यातायातमन्त्रीसँग चीनका राजदूतको भेट, रसुवागढी नाकामा अस्थायी पुल बनाउने प्रतिबद्धता
काठमाडौं। नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्।
आज मन्त्रालयमा भएको सो भेटमा बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक तथा सीमा पुल निर्माणलगायतका विषयमा छलफल भएको मन्त्री दाहालको सचिवालयले जनाएको छ। भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणमा चीनले चासो देखाएको छ। चीनले सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थायी पुल बनाउने प्रतिबद्धता जनाएको छ ।
यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित अन्य आयोजना टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडकलगायतका विषयमा पनि छलफल भएको थियो। छलफलमा राजदूत सङले काठमाडौं–चक्रपथ दोस्रो खण्ड विस्तार सुरु गर्ने बताए।
भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा नेपाल र चीनबीच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वाससमेत मन्त्री दाहालले व्यक्त गरे।







डिसी नेपाल








Facebook Comment