तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत भू–क्षय नियन्त्रण गरिँदै

डिसी नेपाल
२७ असार २०८२ २३:३३
24
Shares

तानसेन (पाल्पा)। तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत पहिरो तथा भू–क्षय नियन्त्रण गर्न थालिएको छ। तानसेनस्थित लामिडाँडाको सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण र्गा थालिएको हो।

तानसेन नगरपालिका–६ वडा कार्यालयको स्रोतसाधन व्यवस्थापन, भू तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक सहयोग, सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा पहिरो जोखिम क्षेत्रमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरिएको तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले जानकारी दिए।

उनका अनुसार यो प्रविधिमार्फत ढुङ्गा, माटो, घाँसलगायत वस्तुको प्रयोग गरी पहिरो खस्ने क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनको कार्य गरिन्छ। ‘यहाँ पहिरोका कारण दुई घर र विद्यालय जोखिममा रहेका थिए। पहिरोबाट घर र विद्यालय जोगाउन बायो इञ्जिनियरिङअन्तर्गत बाँस, अम्रिसो, घाँस रोपिएको हो’, उनले भने।

पहिरोका कारण घर र विद्यालय जोखिममा परेपछि क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रविधि प्रयोग गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अहिलेसम्म दुई पटक भारी वर्षा भए पनि माटो जमेर बसेकाले पहिरो तथा भू–क्षय रोकथाम भएको विश्वास लिइएको उल्लेख गरे।

तत्काल ३५ मिटर लम्बाइमा बाँसको वाल उठाएर पहिरो तथा भू–क्षय रोकथाम नियन्त्रणको प्रयास गरिएको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश श्रेष्ठले जानकारी दिए। उनले भने, ‘पाँच÷छ मिटर गहिराइमा बाँस गाडिएको छ, यसले माटो बग्नलाई रोक्छ।’

श्रेष्ठका अनुसार बायो इन्जिनियरिङले भू–क्षय, पहिरो जानबाट रोक्नुका साथै हरियाली बनाउने भएकाले यो प्रभावकारी उपाय हुनसक्ने धारणा राखे। उनले यो प्रविधिमार्फत निर्माण गरिएका संरचना र आसपासका क्षेत्रमा पानीले माटो बगाएर नोक्सान हुनबाट जोखिने बताए।

‘हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने छ। माटोको करिब पाँच इन्च माथिको भागमा रुख बिरुवाका जराले समाएर बलियो बनाउनका लागि बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिन्छ। हेर्दा सामान्य देखिए पनि माटो काट्ने समस्या अन्त्य गर्न नयाँ संरचना निर्माण गर्ने क्षेत्रमा यो प्रविधि महत्त्वपूर्ण र प्रभावकारी हुनेछ’, उनले भने।

यो प्रविधि पहाडी क्षेत्रमा प्रभावकारी भएको श्रेष्ठको भनाइ छ। पछिल्लो समय पहाडका कतिपय ठाउँहरूमा यो प्रविधि प्रयोग गरी पहिरो र भू–क्षय रोक्ने प्रयास थालिएको बताउँदै उहाँले यो सरल, तुलनात्मक रूपमा कम खर्चिलो र प्रभावकारी देखिएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.