नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक सफलतापूर्वक पियर किड्नी एक्सचेन्ज
काठमाडौं। नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ। काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो।
एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन्। श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो।
अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएकै कारण पियर किड्नी एक्चेन्ज प्रत्यारोपण सफल भएको हो। यो शल्यक्रिया गर्दा एकैपटक दुई जना दाता र दुई जना प्राप्तकर्तालाई छुट्टाछुट्टै चारवटा अपरेशन कक्षमा एकैपटक शल्यक्रिया गरिन्छ। यसका लागि मिर्गौला रोग विशेषज्ञ, मिर्गौला सर्जनहरु, मुटुरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टस्, तालिमप्राप्त नर्सहरुको टीमकै सहभागिता आवश्यक पर्दछ।
मिर्गौला ट्रान्सप्लान्ट सर्जन तथा यूरोलोजिस्ट डा. रवि किरण गौतमको नेतृत्वमा सर्जनहरु डा. महेश बहादुर अधिकारी, डा. बिपिन महर्जन, डा. विजोय राजवंशी, डा.अजीत खड्ग, डा. सुबोध घिमिरे, डा. अनिल कुमार शाह, डा. प्रमेश श्रेष्ठ, डा. बिरोध बस्नेतको प्रत्यारोपणमा संलग्नता रहेको थियो ।
त्यस्तै प्रत्यारोपणमा नेफ्रोलोजी टिमका डा. ऋषि कुमार काफ्ले, डा. प्रकाश पौडेल, डा. सुमित आचार्य, एनेस्थेसियोलोजिस्टस् डा. प्रज्जवल राज भट्टराई, डा. अपुर्व शर्मा र ट्रान्सप्लान्ट कोअर्डिनेटर जयन्ती कार्की र शंकर भट्टराईको पनि संलग्नता रहेको थियो ।
नेपालमा पियर किड्नी एक्सचेन्जलाई कानुनी रूपमै मान्यता दिइएको छ। मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ तथा संशोधित ऐन २०७२ अनुसार, दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले मन्जुरी दिएको मनासिब देखिएमा प्रत्यारोपण स्वीकृती समितिले स्वीकृति दिन सक्ने छ।
अस्पतालमा प्रत्यारोपण गराएका बिरामीहरुको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको हो।
नेपाल मेडिसिटीको यस सफल प्रयासले नेपाली मिर्गौला उपचार सेवा क्षेत्रमा नयाँ अध्याय थपेको छ। अस्पतालले भविष्यमा पनि यस्ता नवीनतम चिकित्सा अभ्यासहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ।







डिसी नेपाल







Facebook Comment