कांग्रेसभित्रका विद्रोही शेखर
काठमाडौं। पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्दै ४० प्रतिशत भन्दा बढी मत ल्याएका डा. शेखर कोइराला कांग्रेस भित्रका ‘विद्रोही’ नेताका रुपमा चिनिन्छन्।
पार्टीले माओवादी केन्द्रसँग सहकार्य गरेर केन्द्रदेखि प्रदेशसम्म कांग्रेस-माओवादी गठबन्धनको सरकार बनेका बेला डा. शेखर कोइरालाले आफ्नो गृह प्रदेश कोशीमा तत्कालीन प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर आफू निकट नेता केदार कार्कीलाई प्रदेशको मुख्य मन्त्री बनाएका थिए।
शेखरले बारम्बार राजनीतिक स्थिरता र सुशासनको पक्षमा आवाज उठाउँदै आएका छन्। राजनीतिक स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन बन्नुपर्ने आवाज उठाएका शेखरको राजनीतिक लाइन अनुसार नै अहिले मुलुकमा कांग्रेस-एमाले गठबन्धन छ।
राजनीतिक स्थायत्विका लागि संविधान संशोधनमार्फत वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने पक्षमा रहेका शेखर आफ्नै बटमलाइन अनुसारको सरकारबाट भने सन्तुष्ट देखिँदैनन्।
उनी यतिबेला सरकारको कटु आलोचना गर्न थालेका छन्। एक वर्ष अगाडि कांग्रेस-एमालेले संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेलगायतका सात बुँदे सहमति गरेर गठन भएको सरकारले यी विषयमा काम नगरेको भन्दै उनी यतिबेला सरकारको आलोचना मात्रै गरिरहेका छैनन्, अब कांग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्छ भन्दै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसँग छलफलसमेत गर्न थालेका छन्।
पार्टीको आगामी १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीको घोषणा गरिसकेका शेखरले पार्टीको नीति विपरितका गतिविधि गरेको भन्दै कारवाही गर्नसमेत बेला बेलामा केन्द्रीय कार्यसमितिको बैठकमा माग हुने गरेको छ।
पछिल्ले समय शेखरले अन्य राजनीतिक दलसँगको भेटघाटलाई तीब्रता दिएका छन्। बिहीबार प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा छलफल गरेका शेखरले शुक्रबार विहान पूर्व राष्ट्रपति एवं एमाले नेता विद्या भण्डारीसँग एक घण्टा बढी छलफल गरे।
भण्डारीलाई भेट्न उनकै निवास पुगेका शेखरले भण्डारीको सहयोगको अपेक्षा गरे भने भण्डारीले पनि आफू राजनीतिमा आइसकेकाले शेखरको साथको अपेक्षा गरिन्।
शेखरले भण्डारीसँग सुशासनको पक्षमा आवाज उठाउन आग्रह गरेका थिए। शेखरका स्वकीय सचिव दिनेश थपलियाका अनुसार उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
यतिबेला शेखर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्ने अभियानमा छन्। जबकि पार्टीको लाइन अबको एकवर्षपछि सभापति देउवा प्रधानमन्त्री बन्ने भएकोले यही गठबन्धनमा कायम रहने भन्ने छ।
एमालेसँग भएको सहमति अनुसार अबको एक वर्ष केपी ओली प्रधानमन्त्री रहने र त्यसपछि आलोपालो प्रणाली अनुसार देउवा प्रधानमन्त्री बन्ने लाइनमा छन्। तर शेखर अब ठूलो दलको हैसियतमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्ने लाइनमा छन्। बिहीबार प्रचण्डसँगको भेटमा पनि शेखरले सोही विषयमा छलफल गरेको स्रोतले जनाएको छ।
उता प्रचण्ड पनि वर्तमान सरकारको विकल्प खोज्ने अभियानमा छन्। तर स्पष्ट संख्या नहुँदा र कांग्रेसको संस्थापन पक्ष तयार नहुँदा वर्तमान सरकारको विकल्प खोज्ने विषयमाले मुर्तरुप लिन सकेको छैन।
वर्तमान सरकारको कामकारवाहीलाई लिएर यतिबेला दुवै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको, संविधान संशोधन लगायतका मुख्य कार्यभार पूरा गर्न नसकेको भन्दै सरकारको आलोचना बढिरहेका बेला शेखरको सक्रियतालाई गम्भीरतापूर्वक लिइएको छ।







डिसी नेपाल








Facebook Comment