बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना लापरवाही भएको गुनासो

डिसी नेपाल
२६ असार २०८२ १४:०८
12
Shares

काठमाडौं । हालै देशभर बाढी र पहिरोका घटनाले निम्त्याएको जनधनको क्षति र आपत्कालिन व्यवस्थापनको अवस्थाबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८३ औँ बैठकले गम्भीर चासो व्यक्त गरेको छ।

बिहीबार बसेको उक्त बैठकमा सांसदहरूले उद्धार, राहत र पुनस्र्थापनाको काममा सरकार तथा स्थानीय तहको उदासिनता रहेको भन्दै गृहमन्त्रीलाई समितिमा नै बोलाएर विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन्।

कांग्रेसका सांसद युवराज शर्माले भोटेकोशी क्षेत्रमा अत्यधिक वर्षाको कारण आएको बाढीबारे प्रष्ट जानकारी लिनु आवश्यक रहेको धारणा राखे। उनले भने, ‘बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनामा हामीले लापरवाही गरिरहेका छौं। भोटेकोशीमा अति वर्षा भएर बाढी आएको हो कि हिमताल फुटेको हो, त्यसको यथार्थ पत्ता लगाएर सरकार र स्थानीय निकाय सबैले सक्रिय हुनुपर्ने अवस्था छ।’

शर्माले बाढीको प्रकृति र स्रोतबारे वैज्ञानिक अध्ययन गरी त्यसको आधारमा नीति निर्माण र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। साथै उनले गृहमन्त्रीलाई समितिमा उपस्थित गराई छलफल गर्नुपर्ने प्रस्ताव समेत गरे।

यसैबीच, समितिका सचिव सञ्जय दाहालले २४ गते रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति पु‍र्याएको जानकारी दिए। ‘अहिले घाइतेको उपचारमा समस्या छ, सडक, विद्युत र सञ्चार सम्पर्क पूर्णरूपमा अवरुद्ध छ,’ उनले भने,‘विकट भूगोलका कारण राहत पनि पुग्न सकेको छैन। प्रमुख जिल्ला अधिकारीले बारम्बार हेभी उपकरण माग गर्दा पनि हालसम्म त्यसको आपूर्ति हुन सकेको छैन।’

समितिले सरकारलाई बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, उपचार, पुनस्र्थापना र आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई आग्रह समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.