कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा

डिसी नेपाल
६ साउन २०८२ १५:१४
104
Shares

काठमाडौं। गत आर्थिक वर्ष २०८१-८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ। भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्यांक हालसम्मकै उच्च छन्। गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१-८२ मा नेपालले कुल रु २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख बराबरको वैदेशिक व्यापार गरेको छ। गत आवमा १८ खर्ब चार अर्ब १२ करोड २७ लाख बराबरको वस्तु आयात हुँदा दुई खर्ब ७७ अर्ब तीन करोड बराबरको निर्यात भएको छ। त्यसबाट नेपालले १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ। विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ को तुलनामा गत आवमा आयात १३ दशमलव २५ र निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको विभागको तथ्यांकबाट देखिएको छ। समग्र वैदेशिक व्यापार १९ दशमलव २४ प्रतिशतले बढ्दा व्यापार घाटा छ प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ र निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशत रहेको छ।

नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा १० खर्ब ७१ अर्ब २० करोड बराबरको आयात र दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख बराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र रु आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख बराबर नेपालले व्यापार घाटा व्यहोरेको छ।

त्यस्तै चीनबाट रु तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख बराबरको वस्तु आयात हुँदा २६ अर्ब ३० करोड बराबरको मात्रै निर्यात भएको छ। अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकहरुसँग नेपालले बढी व्यापार घाटा व्यहारेको छ।

नेपालले सबैभन्दा धेरै व्यापार नाफा गरेका मुलुकमा अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओसलगायत मुलुक छन्। सबैभन्दा धेरै अफगानिस्तानसँग ६८ करोड ६१ लाख १७ हजार र डेनमार्कसँग ३३ करोड ८९ लाख १३ हजार व्यापार नाफा गरेको विभागको तथ्यांकबाट देखिन्छ।

बढी आयात भएको वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ देखिएको छ। गत आवमा एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख बराबरको डिजेल, ६४ अर्ब १२ करोड ७४ लाख बराबरको पेट्रोल र ६२ अर्ब ५८ लाख ७२ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ। यस्तै ३५ अर्ब ५४ करोड ७३ लाख बराबरको स्मार्टफोन, १८ अर्ब ६२ करोड बराबरको विद्युतीय कार आयात भएको छ।

विभागको तथ्यांकअनुसार गत आवमा रु एक खर्ब आठ अर्ब ९५ करोड ३३ लाख बराबरको कच्चा भटमास तेल र २९ अर्ब दुई करोड १९ लाख बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ। नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा छन्।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल एक खर्ब छ अर्ब ७९ करोड १२ लाख बराबरको निर्यात भएको छ। त्यस्तै, सूर्यमुखी तेल १२ अर्ब ३२ करोड ६५ लाख बराबरको निर्यात भएको छ। कार्पेट १० अर्ब ७७ करोड ६८ लाख, अलैँची सात अर्ब ६८ करोड ३७ लाख, छुर्पी चार अर्ब ५१ करोड र चिया चार अर्ब २१ करोड बराबरको निर्यात भएको छ।

विभागका निर्देशक बर्तौलाका अनुसार गत आवमा यी वस्तुको नेपालले निर्यात गरेको भन्दा बढी आयात छ। त्यस्तै मूल्य अभिवृद्धि पनि न्यून रहेको उनको भनाइ छ। “आयातित भटमास र सूर्यमुखी तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठूलो योगदान गरेको देखिँदैन”, उनले भने।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन्। साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रुपमा लिएको देखिएको छ।

विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि विसं २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो। त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *