देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त होऔं : महामन्त्री थापा

डिसी नेपाल
२२ असार २०८२ ६:२५
12
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद र खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन्।

परिवर्तन अभियान नेपालले काठमाडौंको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले देशमा केही राम्रो भए पनि सोचे जस्तो काम हुन नसकेको बताउँदै बर्बाद र खतरामा रहेको भ्रमबाट मुक्त हुनुपर्ने बताए।

महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्नुपर्ने बताए। उनले भने, “सबै खत्तम भयो, देशमा केही काम भएन। बर्बाद हुँदैछ भन्ने भ्रम छ। कसैले सबै ठीक भइरहेको र सबै बेठिक भइरहेको छ भन्यो भने दुवै गलत हुन्छ। केही राम्रो भएको छ, थप राम्रो गर्न सकिएको छैन। त्यसैले गुनासो गरेर मात्रै हुँदैन, अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्छ । अरुलाई गाली मात्रै होइन, हामी जिम्मा लिन्छौँ भन्न सक्नुपर्छ।”

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले विद्यार्थी भविष्यको कर्णधार भएकाले आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्र अध्ययनरत ७१ विद्यालयबाट एसइईमा सफल भएका विद्यार्थीलाई सम्मान गरिएको थियो।

यहाँका विभिन्न विद्यालयबाट १७ जनाले ४ जिपिए ल्याएका छन्। यी १७ जना विद्यार्थीलाई कार्यक्रममा र अन्य विद्यार्थीलाई सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, काठमाडौं महानगरपालिका-२६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर नगरपालिका-५ का अध्यक्ष शम्भु फुयाल, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ३ का अध्यक्ष परशुराम अर्याललगायतले शुभकामना दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.