाली भाषा र साहित्य नयाँ पुस्तालाई सिकाउने र साहित्यतर्फ उनीहरूलाई उन्मुख गराउने, नाटक मञ्चन गर्न प्रोत्साहन गर्ने जस्ता कार्य स्तुत्य छन्।

नेपाली संस्कृतिको पहिचान स्थानीय समुदायमाझ गराउँदा नेपालकै श्रीवृद्धि भएको छ। विदेशमा रहेर नेपालको सुख दुःखमा सहभागी हुने यस्ता संस्थासँग नेपाल सरकारको संस्थागत सम्बन्ध विकास र विस्तार गरेमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गर्नेछ। नेपाली संस्कृति, साहित्य र मुलुकप्रति संस्थाले निर्वाह गरेका भूमिकालाई सलाम। साथै नाफाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

(नोटः म सन् २०१७ देखि २०२४ सम्म धेरैपटक म्याडिसन पुगेको छु। यी अवधिका बसाइमा मैले नेपाली समुदायसित भलाकुसारी गर्ने, प्रत्यक्ष अवलोकन गर्ने तथा विभिन्न अन्तरक्रियामा सहभागी हुने सुअवसर प्राप्त गरेको छु। तिनै सूचनाका आधारमा यो आलेख तयार भएको हो। अतः मलाई समाजका महत्त्वपूर्ण सूचना दिने आविष्कार भारती, अर्चना धाख्वा तथा निकिता मिश्रलाई हार्दिकतापूर्वक धन्यवादज्ञापन गर्दछु।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.