मन्त्रालयको पुनर्संरचना, कूटनीतिक सक्रियता
काठमाडाैं। विसं २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा डा आरजु राणा देउवा नियुक्त भएयता नेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरु थपिएका छन् भने उनको कूटनीतिक ‘इङ्गेजमेन्ट’बाट परराष्ट्र नीति थप सुदृढ बन्न पुगेको छ।
यो एक बर्षमा मन्त्रालयबाट नेपालको परराष्ट्र सम्बन्धलाई थप सबल बनाउने पक्षमा महत्वपूर्ण कामहरु भएका छन्। विश्व जगत एवं विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरुमा मन्त्री डा राणाले नेपालका राष्ट्रिय एजेण्डाहरु राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन्।
कुनै पनि परराष्ट्रमन्त्रीको क्षमता र कार्यकुशलताको मापन उसको कूटनीतिक ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय एजेण्डासहितका अन्तर्राष्ट्रिय भ्रमणहरुबाट पनि गर्ने गरिन्छ।
परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता भनेको धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दाहरुको वकालत पनि हो। यसबाट पनि मुलुकका पक्षमा कूटनीतिक कौशलता प्रदर्शन हुन्छ।
उच्चस्तरीय भ्रमण र कूटनीतिक ‘इङ्गेजमेन्ट’
डा राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि करिब महिना दिनमै भारतीय विदेशमन्त्री डा एश जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गइन्। उनले समकक्षीका अतिरिक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गत भदौ ३ गते गरेको सो भेटमा नेपाल भारत सम्बन्धका विविध विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री मोदी र विदेशमन्त्री डा जयशंकरसँग भएको सो भेटवार्ताका क्रममा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, नेपालका लागि भारतबाट अतिरिक्त हवाई रुट, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, सीमा पूर्वाधारलगायतका समग्र पक्षमा छलफल एवं सहमति भएको थियो।
साथै दुवै पक्ष नियमित द्विपक्षीय संयन्त्रलगायत विभिन्न तहमा सहकार्य र संलग्नतालाई निरन्तरता दिन सहमत भएबमोजिम दुई देशबीच कूटनीतिक इङ्गेजमेन्ट भइरहेको छ। मन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच गत फागुन ४ मा ओमनको मस्कटमा र गत चैत ५ मा नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भयो ।
त्यस्तै उच्चस्तरीय भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गरे। भ्रमणका क्रममा लामो समयदेखि थाँती रहेको चीनसँग बिआरआइ सम्झौता भयो।
ओएनएमसँगै मन्त्रालयको पुनर्संरचना
विश्वमा कूटनीतिका आयामहरु थपिँदै छन्, यसका दायराहरु थप विस्तारित हुँदैछन् । पाँच बर्षअघि केही सयको सङ्ख्यामा नेपाली रहेका देश तथा स्थानमा अहिले दशौँ हजार पुगिसकेका हुन्छन् । तर ती सबै ठाउँमा मन्त्रालयको सेवा विस्तार सम्भव छैन ।
मन्त्रालयमा सीमित जनशक्ति छ तर नेपालीहरु दिनप्रतिदिन संसारभर फैलिँदै गएका छन् । उनीहरुलाई पासपोर्ट लगायतको कन्सुलर सेवा दिने दायित्व परराष्ट्रकै हुन्छ ।
अर्काे कुरा नेपालीहरु को कहाँ छन् भन्ने सूचना परराष्ट्रसँग नै छैन, तर अप्ठेरोमा परेपछि भने तत्कालै उद्धार गरिहाल्नुपर्छ । त्यसैले मन्त्रालयमा उचित जनशक्ति आवश्यक रहेको महसुश गरेर नै मन्त्री डा राणाले ओएनएम गर्ने कामलाई प्राथमिकतामा राखेकी थिइन्।
नेपालीहरुले समयमै पासपोर्ट तथा कन्सुलर सेवा नपाएको गुनासो कैयौँ देशमा सुनिन्छ । कतै जनशक्ति कम भएर त कतै भूगोल नमिलेर । जस्तो कि अमेरिकाको क्यालिफोर्नियामा अहिले कम्तीमा पनि ७० हजारको आसपासमा नेपाली पुगिसके भने टेक्सासमा एक लाखभन्दा बढी नै रहेको तथ्यांक छ।
उनीहरु कन्सुलर सेवा लिन न्युयोर्क या वासिङ्टन नै पुग्नुपर्छ । यस्ता उदाहरण अन्य देशमा पनि छन्। त्यसैले ओएनएमपछि डालस, सान्फ्रान्सिस्को तथा युएइको दुबईमा महावाणिज्यदूताबास स्थापना गरिएको छ । यसबाट नेपाली डायस्पोरालाई सहयोग पुग्ने अपेक्षा रहेको छ।
आवश्यकताका आधारमा थप जनशक्तिको व्यवस्था भएको भने नागरिकलाई सेवा दिन केही देशमा घुम्ती सेवा समेत सञ्चालन गरिएको छ। नेपालीहरुको बढी चाप रहेका मध्यपूर्वी एवं अन्य देशहरुमा सेवा प्रदान गर्ने कामका साथै नेपालको कूटनीतिक सेवाको प्रभावकारिता विस्तारका लागि समेत परराष्ट्र मन्त्रालयले लामो समयदेखि जनशक्ति अभाव झेल्दै आएको वास्तविकतालाई ध्यानमा राखी ओएनएम गरी दरबन्दी सिर्जना गरिएको छ।
यसबाट समयानुकुल देशको परराष्ट्र नीति सशक्त सञ्चालन एवं विस्तार गर्न र नेपालको सम्बन्धलाई थप प्रभावकारी बनाउन मन्त्रालयको पुनर्संरचना गरिएको हो।
सगरमाथा संवाद
नेपालले गत जेठमा सगरमाथा संवादको आयोजना गर्यो । परराष्ट्र मन्त्रालयको अगुवाइ एवं वन तथा वातावरण मन्त्रालयको सहसंयोजनमा नेपालको मौलिक तथा आफ्नै चासो र आवश्यकताको स्थायी कार्यक्रमका रुपमा सगरमाथा संवादको सुरुआत यसैबर्ष भयो ।
यो पहिलो संस्करण हो र आगामी दिनमा यसलाई नयाँ विषय या थिमका साथ अघि बढाइने छ । यस प्लेटफर्म मार्फत् जलवायु परिवर्तनका क्षेत्रका विश्वका विज्ञ, नीति निर्माता एवं नेपालजस्तै समस्यामा परेका देशहरुसँगको छलफललाई ब्यापकता दिइएको हो ।
संवादमा छिमेकी भारत र चीनको उच्चस्तरीय प्रतिनिधित्व रहनुका साथै विश्वका २० भन्दा बढी देश तथा ५० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठनका प्रतिनिधिहरु सहभागी भएका थिए।
यस संवादमा नेपालले अघि सारेको माउन्टेनको एजेण्डामा व्यापक छलफल भयो। आगामी दिनहरुमा नेपालले अघि सारेको यस एजेण्डा र मान्यतालाई आफूहरुले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता सहभागीहरुले व्यक्त गरे। आगामी दिनका लागि नेपालले २५ बुँदे कार्ययोजना पनि पारित गर्यो। यो स्तरको सगरमाथा संवाद कार्यक्रमलाई नेपालको कूटनीतिक सफलताका रुपमा मापन गर्न सकिन्छ।
जलवायु न्याय माग र जलवायु कूटनीति
मन्त्री डा राणाले नेपालका तर्फबाट पहिलो पटक गत पुुसमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएर जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या र अवस्थाका बारेमा ध्यानाकर्षण गराउँदै जलवायु न्याय माग गरेकी थिइन्।
जलवायु परिवर्तनले नेपाल सबैभन्दा धेरै समस्यामा परेकाले नेपालले क्षतिपूर्ति पाउनुपर्ने दाबी उहाँले गर्नुभयो । त्यसपछि नेपालले जलवायु कूटनीतिलाई एक अलग्गै प्राथमिकतायुक्त विषयका रुपमा लिएको छ ।
त्यस बखत युरोप भ्रमणका क्रममा युरोपेली युनियनका नेता, युरोपका विदेशमन्त्रीहरु तथा नेताहरुसँग भएका द्विपक्षीय भेटहरुमा पनि उहाँले नेपालको जलवायु न्याय मागको विषयका साथसाथै नेपाली उडानहरुलाई युरोपेली आकासमा लगाइएको हवाई सुरक्षासम्बन्धी प्रतिबन्ध फुकुवाका लागि पनि अनुरोध गरिन्।
विपीन जोशी रिहाइको पहल
डा राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि पहिलो प्राथमिकता दिएर सुरु गरेको काम विपीन जोशीको रिहाइसम्बन्धी हो । उनीसँग शिष्टाचार भेटमा आएका प्रायः सबै देशका राजदूतलाई आफ्ना ठाउँबाट सक्दो प्रयास गरिदिन उनले आग्रह गरिन्।
गत असोजमा राष्ट्रसंघको महासभामा अमेरिका गएका बेला सबै मञ्च तथा द्विपक्षीय भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन उनले अपिल गरेकी थिइन्। त्यसलगत्तै कतारमा आयोजित एसिडीको चौथो सम्मेलनको सम्बोधन तथा द्विपक्षीय भेटवार्ता होस् या मस्कटमा सम्पन्न इन्डियन ओसन कन्फरेन्स्मा भएका द्विपक्षीय भेटवार्ताहरुमा सो अपिल गरिन्।
मन्त्री डा राणाले इजरायल, कतार, इजिप्ट र इरान समेतका विदेशमन्त्रीसँग विपीनको रिहाइमा पहल गरिदिन आग्रह गरिन्। कतार र इजिप्टले इजरायल सरकार र हमासका बीचमा शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेकाले ती देशका विदेशमन्त्रीहरुसँग पनि उनले पटक पटक आग्रह गरिन्। तर अहिलेसम्म बिपिन जाेशीकाले पत्ता लागेकाे छैन।
नेपाली डायस्पोराः सहयोग र उद्धार
गत साउनमा बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु समस्यामा परे। त्यसपछि उनीहरु कति र कुन ठाउँमा छन् भन्ने खोजी हुन थाल्यो। विद्यार्थीहरु कतिपयले शिक्षा मन्त्रालयबाट एनओसी लिएर जाने त कति आफ्नै हिसाबले जाने गरेकाले परराष्ट्रलाई यो सबै सूचना थिएन।
सामाजिक सञ्जाल र मिडियामा परराष्ट्रले उद्धार गर्न नसकेको जस्ता समाचार आउन थाले, उता ढकास्थित नेपाली दूतावासमा जनशक्ति थोरै । परराष्ट्रले संयोजन गर्यो, ढाकाको नेपाली दूतावास पूर्ण परिचालन भयो।
समस्यामा परेकालाई उद्धारका लागि हेल्प डेस्क स्थापना भयो। नेपाल आउन चाहने सकुशल आए । उनी बस्नेहरु पनि दूताबासको सम्पर्कमा रहेर बसे । कतिपय अप्ठेरो परेकाहरु दूताबासमै पनि आए । कूटनीतिक प्रयासबाट त्यो समस्या समाधान भयो ।
राष्ट्रसंघमा उम्मेदवारी र सहयोग माग
नेपालले संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारी दिएको छ। जेनेभामा गत फेब्रुअरीमा उक्त परिषदको ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुसँग मन्त्री डा राणाले भोट मागिन्।
सो सम्बोधनका क्रममा उनले मानवअधिकार, शान्ति र प्रजातन्त्रप्रति नेपालको प्रतिबद्धतालाई स्पष्टसँग राखेकी छन्। त्यसैगरी सोही भ्रमणका क्रममा नेपाल २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि पनि विभिन्न देशका विदेशमन्त्री, नेता तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आग्रह गरिन्।
इजरायल इरान युद्धमा नेपालीको सुरक्षा र उद्धार
हालैको इजरायल–इरान युद्धका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मन्त्रालयले काम गर्यो । मन्त्रालयले दुबै पक्षलाई वार्ताद्वारा समस्याको समाधान गर्न आह्वान पनि गर्यो ।
ट्राभल एड्भाइजरी जारी गरेर इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र सम्बद्ध मुलुकका नेपाली राजदूतहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको थियो । त्यसपछि नेपालीहरुको उद्धारको तथ्याङ्क सङ्कलनका लागि अनलाइन पोर्टल खोल्यो । सो पोर्टलमा धेरैले रजिष्ट्रेसन गरे र केहीले घर फर्कन चाहेको बताए ।
उता इरानमा रहेका १६ नेपालीलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकोमा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काइयो र बाँकी इरानी जेलमा रहेका पाँच जनाको रिहाइको कूटनीतिक प्रक्रिया सुरुभयो ।
उनीहरुको पनि आवश्यक कागजात तयार पार्नुका साथै मन्त्रालयले सुरु गरेको विशेष कूटनीतिक पहलबाट रिहा भइसकेका छन् । ती देशमा रहेका नेपालीहरुको सुरक्षा तथा शीघ्र उद्धार र स्वदेश फिर्तीका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरेर परराष्ट्र मन्त्रालयमा एक र्यापिड रेस्पोन्स टिम गठन गरेर काम गर्यो र यसैमार्फत स्वदेश फर्कन चाहनेहरुका लागि इजरायलमा उद्धार उडानको तयारी पनि भयो । त्यहाँ युद्धविराम भएपछि भने यो प्रक्रिया रोकिएको छ ।







डिसी नेपाल








Facebook Comment