रेडियोबाट स्टेज पुगेका कोष खड्का : जो प्रभावशाली कथा बाचक बन्ने सपना देख्छन्

डिसी नेपाल
२ साउन २०८२ ७:०८
380
Shares

कोष खड्का(भारद्वाज) व्यस्त रेडियोकर्मी होइनन् तर जादूमयी प्रश्तुतीले चर्चित बनेका व्यस्त उद्घोषक हुन्। अब उनी उद्घोषक मात्र होइन प्रेरणादायी अर्थात मोटिभेशनल स्पिकरका रुपमा दरिँदै गएका छन्।

नेपालका व्यस्त उद्घोषकहरुमध्ये उनको नाम शीर्ष स्थानमा आउँछ। धार्मिक एवम अध्यात्मिक कार्यक्रमबाट लोकप्रिय बनेका उनी सांगीतिक कन्र्सटहरुमा पनि उत्तिकै छाइरहेका छन्। शब्द वाणी र बुलन्द आवाजले हरेक व्यक्तिलाई प्रभावित बनाइरहेका उनले नेपाल न्यूज बैंकसँग आफ्नो अनुभव सुनाएका छन्।

उद्घोषण यात्रा

सुरुमा रेडियो कस्तो होला, के होला भन्ने लाग्थ्यो। बोल्ने मान्छे रेडियो भित्रै छन् कि भन्ने लाग्थ्यो। तर जब आफु रेडियोमा बोल्न थालियो त्यसपछि धेरै कुरा जान्ने मौका मिल्यो। रेडियोमा बोल्दा धेरै चिठीपत्रहरु आउँथे, फोनहरु आउँथे।

तर हिजोआज फोन र चिठी कम भएको छ र हात हातमा मोबाइलमा रेडियोहरु सुन्नेहरुको संख्या बढेको छ। वास्तवमा मेरो यात्रा रेडियो कार्यक्रम संचालकबाट भएको हो। रेडियोकै कारण आज हजारौं मानिसहरुका अगाडि उभिएर बोल्न सक्ने भएको छु। मेरो सबैभन्दा ठूलो पाठशाला रेडियो नै हो।

मेरो हिजोआजको दैनिकी भनेको पूर्णकालिन उद्घोषण नै हो। तर रेडियोको युग सकिएको भनेर जसले भनिरहेका छन् त्यो गलत हो। रेडियोको चाम अझैपनि छ। अहिलेपनि अनलाइनका माध्यमबाट रेडियो गुन्जयमान हुनेगर्छ। रेडियो सुन्न कम भएता पनि त्यसको प्रभाव भने अझै छ। र रेडियो सुन्नेहरुको संख्या उत्तिकै छ।

हुनत हिजोआज उदघोषण कला सिकाउने सेन्टरहरु स्थापित छैनन्। उदघोषण सिकेर मात्रै हुँदैन्। आफूमै क्षमता चाहिन्छ। यसमा सबैभन्दा ठूलो कुरा भनेको धैर्यता हो। जीवनमा सफलता प्राप्त गर्नुछ भने धैर्यता राख्ने क्षमता आफूमा हुनुपर्छ। धैर्यताका साथ जसले कर्तव्य निर्वाह गर्छ त्यो सफल हुन्छ। आजपनि गुणात्मक हिसाबले उदघोषकहरुको संख्या बढेको छ, संख्यात्मक हिसाबले छैन।

यसर्थ उद्घोषकको महत्व र आवश्यकता कमी होइन अझै बढेर गएको महसुस भएको छ। हिजो बोल्नेलाई सामान्य हो भन्ने चलन थियो, बोल्नेलाई पनि पैसा दिनुपर्छर भन्ने थियो। तर अहिले आज प्रोफेसनल उद्घोषक चाहिन्छ है भनेर खोजी हुने गरेको छ।

कुनै कार्यक्रममा एउटा उद्घोषकले जुन तरिकाले कार्यक्रम चलाँउछ त्यो सामान्य व्यक्तिले सक्दैन। व्यवसायिक व्यक्ति नै चाहिन्छ। ज्ञानले भरिपूर्ण हुनुपर्छ भन्ने पनि छ। सोही अनुसार माग पनि हुने रहेछ।

अध्ययनमा विविधता र प्रेरणा

एक सफल उद्घोषक वा पब्लिक स्पिकर बन्न विविध क्षेत्रको अध्ययन जरुरी पर्छ। जसले अध्ययन, अनुसन्धान अन्वेषण गर्छ वा जसले जे कुराको खोज गर्छ उसमा सोही कुराको निखारता हुँदै जाने हो। ज्ञानहरु वृद्धि हुँदै जाने हो। धनले बदलिएको मानिसभन्दा ज्ञानले बदलिएको मानिस धेरै बृद्धिमान हुन्छ।

हामी ज्ञानले बदलिनुपर्छ र ज्ञान हाँसिल गर्न अध्ययन गर्नुपर्छ। अध्ययनले हामीमा निखारता ल्याउँछ र त्यसलाई प्रस्तुत गर्ने शैली अपनाउन सकियो भने सफल पनि भइन्छ।

वास्तवमा प्रस्तुतीकरणले मान्छेलाई लठ्याउने हो। मान्छेको हृदयमा बस्ने हो। उद्घोषकको लागि प्रस्तुतीकरण एकदमै जरुरी हुन्छ। मेरो सन्दर्भमा कुरा गर्ने हो भने म अध्ययन गर्छु, आफूभन्दा अग्रजहरुले बोलेको सुन्छु र उहाँहरुको नोभेलहरु पढ्छु। त्यसलाई आफ्नो शैलीमा ढाल्ने प्रयास गर्छु। जसको आफ्नोपन हुँदैन त्यसको प्रगती हुन सक्दैन। मानिसको जीवन छोटो छ तर ज्ञान अनन्त छ। छोटो जीवनमा ज्ञान अन्नत प्रदान गरेर आफूलाई श्रेष्ठ बनाउनुपर्छ। त्यही कर्ममा म अघि बढ्छु र आफ्नो शैलीमा ढालेर प्रस्तुत वा वाणीहरु प्रस्तुत गर्दा सबैले मन पराइ दिनुभएको छ।

हुनत मेरो जीवनमा सबैभन्दा ठूलो प्रेरणा भनेको रेडियो नै हो। रेडियो सुन्दा चर्चित व्यक्तिहरुको कुराहरु सुन्थें। आफूपनि सोही अनुसार बोल्न पाएपनि हुन्थ्यो भन्ने एउटा कल्पना थियो। त्यसपछि ०६८ सालमा रोडियोमा बोल्न सिकें।

त्यसपछि एउटा रेकर्डिङ कार्यक्रम चलाए। म पहिलो पटक अन एयर हुँदा पुस महिना थियो। रेडियोमा लाइभ प्रोगाम चलाउन गएको थिएँ। त्यसबेला स्टेशन म्यानेजर मेरो छेउमै आएर बस्नु भएको थियो। मलाई के बोल्ने थाहा थिएन। तर जे बोलेको रहेछु राम्रै बोलेको रहेछु। तर म पुषको महिनामा पसिनाले भिजेर निथ्रुकै भएको थिए। पुसको महिनामा पनि मलाई पसिना आउने बनाएछ। त्यहाँबाट मेरो संघंर्षको यात्रा सुरु भएको थियो।

एक दशक रेडियो कार्यक्रम सन्चालन गरें। भनिन्छ नि जीवनमा सँधै विकल्प राख्नपर्छ। त्यसपछि मेरो बाटो मोडियो। सिन्धुलीको कमलामाई नगरपालिका सिन्धुलीमाडीमा पहिलो धार्मिक कार्यक्रम चलाए। सोहीबेला धार्मिक स्टेज चढें।

त्यसपछि निरन्तरता दिंदै गए र राम्रो हुँदै गयो। लगाब बढ्यो। भाषा शुद्ध भयो। शब्द चयनमा ध्यान दिनथालें। शब्दसँग खेल्न मन पर्न थाल्यो। आफूसँग भएको क्षमता आफैंले पहिचान गर्नुपर्ने रहेछ। संसारमा कसैले पनि तपाईभित्र यो क्षमता छ भनेर भनिदिंदैन्।

क्षमता स्वयमले पहिचान गर्ने हो। मैंले पनि आफुभित्र यो क्षमता छ भनेर पहिचान गरें। त्यो महसुस गरें। अनि महोत्सवको स्टेज चढ्नुपर्छ भन्ने लाग्यो। साँस्कृतिक कार्यक्रमहरुको स्टेजमा ०७५ बाट चढ्न थालें। प्रश्तुती राम्रो हुँदै गयो।

मलाई दर्शकले मनपराई दिनुभयो। त्यसपछि म स्टेज यात्रामा निस्किए। धेरै ठाउँबाट बोलाउन थाल्नुभयो। अहिलेसम्म नेपालका ७३ वटा जिल्लाहरुमा पुगिसकेको छु। कयौँ स्थानहरुमा माया–प्रेम पाएको छु। हरेक बर्ष १५ वटा जति महोत्सव गर्ने गरेको छु भने १० देखि २० ओटासम्म धार्मिक स्टेजहरुमा उद्घोषण गर्ने गरेको छु।

ट्रनिङ पोइन्ट

केही समय अघि सम्पन्न पोखरा कोटिहोममा एकजना सहयोगी साथीले एउटा चिठी ल्याएर दिनुभयो। त्यसमा लेखिएको थियो ,‘आदरणीय उद्घोषकज्यू राधे राधे। हजुरलाई धेरै हेरिरहेको र हजुरको बोलिबाट प्रभावित भइरहेको छु। म एकपटक हजुरलाई भेट्न चाहन्छु।’ पत्रमा यही उल्लेख थियो।

त्यसपछि मन्चदेखि बाहिर ओर्लिए र उहाँलाई भेटे। उहाँले मलाई देख्ने वित्तिकै आखाँबाट आँसु बगाउनुभयो। किन रुनुभयो भनेर प्रश्नगर्दा उहाँको उत्तर थियो–‘हजुरको वोली र वाणी सुनेर जीवन जिउने एउटा उत्प्रेरणा जागेको छ। सहि ढंगबाट जीवन जिउन थालेको छु। वास्तवमै हजुर जीवन जिउने उत्प्रेरणा भएको छ। हजुरलाई देख्ने भगवानसँग प्राथना थियो, आज पूरा भयो उहाँले भन्नुभयो।

अनि मलाई लाग्यो कमाएको भनेको यही रहेछ। मंैले कमाएको भक्तहरुको प्रेम हो। दर्शकको माया हो। जहाँ म जान्छु उहाँहरु मलाई हुट्ङ्गि गर्नुहुन्छ । जहाँ म जान्छु त्यहाँ आँखाभरी आँशु झारेर बाबा–आमाहरु आफ्ना विगतका कुरा भुल्दै नयाँ जीवनको आनन्दको अद्भुत गर्नुहुन्छ। सबैले मन पराइदिनुभएको छ।

०७२ बाट मैले धार्मिक यात्रा सुरु गरें। सुरु गर्दैजाँदा सन्जालहरुमा धेरै माया गर्नेहरु पाइरहेको छु। कोरोनाको बेलामा दिप टेलिभिजनलाई मैंले सम्झनपर्छ। त्यो टेलिभिजनबाट एकदमै धेरै माया पाँए। झापामा एकजना आमाबाबा हुनुहुन्छ। उहाँहरु मलाई आफ्नो कान्छो छोराको रुपमा मान्नुहुन्छ।

मेरा कयाैं आमा-बाबाहरु हुनुहुन्छ। पछिल्लो समय पशुपति कोटिहोममा आए। काठमाडौं केन्द्रित भएर कर्म गर्न पाए। कोटिहोमले अझै धेरै स्थापित गर्यो। यसको श्रेय बालयोगेश्वर विजय श्रीकृष्णमूर्तिजी महाराजलाई जान्छ। त्यसपछि पोखरामा गरें। त्यसले मलाई अझै धेरै व्यापकता बनायो। व्यापकताका बिचमा नै मैले धेरै प्रेम पाएको छु।

सबैको साझा बन्नुपर्छ

उद्घोषकले कहिलेपनि आफ्नो कुरा बोल्ने होइन अरुको मनको भावना बुझेर बोल्न पर्नेहुन्छ। किनकि उद्घोषकले सबैको साझा हो। बोल्दै गर्दा सिलसिलायुक्त कलात्मक शैलीमा सबैको हृदयमा विरजमान हुनेगरि वाणी प्रस्तुत गर्न सक्नेगरी उद्घोषकसँग कला हुनुपर्छ।

त्यसरी कर्म गर्दा सबैको प्रिय भइन्छ। त्यो कला मसँग छ जस्तो लाग्छ। एउटा भनाई छ ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ त्यसैले यो समय भनेको शब्द-वाणी छरेर सबैको मनमा बस्ने समय हो। बोल्ने कुराले समाजलाई मोटिभेसन गर्नसक्छ र समाजलाई सहि रुपान्तरण गर्दछ।

बोल्ने कलाले समाजलाई सही सन्देश दिन सकोस् भन्ने हो। मैंले जुन हौसला र माया पाएको छु त्यो सब मेरो भक्तजनबाट पाएको छु। वास्तवमा भन्ने हो भने उद्घोषकले गाँउ, समाज, राष्ट्रदेखि हरेकलाई परिर्वतन गर्न सक्छ। किनकि उनीहरुमा त्यो सामथ्र्य हुन्छ।

जिब्रो बिग्रिए, बोली विग्रिन्छ

हामी महसुस गर्न सक्छाँै, कसैलाई हेरेर कसैको भावना महसुस गर्न सक्छौँ। उनीहरु हेरिरहेको हुन्छन् हामी बोल्दा। कुन तरिकाले बोलिरहेका हुन्छौं दर्शकदिर्घाले नियालिरहनुभएको हुन्छ। बृद्धदेखि बाल बच्चा, युवायुवती सम्मको मनोभावन बुझेर बोल्न सक्नुपर्छ।

हाँसेर जीवन जीउनका लागि के चाहिएको छ भन्ने कुरा उहाँहरुको अनुहार पढियो भनेपनि थाहा हुन्छ। मनको कला बुझ्ने क्षमता उद्घोषक भित्र हुन्छ र हुनुपर्छ। त्यसैले धेरै कुरा ख्याल गर्नुपर्छ।

सोच विग्रिए जिब्रो विग्रिन्छ, जिब्रो बिग्रिए बोली विग्रिन्छ। अनि बोली बिग्रिए मन बिग्रिन्छ ,मन विग्रिए सम्बन्ध विग्रिन्छ। सम्बन्ध विग्रियो भने घर विग्रिन्छ र घर विग्रिए जीवन नै विग्रन्छ। त्यसैले जिब्रो सुध्रियो भने सबैथोक सुध्रिन्छ। प्रमुख कुरा जिब्रो शुद्ध हुनुपर्यो। जीवनका लागि उपयोगी वाणी प्रस्तुत हुनुपर्यो।

त्यसैले झर्किएर बोलाउने शब्द र मायाले बोलाउने शब्द एकै भएपनि बोलाउने तरिका फरक भयो भने प्रिय बन्न सकिन्छ। भगवान श्रिकृष्णले भन्नुहुन्छ-यो संसारमा सबैको प्रिय हुनु छ भने विनम्रपूर्वक बोल्नुपर्छ।’ जुन व्यक्तिसँग विनम्रता र मधुरता हुन्छ त्यो व्यक्ति सबैको प्रिय हुन्छ। त्यसैले विनम्र र मधुरता हुन आवश्यक छ।

उद्घोषक कुनैपनि समारोहको मेरुदण्ड हो। मेरुदण्ड बलियो भयो भने हरेक कुरा बलियो हुन्छ। उद्घोषक समारोहलाई अगाडि बढाउन सक्ने एउटा मेरुदण्ड हो। किनकि कार्यक्रम कुन शैलीमा लैजाने भन्ने कुरा उद्घोषकको हातमा हुन्छ। विग्रिहाल्यो भने कसरी सुधार्ने भन्ने कुरा उसको हातमा हुन्छ। सुधार्दा पनि कुन तरिकाले सुधार्ने भन्ने उसको हातमा हुन्छ। त्यसैले उद्घोषकलाई सर्वप्यापी मानिन्छ।

अब भगवानकै भरोसा

यति धेरै माया र स्नेह पाइसकेपछि मैंले केही न केही सपना बनाउनुपर्छ। मैंले दुईवटा उद्देश्य बोकेको छु। एउटा आफ्नो नाम चिनाउन सकाँै र अर्को एउटा ठाँउलाई चिनाउन सकौँ। त्यहि सोचका साथ कर्म गरिरहेको छु। कर्म गर फलको आश नगर भने जस्तैगरी काम गरिरहेको छु। सही कर्मको प्रतिफल सही नै आँउछ। सत्य तितो हुन्छ तर कालान्तरमा सत्यकै जित हुन्छ। त्यसैले सहि कर्म गर्नपर्छ ।

कुन यात्रामा हिड्ने भन्नेकुरा हाम्रो हातमा हुँदैन्। भगवानले जुन बाटो लानुहुन्छ त्यतै जाने हो। म म्योनेजमेन्ट पढेको मान्छे रेडियोमा बोल्न गएँ। मेरो घरमा कसैले नगरेको काम मैंले गरें। रेडियोको यात्रासँगै आज अध्यात्मिक यात्रामा छु। कलाकारिता अर्थात मोडलिङ पनि गर्छु। भोलिको बाटो भोलि नै थाहा हुन्छ।

यो सबै सफलता र यात्राको कुरा सबथोक प्रेम हो। प्रेमले आजसम्म यहाँसम्म ल्याइपुर्याएको छ। भोलिका दिनमा प्रेरणा र अनुयायीहरुबाट साथ पाएको खण्डमा उद्घोषणसँगै कथाबाचकका रुपमा पनि आफूलाई प्रस्तुत गर्न सकिएला कि जस्तो लाग्छ। संभावना नभएको होइन्।

त्यो पनि सम्भावना छ। तर चाहेर मात्रै हुँदैन भगवानले पनि चाहनुपर्छ। तर मलाई माया गर्नेहरुले यही मुखाराविन्दबाट कथा बाचन गरेको सुन्न पाएहुन्थ्यो भन्ने इच्छा राख्नु भएको छ। तर त्यसका लागि भगावानले चाहेको हुनुपर्छ। भगवानले नचाहे केहि हुँदैन। चाहना हामीले गर्नुपर्यो तर पूरा भगवानले गर्नुहुन्छ।

भनिन्छ नि, जीवनमा चुनौतिभित्र अवसर देख्ने मान्छे सफल हुन्छ। अवसरभित्र चुनौति देख्ने मान्छे कहिले सफल हुँदैन। मेरो यात्रामा पक्कै पनि सहज थिएन। म कार्यक्रम चलाउन मुगु गएको बेला सक्दिन होला भनेर राति ११ बजे कर्णालीको तीरमा बसेर आँशु बगाएको थिए। त्यसबेला मेरो श्रीमतीले हैसला दिएकी थिइन्। त्यसपछि निरन्तर अघि बढिरहेको छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.