विद्यासँग बेखुस कांग्रेस : बूढानीलकण्ठलाई बालकोटको बार्दली नै प्यारो!
काठमाडौं । नेपाली राजनीतिमा पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयले यतिबेला विशेष चर्चा पाइरहेको छ। कांग्रेस मुख्यालय सानेपा, एमाले मुख्यालय च्यासलदेखि चिया चौतारोमा यो गर्मागर्मी बहसको विषय बनेको छ।
दुई कार्यकाल राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले यही १४ असारमा नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै राजनीतिमा नयाँ तरंग पैदा भएको थियो।
मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी थिइन्। ‘पार्टी सदस्यता नवीकरण गरेको छु, एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,’ उनले भनेकी थिइन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवाका लागि पनि यो टाउको दुखाइको विषय बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले त केही महिना अगाडिदेखि नै भण्डारीको सक्रियताको अप्रत्यक्ष रूपमा विरोध गरिरहेकै थिए । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरूले पनि भण्डारीको राजनीतिक सक्रियताबारे प्रश्न उठाएका छन्।
एक सातासम्म सानेपामा चलेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुन्न भन्ने विषय गम्भीरतापूर्वक उठाएका थिए।
असार १६ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक असार २३ गते सकिएको थियो। बैठकमा पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई पार्टीले संस्थागत रूपमै नोटिसमा राख्नुपर्ने विषय उठेको थियो। तर, कांग्रेसले लिखित रूपमा भने केही निर्णय गरेन।
देउवाले यो विषयलाई पार्टीको निर्णयमा समावेश गराएनन्। तर, उनले ओलीलाई भेटेर एमालेको ध्यानाकर्षण गराएका छन्। उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकसहित उनी २४ असार मंगलबार बालुवाटार पुगेका थिए।
ओलीको साथमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल थिए। त्यसक्रममा भण्डारीको राजनीतिमा पुनरागमनप्रति कांग्रेसले आपत्ति जनाएको बताइएको छ।
‘भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको विषय हाम्रो केन्द्रीय समिति बैठकमा पनि उठेको थियो। हाम्रो केन्द्रीय कार्यसमितिले नोटिसमा राखेको छ। यो विषय कुनै दल बलियो हुने कि कमजोर हुनेभन्दा पनि प्रणालीमाथि आघात हो भन्ने हाम्रो निष्कर्ष छ,’ स्रोतका अनुसार भेटमा देउवाले भनेका थिए, ‘राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हो। उहाँ नेपाली सेनाको परमाधिपति भइसकेको मानिस भएकोले पार्टी राजनीतिमा आउनु राम्रो होइन।’
‘परमाधिपति भएको मानिस एउटा पार्टीको नेता भएर आउन मिल्छ ?’ भन्दै देउवाले प्रश्न गरेका थिए । ‘देशको राष्ट्रप्रमुख हुँदाखेरि पाएको सम्मान दिमागबाट डिलिट हुन सक्दैन। त्यो कुरा बाहिर नजाओस् भनेर सुरक्षा दिने हो। त्यो कुरा दुरूपयोग हुन्छ कि हुँदैन ? के लोभ गरेको हो? के गर्न खोजेको हो? किन एमालेको सदस्यता नवीकरण गरेको हो?,’ देउवाले प्रश्नै प्रश्न तेर्स्याएका थिए।
देउवाले भण्डारी सक्रिय राजनीतिमा फर्किंदा जनताले प्रणालीप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाउने चिन्ता व्यक्त गरेका थिए। उनले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न एमालेले निर्णय गर्नुपर्ने बताएका थिए।
प्रतिउत्तरमा ओलीले एमालेको चाहनाअनुसार भण्डारीले क्रियाशील सदस्यता नवीकरण नगरेको बताएका थिए। उनले व्यक्तिको इच्छालाई निषेध गर्न नसकिने धारणासमेत राखेका थिए।
ओली पनि भण्डारीलाई सक्रिय राजनीतिमा देख्न चाहँदैनन्। भण्डारी राजनीतिमा फर्किंदा उनी ओलीकै विकल्पका रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ र ओलीलाई सबैभन्दा खट्किएको कुरा नै यही हो । यो ओलीका लागि सह्य विषय होइन। यस्तो अवस्थामा देउवाको टिप्पणी र सुझावले ओलीलाई टेको मिलेको छ। देउवा भण्डारीप्रति नकारात्मक बन्दै बाल्कोटलाई साथ दिन उभिनुले ओलीलाई सहज तुल्याउने अनुमान गरिएको छ।
कांग्रेस बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले भण्डारीको राजनीतिक पुनरागमनलाई ‘नोटिस’ गर्नुपर्ने बताएका थिए। कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले राष्ट्रपति र उपराष्ट्रपति भइसकेकाहरू फेरि सक्रिय राजनीतिमा फर्किंदा नागरिकमा वितृष्णा बढ्ने धारणा राखेका थिए।
ठूला दलका नेतृ्त्वले भण्डारीको पुनरागमनलाई मन नपराएको भए पनि नेपालको संविधान र अन्य कुनै कानुनले भने पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको छैन। असन्तुष्टी जनाइरहेका दलहरू नेकपा एमाले र नेपाली कांग्रेसकै विधानले पनि पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीति गर्न बन्देज लगाउँदैनन् ।
भण्डारी फर्किने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने उनलाई पार्टीको नेतृत्वमा फर्किन नदिने प्रयास थालेका छन् । भदौ तेस्रो साता हुने विधान महाधिवेशनबाट विधानमै पूर्व ‘सम्माननीय’ लाई पार्टीको नेतृत्वमा निर्वाचित हुन नमिल्ने व्यवस्था गर्ने ओली समूहको प्रयास छ । यो प्रयासमा ओली कत्तिको सफल हुन्छन् भनन्ने विषयमा अहिले चासो बढेको छ।







डिसी नेपाल








Facebook Comment