अधिकांश लागुऔषध भारतबाट आउँछ, खुला सीमा नाका चुनौतीपूर्ण : एसएसपी कोइराला

डिसी नेपाल
८ साउन २०८२ ११:४०
160
Shares

लागुऔषध मानव स्वास्थ्यका लागि निकै घातक हुन्छ। निकोटिनजन्य, क्याफिन र कोकेनजस्ता उत्तेजना, बेन्जोडाइजेपिन, ओपियडजस्ता उदासीनता र एलएसडी तथा गाँजाजस्ता भ्रम गराउने लागुऔषधले मानिसको शरीरका विभिन्न अंगमा ठूलो असर पुर्‍याउने गरेका छन्।

बारम्बार प्रयोग भएपछि बढी डोज चाहिने र डोज नपुग्दा वा रोक्दा छटपटी, अनिद्राजस्ता असर आउने तथा तलतल लाग्ने हुन्छ। बारम्बार र लामो समयको प्रयोगबाट व्यक्तिको परिवार विखण्डित हुनपुग्छ, वृत्तिविकास रोकिन्छ, व्यवसायमा अवरोध हुन्छ, सामाजिक प्रतिष्ठा धमिलिन्छ, नैतिकपतन हुन्छ, अपराध बढ्छ, दुर्घटना र कानुनी कारबाहीको सिकार भइन्छ।

विभिन्न मानसिक, शारीरिक रोग उत्पन्न हुन्छन्। धनको पनि नास हुन्छ। कुनै कुराको फाइदा नभएको लागुऔषध प्रयोगकर्ताको संख्या नेपालमा भने दिनहुँ बढ्दो छ। यसलाई नियन्त्रण गर्न प्रहरीले के गरिरहेको छ? प्रस्तुत छ, आज यसै विषयमा केन्द्रित रहेर डिसी नेपालका लागि यज्ञराज जोशीले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालासँग गरेको संवाद:

नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनहुँ बढ्दो छ, नियन्त्रणका लागि नेपाल प्रहरीले के-कस्ता काम गरिरहेको छ?

लागुऔषध नियन्त्रणका सम्बन्धमा नेपाल प्रहरीको यो विशिष्टकृत संस्था हो। हामीले दुई किसिमले काम गर्छौं। एउटा आपूर्ति घटाउने काम गर्छौं, अर्को मागलाई पनि घटाउने किसिमले काम गर्छौं। आपूर्ति नियन्त्रण गर्न बरामदीका कुरा गर्छौं।

माग घटाउन नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम छ। सोही कार्यक्रमका माध्यमबाट विभिन्न क्याम्पसदेखि विद्यालय र समुदाय स्तरमा लागुऔषधका नकारात्मक पक्षको बारेमा जनचेतना फैलाएर माग घटाउने काम गरिरहेका छौं।

पछिल्लो समय अवस्था भयावह छ, तपाईंले काम गरिराछौं भन्नु भयो। तर, लागूऔषध प्रयोकर्ता बढ्दै गएका छन्। यो अवस्थामा न्यूनिकरण गर्न प्रहरीले के-कस्ता काम गरिरा’छ?

समग्र समाज र सबै घरपरिवार आफैँ पनि लागुऔषध दुर्वेशन भनेको समस्या हो, यसबाट जोगिनुपर्छ भनेर जागरुक हुन जरुरी छ। हामी नेपाल र भारतको खुला सीमामा छौं। त्यो खुला सीमाका कारण हामीले जतिसुकै प्रयास गर्दा पनि लुकिछिपि विविध ठाउँबाट लागुऔषध कारोबार भइरहेको हुन्छ।

अधिकांश लागुऔषध नेपालभा भारतबाट नै आउँछ। ब्राउनसुगर, फर्मास्युटिकल ड्रग्सहरू भारतबाट भित्रिरहेको हुन्छ। त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट बोर्डरमा प्रहरीहरू तैनाथ भएर अहोरात्र खटिरहनु भएको छ। विभिन्न ठाउँमा लागुऔषध नियन्त्रण व्यूरोका कार्यालय र सानो संख्यामा प्रहरीहरू छन्।

उहाँहरू पनि अहोरात्र खटिरहनु भएको छ। हामीले २४सैं घण्टा ती नाकाहरूमा निगरानी राख्दाराख्दै पनि खुला सीमाको कारणले लागूऔषध भित्रिएको छ। त्यसका बाबजुद हाम्रो बरामदीको तथ्यांक हेर्दा भित्रि सकेका लागूऔषधलाई पनि हामीले नियन्त्रणमा लिएर संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरेका छौं।

कुन उमेर समूहका मानिस बढी दुर्व्यसनको सिकार छन्?

२०७६ सालमा गृहमन्त्रालयबाट एउटा अध्ययन भएको थियो। अध्ययन नगरेर यो कुरा भन्न सकिँदैन। तर, पनि हामीले पक्राउ गरेर मुद्दा चलाएका या पक्राउ गरेर अनुसन्धानका क्रममा छोडेका व्यक्तिको उमेर समूह केलाउँदा १८ देखि ३० वर्षसम्मका बढी छन्।

खुला सीमालगायत विविध कारणले भारतबाट ठूलो परिमाणमा लागुऔषध आयात भइराछ, यहाँहरूले भारतबाट कस्तो खाले लागुऔषध आयात बढी मात्रामा भइरहेको पाउनु भयो?

भारतबाट आउने लागुऔषध विशेषत: दुई प्रकारका छन्। ब्राउन सुगर र फ्रमास्युटिकल ड्रग्सहरू छन्। गाजा थाइल्याण्डबाट ठूलो परिमाणमा आयात भइरहेको छ। गत आर्थिक वर्षमा मात्र ४५ जना भारतीय नागरिकलाई ४१ वटा मुद्दामा पक्राउ गरेँउ। उनीहरूले २०६ गाजा थाइल्याण्डबाट नेपालको एयरपोर्ट हुँदै भित्र्याउन खोजेका थिए।

अन्तर्राष्ट्रिय गिरोहहरू अलिबढी सक्रिय हुँदा तपाईंहरूलाई नियन्त्रणमा थोरै असहज भएको हो?

हामीले अन्तर्राष्ट्रिय गिरोह आउँदा एयरपोर्टबाटै नियन्त्रण गरिरहेका छौं। मैले भनेका ४१ वटा त भारतीय नागरिकका मात्र मुद्दा भए। त्यो बाहेक अन्य देशका सात जना नागरिकलाई पनि हामीले त्यसरी समातेका छौं।

नेपाली भूमि प्रयोग गरेर लागुगूऔषध ल्याउन खोज्नेलाई हामीले नियन्त्रणमा लिएर कानुनी कारबाही गरेका छौं। तर, एउटा कुरा साँचो हो कि बदलिँदो प्रविधिको विकाससँगै नयाँ-नयाँ इक्युपमेन्टहरू थप गर्न र जडान गर्न आवश्यक देखिएको छ।

तपाईंले जनचेतना जागृत गरिरहेको कुरा गर्नु भयो, लागुऔषध प्रयोगकर्ता बढेका बढ्यै छन्। के जनचेतनाको प्रभावकारीता नभएको हो?

त्यो अध्ययनको विषय हो। नेपाललाई जोडेर मात्र यसको उत्तर निस्किँदैन। लागुऔषध विश्वव्यापी समस्या हो। हामीले विश्व र अन्य देशको ट्रेन के छ भन्ने पनि केलाउनुपर्छ। नेपालमा २०४६ साल यता अध्ययन भएको छैन। गृहमन्त्रालयले अध्ययन गरेर तथ्यांक हेरेपछि मात्रा बढ्दो छ कि घट्दो छ भन्नेकुरा त्यसपछि मात्र थाहा हुन्छ।

कानुनले कत्तिको सहजता तुल्याएको छ र थप कस्तो खाले कानुन भइदिए तपाईंहरूलाई सहजता हुन्थ्यो?

अहिलेको कानुनमा पटक/पटक कुरा पनि उठ्छ, भारतबाट धेरै लागुऔषध आउँछ। भारतसँग अनुसन्धानका विषयमा केही सम्झौता छन्। अन्य देशसँग पनि त्यस्ता खाले सम्झौता भइदिएमा अनुसन्धानमा सहज हुन्थ्यो। त्यो लागुऔषध मात्र नभएर अन्य अपराधका सम्बन्धमा पनि लागू हुनुपर्छ।

अहिले प्रविधिको विकासले गर्दा अन्य देशमा बसेर पनि मानिसले अनलाइन माध्यमबाट ठगी, क्रिप्टोकरेन्सीलगायत कारोबार गरिरहेका छन्। त्यसैले सुरक्षाका सन्धी सम्झौता अन्य देशसँग गर्दा हाम्रो काम कारबाही प्रभावकारी हुन्थ्यो।

नेपालका कुन-कुन जिल्ला लागूऔषधको रेडजोनमा छन्?

तपाईंले देशभरकै डाटा खोजेर त अहिले पाउनु हुन्न। तथापि अहिले हामीले हेर्दा अली बढी मुद्दा दर्ता कैलाली, मोरङ, झापालगायत भारतसँग सीमा जोडिएका तपाईंका जिल्ला अली बढी प्रभावित देखिन्छन्। किनकि इन्ट्री प्वाइन्ट पनि ती जिल्ला नै हुन्।

चोरबाटो बाट आउने प्रवृत्तिले गर्दा पनि नियन्त्रणमा तपाईंहरूलाई अली बढी गाह्रो भएको हो?

तपाईंले भनेको कुरा ठीक हो। भन्सार पाइन्टमा पनि लागूऔषधलाई डिटेक्ट गर्ने उपकर जडान गर्न सकियो भने नियन्त्रण अझै प्रभावकारी हुन्छ।

प्रहरी ठूला कारोबारीसम्म पुग्नै सक्दैन, वीचौलीया मात्र समातिन्छन् भनिन्छ नी?

विषय वस्तुको वुझाइ कम हुँदा जनताले त्यसरी बुझ्नु भा’छ। तर, अधिकांश लागूऔषध मुद्दामा मुख्य व्यत्ति नै पक्राउ पर्दैनन् भन्ने होइन। हाम्रो हिरासतमा भएका व्यक्ति हेर्दा पनि भरखरै थाइल्याण्डबाट जागा बोकाएर पठाउने व्यक्तिलाई करिव दुई महिनाको मेहेनतपछि हामीले भारतबाट नेपाल ल्याएर मुख्य व्यत्तिलाई पक्रा गर्न सफल भएका छौं।

त्यस्ता थुप्रै उदाहरण छन्। तर, तपाईंले भने जस्तो अन्तराष्ट्रिय बजारबाट कोकिन, ह्वाइट हेरोइन जस्ता लागूऔषध कारोबारी हाम्रो सीमा भन्दा बाहिरका भए। कतिपय अवस्थामा त्यस्ता कारोबारीसम्म पुग्न सकिँदैन। भारतबाट आउने लागूऔषधमा लामो मेहेनेतपछि पनि मु्ख्य व्यापारिसम्म हामी पुगेका छौं।

भारतलाई मध्यनजर गरेर नेपाल ट्रान्जिट प्वाइन्ट बन्दै छ भन्छन्, तपाईंलाई त्यस्तो लाग्छ?

२०६ किलो गाजा थाइल्याण्डलगायत विभिन्न मुलुकबाट बोकेर आएका व्यक्तिहरू पुग्नु्पर्ने ठाउँ भारत नै थियो। उनीहरूलाई सोधपुछ गर्दा उनीहरू त्यो गाजा लिएर भारतै जाँदै थिए।

त्यो हुनुको कारण के हाम्रो कमजोर सुरक्षा व्यवस्था हो?

मैले हाम्रो कमजोर सुरक्षा व्यवस्था भन्दैन। जहिले पनि अपराध गर्ने व्यक्तिहरूको अपराध प्रवृत्ति र स्थान परिवर्तन भइरहेको हुन्छ। यसको अर्थ नेपालमा मात्र होइन, भारतका एयरपोर्टमा पनि त्यसरी नै पक्राउ परिरहेका छन्। भारत हेरेर नेपाललाई कम्पियर गर्दा एउटा मात्र होइन, विविध ठाउँमा यस्तो हुँदो रहेछ भन्ने देखिन्छ।

भारतीय कमजोरी नियालेर तुलना गर्नुभन्दा मैले लागूऔषधका सवालमा हाम्रो देशको सुरक्षा व्यवस्था कस्तो छ मात्र भनेको?

हामीले पक्राउ गरेको तथ्यांकले नै हामी प्रभावकारी रहेको देखाउँछ। तथापी एयरपोर्टमा अझैँ नयाँ उपकरण जडान हुन सक्दा हाम्रो काम थप प्रभावकारी बन्छ।

नेपालको पहाडी क्षेत्रमा गाजा र अफिमको खेली बढी हुन्छ र त्यहाँ प्रहरी पुग्न सक्दैन भनिन्छ। के सबै ठाउँमा प्रहरी पुग्न सक्या छ?

नेपाल त्यसै पनि भौगोलिक रुपमा विकट छ। तपाईंहरूले वर्षेनी नेपाल प्रहरीले फडानी गरेका तथ्यांकहरू पाउनु हुन्छ। बीउ लगाउँदादेखि उम्रिएका गाजा र अफिमका बोट हामीले तष्ट गरेको तथ्यांक छ। तर, भौगोलिक विकटताले गर्दा जति निमिट्यान्न पार्नुपर्ने हो त्यो नभएको हुन सक्छ। सम्बन्धित जिल्लाका जिल्लाप्रहरी कार्यालयहरू लागिराख्नु भएको छ।

यसको न्यूनीकरणका लागि कसले के गर्नुपर्ला? तपाईंको सुझाव के छ?

सबैभन्दा ठूलो कुरा यो लागुऔषध हो, यसले हाम्रा भविश्यका सन्ततिहरूलाई वर्वाद गर्दै छ भन्ने कुरा बुझ्नुपर्छ। र, त्यस्ता खेती बन्द गर्नुपर्छ। राज्यले पनि त्यसमा आश्रितहरूलाई वैकल्पिक खेतीमा लगाउनुपर्छ। कतिपय ठाउँमा वैकल्पिक खेतीमा जानु पनि भएको छ। अहिले त स्थानीय सरकार पनि छ। स्थानीय सरकारले पनि यस्ताखाले काम गर्दा न्यूनिकरणमा टेवा पुग्छ भन्ने मलाई लाग्छ।

अन्त्यमा थप के भन्न चाहनु हुन्छ?

लागूऔषध विश्वव्यापी विकराल समस्या हो। संसामै यो समस्या विकराल छ। त्यसमा पनि युवा जनशक्ति पढ्ने बढ्ने र भविश्य बनाउने उमेरका भाइबहिनीहरू यसको दलदलमा फसेका छन्। त्यसैले प्रत्येक परिवारले आफ्नो बालबच्चा कस्तो बाटोमा लागेको छ भनेर हेर्नुपर्छ। समाजमा हुने गतिविध थाहा पाउने भनेको समाजमा बस्ने मानिसले नै हो।

उहाँहरूले समाजमा गलत कारोबार भइरहेको भए प्रहरीलाई खबर गरिदिनुपर्छ। केही समय पहिले विर्तामोडमा औषधि व्यवसायीद्ये ठूलो परिमाणमा ट्रामाडोलको व्यवसाय गर्दै हुनु्हुन्थ्यो। समाजमा बस्ने मानिसलाई त थाहा थियो होला नी? उहाँहरूले समयमै हामीलाई खबर गरिदिनुपर्थ्यो। समाज पनि जागरुक हुनुपर्छ। र, प्रहरीलाई खबर गरिदिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.