भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

डिसी नेपाल
२५ असार २०८२ ११:३८
2.2k
Shares

काठमाडौं । भीषण वर्षा, बाढी र पहिरोले धेरै मानिसहरूको ज्यान गएको र कैयौं बेपत्ता भएको दुखद् खबर आइरहेका बेला एउटा घरपालुवा कुकुरले ६७ जना गाउँलेको ज्यान बचाएको घटना अहिले चर्चामा छ । भारतको हिमाचल प्रदेशको मन्डी जिल्लाको सियाठी गाउँमा रकी नामको घरपालुवा कुकुरले गाउँलेहरूलाई बचाएको हो ।

यो घटना जुन २९ को राति साढे १२ बजेदेखि १ बजेसम्म आधा घण्टाको बीचमा भएको हो । यतिबेला त्यस क्षेत्रमा भारी वर्षाका कारण अचानक ठूलो पहिरो गएको थियो।

रकी ललित कुमार नामक व्यक्तिको घरपालुवा कुकुर हो। ऊ घरको तल्लो तलामा सुतिरहेको थियो। पहिरो जानुभन्दा ठिक अगाडि रकी अचानक भुक्न र ठूलो स्वरले रुन थाल्यो । गाउँलेहरूका अनुसार रकीको आवाजले उसले कुनै खतराको संकेत गरिरहेको भान हुन्थ्यो । ललित कुमारले भने, ‘कुकुरको अनौठो आवाजले म ब्युँझिएँ। जब म तल गएँ, मैले देखेँ – भित्तामा ठूलो दरार थियो र पानी तीव्र गतिमा आउँदै थियो।’

यो चेतावनीलाई गम्भीरतापूर्वक लिँदै ललित तुरुन्तै दोस्रो तलाबाट तल दौडे, आफ्नो कुकुर उठाए र परिवारका बाँकी सदस्यहरूलाई उठाए। त्यसपछि उनी घर-घर गएर छिमेकीहरूलाई सचेत गराउन थाले। आफ्नो अग्लो घरबाट उनले माथिबाट भग्नावशेष र पानी सम्पूर्ण गाउँतिर बग्दै गरेको देख्न सक्थे।

ललितको सतर्कता र रकीको समयमै चेतावनीको कारण गाउँका सबै २२ परिवारलाई समयमै सुरक्षित स्थानमा लगियो। मानिसहरूले आफ्नो घर र सामान छोड्नु परे पनि कसैले पनि ज्यान गुमाएनन्।

स्थानीय जनता र प्रशासनले रकीको बहादुरी र ललितको तत्परताको प्रशंसा गरिरहेका छन्। गाउँलेहरूका अनुसार यदि रकीले समयमै चेतावनी नदिएको भए यो दुर्घटना घातक हुन सक्थ्यो। अहिले रकीले गाउँमा ‘हिरो’ को दर्जा पाएको छ, र सबैले उसलाई मायाले ‘जांबाज रकी’ भनेर बोलाइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.