कृषकलाई अनुदानमा कृषिजन्य समाग्री वितरण
रौतहट । रौतहटको गरुडा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिजन्य समाग्री वितरण गरेको छ।
पालिकाले कृषकलाई भैँसी, विद्युत मोटर,पम्पसेट,मिल्क्यान,चिसिङ भ्याट र डिफ्रिज लगायत वितरणको योजना बनाएको छ।
सोही अनुसार पालिकाले पशु डेरी यान्त्रिकरण तथा भैंसी बाख्रा वितरण कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का कृषकलाई पम्पसेट २४ थान, मोटर १४ थान, भैंसी २ थान, दूध चिसिङ भ्याट २ थान, दूध संकलन क्यान १० थान वितरण गरिएको वडाअध्यक्ष रामबिनोद जैसवालले बताए।
मुक्तिनाथ ट्रेडिङ लिमिटेड, मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेड तथा गरुडा नगरपालिकाको सहकार्य यो सामग्री वितरण गरिएको उनले जानकारी दिए। गरुडा नगरपालिकाको यो कार्यक्रमले कृषि र पशुपालन क्षेत्रमा ठोस सुधार ल्याउने उनले विश्वास व्यक्त गरे।
आधुनिक प्रविधि तथा पशुधन वितरणले कृषकको आयआर्जनमा पनि मद्धत पुग्ने उनको भनाइ छ। गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले कृषकहरूलाई प्राप्त उपकरणको सही सदुपयोग गर्दै उत्पादन वृद्धिमा लाग्न आग्रह गरेका छन्।
पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लागि किसानलाई भैंसी बाख्रा दुध चिस्यान भ्याट, दुध संकलन क्यान, पम्पीसेट र सिँचाइ मोटर वितरण गरेको उनले उल्लेख गरे।
किसानहरुलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले आपूर्ति प्रक्रियामा पारदर्शिता अपनाइएको उनको जिकिर छ।
कृषकहरूलाई ५० प्रतिशत अनुदानमा जम्मा १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० जनालाई मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिसिङ भ्याट, ८०० लिटरका डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर लगायतका सामग्री वितरण गर्ने गरुडा नगरपालिकाको योजना छ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जसवालले कृषि क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताए। पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको उनको जिकिर छ।
गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको छ।







डिसी नेपाल







Facebook Comment