‘ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्ब डलरको वित्तीय योजना तयार’

डिसी नेपाल
१ साउन २०८२ १८:३५
32
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका छन्।

बिहीबार सिंहदरबारमा आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गर्दै मन्त्री खड्काले ऊर्जा विकास मार्गचित्र अनुसार सन् २०३५ सम्मको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन लक्ष्य पुरा गर्नका लागि साढे ४६ अर्ब अमेरिकी डलरको वित्तीय योजना तयार गरिएको जानकारी दिएका छन्।

वर्तमान सरकारको एक वर्षको अवधिमा ४०९ मेगावाट जलविद्युत आयोजना तथा २५ मेगावाटको सौर्य आयोजना गरी कुल ४३४ मेगावाट क्षमता बराबरको ग्रिडमा आबद्ध भएको उनले बताए।

मन्त्री खड्काले एक वर्षको अवधिमा विद्युत विकास विभागबाट १ हजार ९५ मेगावाट क्षमता बराबरका ८० जलविद्युत आयोजनाहरु र १ हजार १ सय ९९ मेगावाटक्षमता बराबरका ६७ सौर्य आयोजनाहरुको सर्वेक्षण अनुमति जारी गरिएको जानकारी दिए।

वर्तमान सरकारको कार्यकालमा ३ सय सर्किट किलोमिटर प्रसारण लाइन तथा ७ सय एमभीए क्षमताका सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्री खड्काको भनाइ छ। आर्थिक वर्ष २०८१/८२ मा करिब १७ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरिएको र करिब १६ दशमव ९ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गरिएको मन्त्रालयले जनाएको छ।

एक वर्षको अवधिमा १७ हजार ३०८ हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको र हाल सम्म १५ लाख ८६ हजार ३४० हेक्टर जमिनमा सिंचाइ पूर्वाधार विकास भएको मन्त्री खड्काले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.