रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

डिसी नेपाल
११ साउन २०८२ १०:५१
24
Shares

रामेछाप। रामेछाप नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको सुकाजोरको बहुउद्देश्यीय कवर्डहल निर्माणको योजना आर्थिक अभावको कारण अलपत्र परेको छ।

रामेछाप नगरपालिका-७ सुकाजोरमा निर्माण सुरु गरिएको कवर्डहलसहितको खेल मैदान निर्माण आयोजना वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ।

राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा निर्माण सुरु भएको सो आयोजनामा पाँच करोड रुपैँया भन्दा बढी रकम खर्च भएको छ। तर योजनाको निर्माण कार्य सम्पन्न नहुँदा प्रयोगमा आउन सकेको छैन।

सो कवर्डहल र खेल मैदान निर्माणको लागि सुरुमा पाँच करोड रुपैँया बजेट खर्च भएको थियो। जसबाट इनडोर गेम खेल्न मिल्ने बहुउद्देश्यीय कवर्डहल बनेको छ। त्यसबाट खेल मैदान लगाएका केही संरचनाको काम पनि भएको थियो।

रामेछाप नगरपालिकाले खेल मैदानको लागि गत वर्ष २५ लाख रुपैँया विनियोजन गरेको थियो। खेल मैदानको लागि धेरै जमिन खार्नु पर्ने तथा टेवा पर्खालहरू लगाउनु पर्ने भएको कारण विनियोजित बजेटबाट काम पूरा हुन सकेन।

अहिले कवर्डहल र खेल मैदानको माथिल्लो भागमा जमिन बग्नबाट जोगाउन टेवा पर्खाल लगाउनुपर्ने छ भने तल्लो भागमा पनि पर्खाल लगाएर उकास्नु पर्ने अवस्था छ।
खेल मैदान बनाउन खनिएको माटोको डङ्गुर थुप्रिएर बसेको छ। त्यो हटाउन पनि लाखौँ रुपैँया खर्च हुने अवस्था छ। त्यसको लागि यस वर्ष वडा कार्यालयले जम्मा १० लाख रुपैयाँ विनियोजन गरेको छ।

त्यो रकमबाट एक छेउ पनि काम हुन सक्ने अवस्था नहरेको रामेछाप नगरपालिकाका स्थानीय समेत रहेको पत्रकार बद्री नयाँघरे बताउँछन्। ‘नगरको गौरवको आयोजनाको अवस्था यस्तो हुनु नगरवासीकै लागि दुःखको कुरा हो, यसमा सबैको ध्यान जान आवश्यक छ’, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.