‘तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन’
महेन्द्रनगर (धनुषा)। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच समन्वय र सहकार्यविना मुलुकको विकास सम्भावना नहुने धारणा राखेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको ‘अन्तर-सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नहुँदा कार्यसम्पादनमा अन्योलको अवस्था रहेको बताए।
आपसी सहकार्य र समन्वयको अभावका कारण जनता केन्द्रित कार्यसम्पादन नहुँदा नागरिकमा वर्तमान शासन व्यवस्थाप्रति निराशा र गुनासा बढ्न थालेका मुख्यमन्त्री सिंहले उल्लेख गरे। तीनै तहका सरकारबीच समन्वय र सहकार्यबिना पूर्वाधार विकास, रोजगारी, शिक्षा, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा प्रभावकारी नतिजा हासिल गर्न नसकिने उनको भनाइ छ।
मुख्यमन्त्री सिंहले संविधान र कानुनले दिएका अधिकारअनुसार तीनै तहका सरकार आ-आफ्नो क्षेत्राधिकारभित्र रहेर मुलुकमा रहेका विद्यमान समस्या समाधान गर्न सकिनेमा जोड दिए। संघ, प्रदेश र स्थानीय सरकारका काम आमनागरिकले अनुभूति गरेमा मुलुक आर्थिक समृद्धिको मार्गतर्फ अगाडि बढ्ने उनले धारणा राखे।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान लोकतान्त्रिक शासन व्यवस्था उत्कृष्ट प्रणाली भएको बताउँदै यसलाई संरक्षण गर्दै जनताका चाहनाअनुसार कार्यसम्पादनमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए। संविधान र कानुनले दिएका अधिकारका विषयमा पटकपटक विवाद हुने गरेकाले विकासले गति लिन नसकेको उनले उल्लेख गरे।
प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले संघीयता सफल बनाउन सबै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउँदै संघ र प्रदेश सरकार नीतिगत नेतृत्वमा केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘संघ र प्रदेशले नीतिगत स्पष्टता दिनुपर्छ, स्थानीय तहले कार्यान्वयनमा जोड दिनुपर्छ’, उनले भने, ‘त्यसपछि मुलुक समृद्ध बन्दै जान्छ र संघीयताको सौन्दर्य झल्किन्छ।’
मधेस प्रदेशका पूर्वनीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झासहित अन्तरक्रियामा सहभागी वक्ताले अन्तर सरकारका विषयमा आआफ्नो धारणा राखेका थिए। कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरूलगायको सहभागिता थियो।







डिसी नेपाल








Facebook Comment