आज राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह
वालिङ (स्याङ्जा) । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज राति स्याङ्जामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी रातको समयमा सवारीसाधन सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको हो।
स्याङ्जामा आज बिहानदेखि अविरल वर्षा भइरहेको र भोलिसम्म वर्षा हुने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जनधनको क्षति हुन नदिन जिल्ला सुरक्षा समितिले निर्णय राति सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए। ‘मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा हुने भनी प्रक्षेपण गरेकाले आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म १२ घण्टा अत्यावश्यकबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेका छौँ‘, उनले भने, ‘अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन गर्नैपर्ने अवस्था आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आग्रह छ।‘
जिल्लाको मध्यभाग भएर सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग करिब ९० किलोमिटर रहेको छ। यस राजमार्ग तथा जिल्लाभित्रका अन्य सहायक सडकमा पनि रातको समयमा सवारीसाधन सञ्चालन नगर्न जिल्ला सुरक्षा समितिले निर्णयसहित अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
सम्भावित वर्षाका कारणले भूक्ष्य, बाढी, पहिरोको जोखिम रहेकाले कालीगण्डकी नदी किनार, आँधीखोलालगायतका स्थानीय खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरिएको छ।







डिसी नेपाल







Facebook Comment