नारी शक्तिबाट शक्ति पाएका पृथ्वीनारायण
अरु मानिस जस्तै नारीबाट जन्मेका पृथ्वीनारायण शाहले नारीबाट पनि बलियो उर्जा र शक्ति प्राप्त गरेका थिए। भन्न सकिन्न नारीबाट शिक्षा र उर्जा नपाएका थिए वा उनले पाएको शिक्षालाई ग्रहण नगरेका थिए भने पृथ्वीनारयण के बन्थे र नेपाल यो अवस्थामा हुन्थ्यो हुँदैनथ्यो। यो त एउटा कल्पना मात्र हो, अनुमान मात्र हो, तर यथार्थ नै हाम्रो सामुन्ने छ। हाम्रो यथार्थ यही हो पृथ्वीनारायण थिए नेपाल एकीकरण गरे र त नेपाल छ।
नेपालसँग पृथ्वीनारायण शाहलाई अलग्याउन सकिँदैन। नेपालसँग नेपालको एकीकरण इतिहास अलग्याउन सकिँदैन। न इतिहाससँग न नेपालसँग नै पृथ्वीनारायणलाई अलग्याउन सकिन्छ।
बरु पृथ्वीनारायण कसरी पृथ्वीनारायण भए चासो दिएर खोज्न सकिन्छ। पृथ्वीनारायणलाई पृथ्वीनारायण बनाउने केही हातहरु छन् केही काखहरु छन् र केही साथहरु छन् केही बातहरु छन्। यी नै हातहरु,काखहरु र साथहरु र बातहरु बारे चर्चा गरौं जसले पृथ्वीनारायणलाई खाश पृथ्वीनारायण बनाउन योगदान दिएका छन्।
पृथ्वीनारायण शाहको शिक्षालय गोर्खा दरबार थियो भने कक्षा कोठा आमाको काख थियो। र पृथ्वीनारयणको कक्षा शिक्षक पनि आमा नै थिइन्। आमा आफूले जे पढाइन् र अरुबाट जे पढ्न लाइन्, जे पढ्नलाई निषेध लाइन् अर्थात् पृथ्वीनारायणले एउटा भावी योग्य राजाले के पढ्नुपर्ने र के नपढ्नु पर्ने छुट्याएर अध्ययनको व्यवस्था मिलाइन् यही नै थियो खाश पृथ्वीनारायण बन्ने बलियो आधार।
पृथ्वीनारयण हुने विरुवाको चिल्लो पात मात्रै थिएनन् बरु हुने विरुवालाई जरैदेखि आमाको गतिलो बात र गतिलो साथ थियो। यही बात र साथले पृथ्वीनारायण शाह हुने विरुवाको चिल्लो पात भएर देखा परे। पृथ्वीनारायणलाई जरै देखि चाहिने बात र साथ दिने आमाबारे चर्चा गरौं।
पृथ्वीनारायण शाह कौशल्यावतीको गर्भबाट ७ महिना मै जन्मिए। मानो उनलाई नेपाल एकीकरण गर्न गर्भैदेखि हतार भै सकेको थियो। जे होस् उनको स्वास्थ्य राम्रै भयो। उनी राम्रैसँग हुर्किए। दरबार भित्र एउटा युवराजले पाउने माया सेवा राम्रैसँग पाए। अब उनी क्रमशः किशोर हुँदै गए।
बालककालदेखि नै उनीसँग हरदम आमा शिक्षक थिइन्। आमाको काख कक्षा कोठा थियो। आमाको हरेक बातले उनलाई बर्बादीको बाटो हिँड्नबाट रोकिरहेको थियो र उनलाई सही बाटो पक्रन र अघि बढ्न उत्पे्ररित गरिरहेको थियो। यो पृथ्वीनारायणको लागि निकै महत्वपूर्ण थियो, मूल्यवान थियो। गोर्खालीले नेपाल बनाएर सबैलाई नेपाली बनाउने योग्य नायक राजा पाउनु थियो त्यसै भयो उनी गलत बाटो हिडेनन्।
बालक युवराज पृथ्वीनारायण शाहालाई गोर्खाको भावी योग्य राजा बनाउन चाहिने आवश्यक शिक्षा, साहस, विवेक, आचरण, सैनिक तालिम र नेतृत्व क्षमता सबै भर्ने र भर्न लगाउने पृथ्वीनारायण शाहकी जेठी आमा अर्थात् नरभूपाल शाहकी जेठी रानी चन्द्रप्रभादेवीको ठूलो भूमिका भएको बताउँछन्् इतिहासकारहरु। वास्तवमा यो तथ्यमा आधारित पनि छ। महारानी चन्द्रप्रभाबाट सैद्घान्तिक व्यवहारिक सबै ज्ञान शिक्षा पाएका थिए पृथ्वीनारायण शाहले।
शासन व्यवस्था कसरी चलाउने भन्ने धेरै विषयका व्यवहारिक पक्षसमेत पृथ्वीनारायण शाहले चन्द्रप्रभादेवीले चलाएको शासनलाई छेवैबाट हेरेका थिए। धेरै किसिमले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेका थिए। उनले हरदम आफ्नो छत्रछायाँ र मायामा पृथ्वीनारायणमा सकारात्मक उर्जा भरेकी थिइन्।
योग्य गुरुहरुबाट आवश्यक शिक्षा दिक्षाको बन्दाबस्त मिलाएकी थिइन्। भोगविलासमा लम्पट हुने बाटोबाट जोगाउँदै कर्मठ पृथ्वीनारायण बनाउने आधार निर्माण गर्न महारनी चन्द्रप्रभादेवीको योगदानलाई कसैले पनि नकार्न हुँदैन बरु उच्च मूल्यांकन गर्नु पर्दछ।
महारानी चन्द्रप्रभादेवीको हरदमको साथ र वातले खाश पृथ्वीनारायण बन्ने बलियो आधार बनेको देखिन्छ। चन्द्रप्रभादेवीले निर्माण गरेको बलियो जग नै बलिया पृथ्वीनारायण शाहको आधारभूत जीवन चरित्रको जग थियो। यही जगले नै पृथ्वीनारायणमा शक्ति भरेको थियो।
पृथ्वीनारायण शाहको बालककाल र किशोरकाल आमाहरु कौशल्यावती र चन्द्रप्रभादेवीको माया र छत्रछायाँमा कर्मठधार समातेर अघि बढ्यो र त्यही धारले प्रदान गरेको शक्तिले नेपाल एकीकरण गर्ने आँट र उर्जा दियो पृथ्वीनारायणलाई। समय सधै एकनासले अघि बढ्दैन।
मान्छेका जीवनमा नसोचेका ठूलठूला असफलता पनि आइलाग्छन् र ति असफलताले जतिसुकै उच्च मनोवल भएका मानिसहरुमा पनि निराशा पैदा गरिदिन्छ। कतिपय निराशालाई चिरेर अघि बढ्ने साहस आफूमा पैदा गर्न सफल हुन्छन् भने कतिपय निराशाले पलायन भएर बाटो बदल्छन वा आफ्नो उद्देश्यबाट पछि पनि हट्छन्। यो विश्वव्यापी सच्चाई हो।
यो सच्चाइ पृथ्वीनारायण शाहमा पनि लागू हुन्छ, भएको छ। केही गम्भीर धक्का लागेपछि आफ्नो उद्देश्यबाट पलायन हुनेसम्म निराशा पृथ्वीनारायण शाहमा आएको थियो। युवा राजा पृथ्वीनारायण यति सम्म निराश भएका थिए कि अब उनी नेपाल एकीकरण अभियान अघि बढाउने छैनन् र यसलाई त्यागिदिने सोचसम्म उनमा आइसकेको थियो।
यो थाहा पाएर उनको निराशालाई आशा र विश्वासमा बदल्न सेलाई सकेका पृथ्वीनारायणमा उर्जा भरेर तताउने र साहसी बनाउने एकजना नारीको भूमिका अघि नल्याउनु इतिहास प्रति अन्याय हुन्छ। ती नारी जसले वास्तवमा पृथ्वीनारायणको शोकलाई शक्तिमा बदल्देकी थिइन् र साँचो अर्थमा भावी नेपाल एकीकरणका नायकमा आउन लागेको पलायनलाई रोक्ने ऐतिहासिक भूमिका निभाएकी थिइन्। चर्चा उनैको गरौं।
राजा पृथ्वीनारायण शाहले जनमतसमेत बुझेर बनाएका आफूले समेत धेरै विश्वास तथा भरोषा गरेका काजी एवं प्रधान सेनापति कालु पाँडे अर्थात् बंशीधर पाँडेको कीर्तिपुरको लडाइँमा भएको मृत्यु तथा पराजयले पृथ्वीनारायणमा निकै ठूलो मानसिक आघात र निराशा दिएको थियो। त्यसबाट पनि उनी जसोतसो सम्हालिँदै नेपाल एकीकरण अभियानको खातिर युद्ध र आक्रमणलाई जारी राखे।
फेरि उनको जीवनमा अर्को ठूलो धक्का आइलाग्यो जसलाई उनले सहजै पचाउन सकेनन्। उनी माथि ठूलै निराशाको बादल मडारियो जसले उनमा एकीकरण अभियान त्याग्ने हदसम्मको निराशा पैदा गराइदियो। पृथ्वीनारायण शाहको यही निराशालाई दूर गर्ने साहस र उर्जा भर्ने नारी सुरप्रभा बस्न्यातको ऐतिहासिक भूमिकाबारे यहाँ चर्चा गरौं।
कालु पाँडेको मृत्युपछि पृथ्वीनारायणले त्यतिकै विश्वास र भरोषा गरेका शिवरामसिंह बस्न्यातलाई काजी र प्रधानसेनापतिको जिम्मा दिएका थिए। पृथ्वीनारायणको दूर्भाग्य सांगामा भएका छलछाम र अप्रत्याशित आक्रमणको प्रतिरोध गर्ने युद्धमा उनको पनि मृत्यु भएको दुःखद् समाचार युवा राजा पृथ्वीनारायण शाहले सुन्नुप¥यो। जसले पृथ्वीनारायणमा ठूलो आघात पु¥यायो र ठूलै निराशा पैदा गर्यो।
जसलाई हेरेर उनले बस्नेतको तरबार र पाँडेको ढाल भनेका थिए। लाग्यो अव उनी संग ढाल पनि छैन तरबार पनि छैन, ढाल र तरबार नभएको दरबार मात्रै छ। यस्तो ढाल र तरबार नभएको रित्तो दरबारले म अब युद्ध जित्न सक्तिन भन्ने सोचेर निराश पृथ्वीनारायण शाह झोक्राएर पल्टिमात्र रहेको खबरले गोर्खालीजनमा पनि चरम निराशा पैदा गरेको थियो। यही निराशामा साहस र उर्जा भएर आइन् भरखरै वीरगति प्राप्त गरेका काजी तथा प्रधान सेनापति शिवरामसिंह बस्न्यातकी विधवा सुरप्रभा बस्न्यात।
पतिको काजक्रिया सकेपछि सेतो वश्त्रधारी विदवा नारी राजा पृथ्वीनारायण शाहलाई भेट्न आइन् आफ्ना नावालक चारजना छोराहरु लिएर। उनलाई पति वियोगको आलो पीडा त छँदै थियो। राजाको निराशाले उनमा झन छटपटी र पीडा थपेको रहेछ। उनले राजा पृथ्वीनारायण शाहलाई भनिछन्-सरकार हजुरको योग्य सेनापति गयो म एक गोर्खाली प्रजाको सेनापति पनि गयो पति पनि गयो र पनि म निराश भएको छैन। हजुर राजा भएर यसरी निराश भएर बस्न सुहाउँदैन। उ एउटा सिंह थियो गयो। तर उसले यी चारवटा डम्मरु छोडेर गएको छ। यिनीहरुलाई सानै देखि तालिम दिँदै गर्नुहोस् ठूला भएपछि यिनीहरु पनि सिंह भन्दा कम हुँदैनन्।’
‘सरकार उठ्नुहोस् जाग्नुहोस् सिंहहरु सकिए पनि अरु गोर्खाली जनहरु सकिएका छैनन् युद्ध जितेरै छोड्छन् गोर्खालीहरुले। यसो भन्दै शुरप्रभाले आफ्ना नाबालक छोराहरु (बहादुर सिंहका डम्मरुहरु) राजाको काखमा राखिदिइन्।
चार डम्मरुहरुलाई रुँदै अंगालो मारे राजा पृथ्वीनारायणले। लाग्छ तिनै आँसुसँगै उनका सबै निराशा बगेर बाहिर गयो। मानो सुकेका पृथ्वीनारायणले आफ्ना आँसुले आफैंलाई सिन्चित गरेर आफ्नो जीवनमा पुनः हरियाली भरे। उर्जा र साहसले भरिएका राजा पृथ्वीनारायण शाह पुनः युद्धका योजना बनाउँदै एकीकरण अभियानमा जुटे।
उनलाई शुरप्रभाले दिएका शिवरामसिंहका डम्मरुहरु ठूला, शूरा र दक्ष हुँदै गए। उनीहरु चारै जनाले नेपाल एकीकरण अभियानमा ठूलै पराक्रमकोसाथ योगदान गरे। उनीहरुमा केहरसिंह बाबू जस्तै काजी तथा प्रधानसेनापति भए। अन्य जेठा, साइला र कान्छा क्रमश काजी नाहरसिंह, काजी अभिमानसिंह र काजी धौकलसिंह बस्नेत हुन।
नारी शक्ति पनि हुन्,बुद्धि पनि हुन्, साहस र उच्च मनोबल पनि हुन्। भर्खरै युद्धमा पति गुमाइकी एक विधवा युवती शूरप्रभा आफ्ना चारैजना नाबालक छोराहरुलाई बलिदानी बाटोमा लामवद्ध गराउँछिन् नेपाल एकीकरणको खातिर।
यस्ता धेरै साहसी आमा र पत्नीहरुका साहस सपना र बलिदानले समेत बनेको नेपाललाई चिर्न, चिराउन र चोराउन नखोज। केवल चिरायु बनाउन मात्र खोज। अमर बलियो नेपाल बनाउन मात्र खोज।
















Facebook Comment