धुलिखेलको बालगृह अर्थात ‘सपनाको घर’ : जसले खोजिरहेको विश्वभरका नेपालीको साथ

डिसी नेपाल
९ साउन २०८२ १२:०१
56
Shares

धुलिखेल। एकान्त डाँडाकाँडा घेरिएको काभ्रेको धुलिखेलमा एउटा यस्तो घर छ, जुन ईँटा, छाना र झ्याल मात्रले बनेको छैन। यो घर बनेको छ सपना, माया, समर्पण र सम्भावनाले। हेल्प नेपाल नेटवर्कद्वारा सञ्चालित बालगृह, २४ जना बालिकाहरूको जीवनको दिशा परिवर्तन गर्ने उदात्त यात्रामा अग्रसर छ।

तीमध्ये कोही झापाबाट, कोही चितवन, दोलखा, सप्तरी वा बाजुराबाट आएका छन्। कोही आमा-बुवाविहीन, कोही आर्थिक अभावमा पिल्सिएका। तर अहिले, ती सबै एउटै घरमा, एकै परिवार भएर बसेका छन्। जहाँ उनीहरूलाई स्नेह, सुरक्षा र शिक्षाको पूर्ण अनुभूति भएको छ।

चितवनकी सरिता अहिले कक्षा १२ मा अध्ययनरत छिन् । सात वर्षको हुँदा उनी बालगृहमा आएकी थिइन्। ‘अहिले ११ वर्ष भयो। मलाई यहाँ कहिल्यै केही कमिको महसुस भएको छैन। गाउँमा हुँदा पढ्न, खान, लाउन सबै अभाव थियो। तर यहाँ आएपछि सबै कुरा फेरियो,’ उनी भन्छिन्।

घरको धेरै याद आउँछ उनलाई। हजुरबुबा-हजुरआमाको माया उनको सम्झनाको एक मात्र आधार हो। ‘कहिलेकाहीं चित्त दुख्यो भने आफ्ना साथीसँग कुरा सेयर गर्छु, अनि हामीलाई स्याहार गर्ने आमालाई भनिदिन्छु,’ उनी भन्छिन्। उनी भविष्यमा विदेश जाने सपना रहेको बताउँछिन्। ‘नेपालमा भविष्य देख्दिन।’

अंशु सोडारी, झापाबाट चार वर्षको उमेरमा बालगृह आएकी थिइन्। अहिले ३.४४ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी छिन्। अब उनी नर्स बन्ने सपना देख्दैछिन्। ‘घरमा आमा मात्रै हुनुहुन्छ। कहिलेकाहीं फोनमा कुरा हुन्छ। दुःख त धेरै छ, तर म एक्लै गएर रुन्छु,’ उनी भन्छिन्।

चितवनबाट आएकी प्रतिज्ञा प्रजा पनि एसईईमा राम्रो अंक ल्याएर सफल भएकी छिन्। उनी भन्छिन्, ‘यहाँ सबै साथीसँगको सम्बन्ध नै सबैभन्दा राम्रो कुरा हो। शिक्षा, स्वास्थ्य, सबै क्षेत्रमा धेरै परिवर्तन भएको छ।’

विपना प्रजा बालगृहमा बसेका २४ जनामध्ये एकमात्र अपांग बालिका हुन्। उनी पनि ११ वर्षदेखि संस्थामा छिन्। ‘साथीहरूले मलाई धेरै सहयोग गर्नुहुन्छ। मलाई सबैभन्दा बढी चहिएको शिक्षा हो-त्यो मैले पाएकी छु।’

तराईदेखि पहाडसम्म, एउटै छ भावना

रञ्जना, राजविराजबाट आएकी हुन्। नौं वर्षदेखि संस्थामा छिन्, अहिले कक्षा ९ मा अध्ययनरत। उनी भन्छिन्, ‘दुई बहिनी यहाँ छन्, एक बहिनी कक्षा ८ मा पढ्दैछिन्। संस्थाले सबै कुरा पुर्याएको छ। होटल म्यानेजमेन्ट पढ्ने इच्छा छ।’

मन्दिरा बुढाथोकी, दोलखा घर भएकी हुन्। आठ वर्ष भयो उनलाई यहाँ बसेको। ‘सपनाहरू धेरै छन्। तर पहिलो प्राथमिकता मम्मी–बुबाले देखेको सपना पुरा गर्नु हो,’ उनी भन्छिन्। नर्स बन्ने सपना बोकेकी मन्दिरा भन्छिन्, ‘१२ पछि संस्थाले पढाउँदैन, त्यसपछि मैले आफैं सोच्नुपर्छ।’

राधा, सप्तरीबाट आएकी हुन्। उनी अहिले कक्षा १० मा पढिरहेकी छिन्। ‘पढाई राम्रो छ, भविष्यमा साइन्स पढ्ने विचार छ। बुबाले देख्नुहुन्न, पैसा कमाएर उहाँको आँखामा ज्योति फर्काउने सपना छ,’ उनी भन्छिन्।

‘ममी पनि एक आँखा मात्रै देख्नुहुन्छ। गाँउमा हुँदा खान लाउन, पढ्न समस्या थियो। यहाँ आएपछि सबै कुरा पुगेको छ,’ उनले भावुक हुँदै भनिन्, ‘सबै कुरामा सन्तुष्टि भए पनि जब ममीले आफैँ खाना खुवाउने सम्झना आउँछ, त्यतिबेलाको खुशी भुल्न नसकिने रहेछ।’

बालगृहका बालिकाहरू ‘आमा’ भनेर सम्बोधन गर्ने पुण्यवती घले, संस्थाकी व्यवस्थापकप्रति निकै आभारी छिन्। सबै बालिकाहरूको दिनचर्या, पढाइ, मनोबल, स्वास्थ्य- सबै कुरामा उनीहरूको विशेष ध्यान रहन्छ। बालिकाहरूको कुराकानीबाट प्रष्ट हुन्छ कि उनीहरूले ‘घरको माया’ यहीँ भेटेका छन्।

साथीहरूको सहयोग, मिलनसार व्यवहार, र एक अर्कामा दुःख–सुख सेयर गर्ने संस्कारले यो बालगृहलाई मात्र होइन, एउटा ‘घर’ बनाएको छ।

करिब १२ पछि बाटो छुट्टिन्छ, तर सम्झना बाँकी रहन्छ

हेल्प नेपाल नेटवर्कले कक्षा १२ सम्मको शिक्षा, बसोबास, स्वास्थ्य र सम्पूर्ण आवश्यकता पूरा गर्छ। त्यसपछि बालिकाहरूले आ-आफ्नो बाटो रोज्नुपर्छ। तर ती बालिकाहरूको भोलि, आत्मबल, र आत्मनिर्भरता निर्माणमा यस संस्थाको भूमिका अविस्मरणीय छ।

बालगृहमा बस्ने नानीहरूको कथा केवल दुःखको कहानी होइन। यो हो–हिम्मत, परिवर्तन र पुनर्जन्मको कहानी। जहाँ समाजको थोरै माया, साथ र लगानीले कसैको जीवन बदलिएको छ।

यसरी २५ वर्षअघि विश्वभरका नेपालीहरूबीच सहयोगको भावनालाई एकीकृत गर्ने उद्देश्यसाथ स्थापना गरिएको हेल्प नेपाल नेटवर्क अहिले समाजसेवाका क्षेत्रमा उदाहरणीय बन्दै गएको छ।

संस्थाका संस्थापक अध्यक्ष अरुण सिंह बस्नेतका अनुसार, विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन गरी नेपालमा स्वास्थ्य, शिक्षा तथा प्राकृतिक प्रकोपजस्ता क्षेत्रमा काम गर्ने मुख्य उद्देश्यका साथ यो संस्था स्थापना भएको हो।

हेल्प नेपाल नेटवर्क बेलायत र नेपालमा एकैसाथ सुरु गरिएको थियो। हाल अमेरिकादेखि अस्ट्रेलियासम्म यसको सञ्जाल फैलिएको छ। संस्थाले लामो समयदेखि स्वास्थ्य केन्द्र, पुस्तकालय तथा शैक्षिक सहयोगका कार्यक्रम गर्दै आएको छ। देशमा संकट पर्नासाथ संस्थाले सक्रियता जनाउने गरेको छ।

नेपालमा विशेषगरी दीर्घकालीन सामाजिक सेवामा समर्पित हेल्प नेपाल चिल्ड्रेन्स होम (बालगृह) अहिले काभ्रेको धुलिखेलमा सञ्चालित छ। द्वन्द्व पीडित बालबालिकाको सहायताका लागि सुरु गरिएको यो बालगृहमा हाल अनाथ तथा अभिभावकविहीन २४ जना बालिकाहरूको संरक्षण, शिक्षा र अभिवृद्धिको काम भइरहेको छ। अध्यक्ष बस्नेतका अनुसार, बाललगृह २०७१ सालको भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

‘धुलिखेलमा खासगरेर ०६२-६३ सालमा द्वन्द्वपीडित बालबालिकाको लागि भनेर भवन निर्माण सुरु गरेका थियौं। तर विभिन्न कारणबस भवन निर्माण सुरु हुन ढिला भयो। द्वन्द्व पनि समाप्त भएको हुँदा त्यसपछि बालिकाहरु मात्रै राखेर हेल्प नेपाल चिल्ड्रेन्स् होम सुरु गर्यौं। त्यो विधिवत रुपमा ०७१ भदौदेखि सुरु भयो।

अनाथ वा बाबाआमा नभएका र बुवा भएर आमाले अर्को बिहे गरेर छोरीहरुको विचल्ली भएकाहरु संस्थामा छन्। केही बालिकाहरू आज सक्षम बनिरहेका छन्। दुई जना कक्षा १२ पास गरेर विदा भइसकेका छन् भने एकजना डेनमार्कसमेत गएकी छिन्,’ बस्नेतले भने।

हालै चार बालिकाले एसईई परीक्षा ‘ए’ग्रेडमा उत्तीर्ण गरेका छन् संस्थाको वार्षिक खर्च करिब ४० लाख रुपैयाँ पुग्ने बताउँदै बस्नेतले भने, ‘फण्ड अलिकति अपुग छ, तर बालिकाहरूको शिक्षादेखि जीवनशैलीमा कुनै सम्झौता गरेका छैनौं। महिनाको करिब तीन लाख खर्च हुने गर्छ।’

बालगृहमा रहेका बालिकाहरूको बीमा पनि गरिएको छ। कक्षा १२ सकेपछि छुट्टिँदा उनीहरूलाई बीमाको रकम (४-५ लाखसम्म) उपलब्ध गराइने गरिन्छ। वास्तवमा वालगृह समाजका लागि एक उदाहरणीय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.