प्रेस काउन्सिल नेपालकाे पुनर्संरचनामा जाेड

डिसी नेपाल
९ साउन २०८२ २१:०९
24
Shares

काठमाडौं। आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले यहाँ शुक्रबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका सवाल र सञ्चार कानुन’ विषयक अन्तरक्रियामा उनीहरुले काउन्सिलले उद्देश्य, काम, कर्तव्य र अधिकारभित्र रहेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको मुख्य काम नै आचारसंहिता अनुगमन भएकाले अनुगमनलाई नै अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले कानुन निर्माण प्रक्रियामा राज्यको कमजोरी र उदासिनताले मिडिया जगत्ले दुःख भोगिरहेको र बर्सेनि प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको बताइन्। महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको मुख्य काम पत्रकार र सम्पादकको मूल्यांकन गर्ने भएको उल्लेख गर्दै त्यसमै लाग्न सुझाव दिए।

महासंघका पूर्वअध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन विद्यमान कानुनी जटिलतालाई सरल बनाएर सञ्चारमाध्यमलाई त्यसमा अनिवार्य जोड्नुपर्नेमा जोड दिए।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सबैभन्दा पहिला मिडिया हाउसको सुशासन हेर्नुपर्ने बताए ।प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता बनाई त्यसको कार्यान्वयन गर्नुका साथै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितमा काम गर्दै आएको छ।

त्यसैगरी, पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्द्धनका लागि काउन्सिलले छापादेखि डिजिटल प्लेटफर्ममार्फत सञ्चालित न्यु मिडियाको अनुगमन पनि गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.